ड्रममा महिलाको शव भेटिएपछि अमेरिकी नागरिक पक्राउ

ड्रममा महिलाको शव भेटिएपछि अमेरिकी नागरिक पक्राउ


फिलिपिन्सको राजधानी मनिलानजिकै रहेको एक घरमा फिलिपिनो प्रेमिकाको शव ड्रममा फेला परेपछि एक ७१ वर्षीय अमेरिकी पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

बाकुर शहरको प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार मनिलास्थित आफ्नो घरमा फोहोरको झोला र डक्ट टेपमा सिल गरिएको निलो ड्रमभित्र ४८ वर्षीया महिलाको शव फेला परेपछि मङ्गलबार उनलाई पक्राउ गरिएको हो ।

महिलाका वयस्क छोराले उनी चार दिनदेखि बेपत्ता रहेको जानकारी दिएको केही घण्टापछि प्रहरीले उक्त ठेगानाको निरीक्षण गरेको थियो । उनका छोराले पनि अधिकारीहरूलाई त्यहाँ ‘दुर्गन्ध’ आएको बताएका थिए ।

प्रहरीले तीन वटा चक्कु र एक थान डोरी समेत बरामद गरेको छ भने हत्याको आशङ्कामा उनलाई नियन्त्रणमा लिएको छ ।

मनिलास्थित अमेरिकी दूतावासका प्रवक्ताले भनेका छन्, ‘हामीलाई यो घटनाबारे जानकारी छ । अमेरिकी प्राइभेसी एक्टका कारण हामी थप जानकारी दिन सक्दैनौं ।’ महिलाको मृत्युको कारण पत्ता लगाउन शव परीक्षणको तयारी भइरहेको पिलिपिन्स प्रहरीले जनाएको छ ।