विश्वप्रकाशको पहल !

विश्वप्रकाशको पहल !


✍ ज्ञानमणि भुर्तेल

कुनै समय झापामा ‘कृष्ण सिटौलाको पहल’ व्यापक थियो ! अहिले ‘विश्वप्रकाशको पहल’ छ्यालब्याल छ ! ०४८ सालदेखिको सिटौलाको पहलबाट झापाले बुर्जखलिफा नाघिसकेको छ ! अब विश्वप्रकाशको पहले सगरमाथाको उचाइ उछिन्दै छ !

केही दिनअघि झापाका प्रदेश सांसद (सरी…, माननीय पो भन्नुपर्छ क्यारे) ले यस्तै उचाइको स्टाटसमार्फत हामी झापालीलाई धन्य तुल्याइदिनु भएको छ ! मृतप्रायः झापालीलाई कोरामिन थपिदिनुभएको छ ! स्टाटसमा झापा १ नम्बरका प्रदेश सांसद (हत्तेरि… फेरि सांसद भनिएछ) माननीय, मेची नगरप्रमुख, भद्रपुर नगरप्रमुख, बुद्धशान्ति प्रमुख, पूर्व मेची नगरप्रमुख, काङ्ग्रेस क्षेत्रीय सभापति, गाउँसभापति सम्मीलित विकासप्रेमी टोली विकासवर्धक उपप्रधानमन्त्रीसँग विकासदीक्षा ग्रहण खातिर काठमाडौं पुगेको सूचना प्रेसित छ !! विकास निर्माण छलफल नाम दिइएको उक्त भेटघाटलाई ‘विश्वप्रकाशको पहल’ले मुर्तरूप दिएको छ !

प्राचीनकालमा यसैगरी पञ्चहरू डेलिगेसनका नाममा सरकारी ढुकुटी दाउनी गर्दै पाइखाना जान पनि अनुमतिखातिर दामोदर शमसेर नामका प्राणी भेट्न काठमाडौं दौडिन्थे ! महेन्द्र युवालय नामको आरामगृहमा दारु सेवनसहितको विकास निर्माणको खाका उग्राएर फर्किन्थे ! उसबेला अहिलेजस्तो ‘पहल’ प्रचारको साधन फेसबुक थिएन ! कहिले गए ? किन गए ? कसका खर्चमा गए ? कहिले फर्किए ? राज्यकोष दोहनको उपलब्धि के भो ? कति भो ? कसैलाई पत्तै हुन्थेन ! कसैलाई जवाफ दिनै पर्दैनथ्यो ! तर पनि हामी छुचुन्द्रे काङ्ग्रेसले छिद्र भेटिहाल्थ्यौँ ! यस्ता कुरा हामीजस्ता प्रजातान्त्रिक मसिहालाई पच्ने कुरै थिएन ! चिच्याउँथ्यौँ- पञ्चायत मुर्दावाद ! पन्चे चोर देश छोड !! आदित्यादि !!

विडम्बना ! उहिले पञ्चायतको नाङ्गो पिठ्युँलाई मुर्दावाद चिच्याउने हामी आज गणतन्त्रको नाङ्गो चाकको जिन्दावाद गाउन ब्यस्त छौँ ! गणतन्त्र नामको गाडतन्त्रको आत्मरतिमा मस्त छौँ !

माथि उल्लेखित डेलिगेसन धावक सबै स्थानीय तहका छोटेराजा हुनुहुन्छ ! पहलकर्ता केन्द्रिय राजा ! दर्शनभेट बक्स कृपा गर्ने कृपालु महाराज वर्षौंदेखि केन्द्रमा राज गर्दै आउनुभएका बडामहाराज ! यत्रोवर्ष स्थानीय तहमा हरिगुडु खेल्दै विकास निर्माणका सपना बखान्ने छोटे महाराजहरूलाई विकास निर्माण के हो ? कसरी गर्नुपर्छ ? ज्ञानप्राप्तिका लागि केन्द्र नै धाउनुपर्ने हो भने ‘गाउँगाउँमा सिंहदरबार’को नारा फलाक्नुको अर्थ के ? सङ्घीयता नामको सेतो हात्तीको पुच्छर पुजनको अर्थ के ?

कुनै समय ‘सिटौलाको पहल’ गाएर काङ्ग्रेस रसातालमा पुऱ्याउने भजनेहरू अहिले मेचिनगरका भजनेसँग मिसिएर ‘विश्वप्रकाशको पहल’ गाउन ब्यस्त छन् ! सिटौलाको देवत्वकरणमा लागेर दुर्गति भोगेका निरीह झापाली अब विश्वप्रकाशको देवत्वकरण भोग्दैछन् ! जुन काङ्ग्रेसका लागि घातक मात्र हैन, महाघातक छ ।

विश्वप्रकाशको पहल गाउन ब्यस्त भजने महोदयहरुलाई विनम्र बिन्ती-

डेलिगेसनका नाममा महेन्द्रयुवालय धाउने पञ्चायती नाटक बन्द गर्दै कुनैपनि मानवको देवत्करणको अन्त गरौँ ! धाउनै परेपनि धावन परिणाम सार्वजनिक गरौँ ! आफ्नै थान्कामा बसेर विकास निर्माण चिन्तन गरौँ ! स्थानीय तहमै चोकैपिच्छे युवालय खुलेका छन् । केन्द्रीय दौडाइका लागि जनताको करमाथिको दाउनी बन्द गरौँ ।

सँगसँगै माननीय विश्वप्रकाशलाई समेत विनम्र आग्रह-

विश्वप्रकाशको पहल गाउँदै तपाईंको देवत्वकरणमा लागेका र तपाईंसँग लिन मात्र पल्केका भजनेसँग बेलैमा डिभोर्स गरेर आफ्नो गन्तव्यप्राप्तिमा लाग्नुहोला ! पहल-भजनले उत्थान हैन पतनमार्ग प्रशस्त गर्छ भन्ने हामी निरीह झापा्लीले त निकै अघिदेखि देखे/भोगेका छौँ ! तपाईंले पनि बेलैमा बुझ्न जरुरी छ । केन्द्रीय महामन्त्री भनेको मेचीनगरको मात्र हैन, मुलुकभरिका काङ्ग्रेसको पनि हो भन्ने महसुस गर्दै आफूसँग लिने हैन दिने मात्र हरामी काङ्ग्रेस पनि छन् भन्ने बुझ्नु जरुरी छ !

हैन – आफू खुसी गर्दै राष्ट्रिय भाउजुको फरियामा बेरिँदै देउवाको लहैलहैमा लागेर उपनिर्वाचनमा खास्टो बाँड्दै लैनोपाडो झैँ बुर्कुसी मात्रै मार्ने हो भने हामी निरीहले त गाउने राम भजन हो, त्यै गाएर बसिन्छ । निकम्माहरू बेलैमा नसच्चिने र पहल भजनकै आत्मरतिमा रमाउने हो भने कानमा घन्टी बजिसकेको छ ! अब मष्तिष्कमा पस्ने निश्चित छ । बेलैमा चेत खुलोस् !!