✍ सुनिल उलक

यही वैशाख १३ गते कुँवर इन्द्रजित (के.आई.) सिंहको ११८औँ जन्मजयन्ती परेको थियो । शायद थोरैले मात्र उनको जन्मजयन्तीको बारेमा चासो राख्ने गरेका छन् ।
के.आई. सिंह सुदुर पश्चिम डोटीमा जन्मेका भए पनि पोखरामा पनि उनको नामको चर्चा उनको नाममा भएको पुलले गर्दा हुने गर्छ । डोटी जिल्लाको डुम्राकोटमा कुँवर नरध्वज शाहीको छोराको रूपमा १९६३ बैशाख १३ मा जन्मेका थिए । बाबुले शुरुमा कुँवर इन्द्रध्वज शाही नाम राखिदिए पनि आफ्नो नाम पछि इन्द्रजित शाही हुँदै कुँवर इन्द्रजित सिंह भए तर उनको सुविख्याती भने केआई सिंह नामले नै भयो । हालै उनको जन्म भएको डुम्राकोटको इलाकालाई केआई सिंह गाउँपालिका नामाकरण गरिएको छ ।
सानै उमेरमा भारतको लखिमपुर गएका उनी पढाइ सकिएपछि अंग्रेजी सेनामा भर्ति भए । सेनाको जागीर छोडेर होमियोप्याथीका डाक्टर बने । त्यसपछि ब्यवसायको सिलसिलामा बर्मा गएर बसे । दोश्रो विश्वयुद्धको समाप्तिपछि भारत फर्केर नेपाली सीमा नौटनवामा औषधि दुकान खोलेर बसे ।
नौतनवा बसाइकै क्रममा नेपालीहरू बढी उपचारमा आउने हुँदा उनलाई नेपालसम्बन्धी ज्ञान पनि बढ्यो साथै नेपाली राजनीतिमा रुचि पनि जाग्यो । राणाविरोधि गतिविधिमा लागेको चाल पाएपछि राणा सरकारले उनलाई नेपाल प्रवेशमा रोक लगाए । राणाविरोधि भएको हुँदा काङ्ग्रेसीहरूको पक्षमा रहेर लडेका थिए । तसर्थ क्रान्तिको समय पश्चिम नेपालको कमाण्डरको रूपमा भैरहवाबाट राणाविरोधि मोर्चामा लागिरहे । यता अर्का कमाण्डरको रूपमा गोपालशम्शेर राणा पनि थिए । बडाहाकिम रुद्रशम्शेरको छोरा भएको हुँदा उनको आफ्नै हैकम थियो । तर यो के.आई. सिंहलाई सह्य भएको थिएन । यी दुइ कमाण्डरबीचको विवाद साम्य पार्न क्रान्तिका डिक्टेटर रहेका मातृकाप्रसाद कोइराला गोरखपुर गए । तर दुवैको वैमनस्यता साम्य पार्न सकेनन् । पार्टी हाइकमाण्डले के.आई. सिंहलाई सम्झाउने कोशिस गरे तर सकेनन् । यसैबीच राजाको दिल्ली आगमन भयो । भारतको सहभागितामा गोप्य रूपमा राणा, राजा र भारतको सम्झौता भयो । राजाको स्वदेशी फिर्तीपछि उनले खुलेरै दिल्ली सम्झौताको विरोध गर्न थाले । राणा शासनको समाप्तिपछि पनि मोहनशम्शेरलाई नै प्रधानमन्त्री बनाइँदा उनको चित्त बुझेको थिएन । उनले यसको खुलेरै विरोध गरेका थिए ।
प्रजातन्त्रको घोषणालगत्तै पश्चिम कमाण्डको जिम्मेवारी उनै गोपालशम्शेरलाई दिइयो । यसैबीच बैमनस्यता रहेको गोपाल शम्शेरले पश्चिम कमाण्डको प्रमुख भएपछि प्रजातन्त्र घोषणा भएको भोलिपल्ट नै २००७ फागुन ८ गते दिउँसो ४ बजे उनले भैरहवामा आक्रमण गरे । यो आक्रमणमा नेपाली सेनाका ४ जवानको मृत्यु भयो । साथै के.आई. सिंह समुहका ९ जना मारिए, ९ जना समातिए । यसको लगत्तै नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरी भोलिपल्टै फागुन ९ गते उनीसहित ३५७ जना समातिए । भारतीय क्षेत्रमा नै लुकेर बसेको हुँदा भारतीय सेनाले समातिएपछि उनलाई नेपालमा सुपुर्दगी गरियो । यसपछि भैरहवा जेलमा रहेका उनी असार २७ मा जेल तोडेर भागे ।
यसरी भैरहवा जेलबाट भागेका सिंह र अन्य कैदीहरूसँग सेनाका लेप्टिनेन्ट भगवान सिंह क्षत्रीको सैनिक समुहले साउन ६ गते ज्यामगढीमा जम्काभेट हुँदा भगवान सिंहलाई घाइते बनाएर ९ सैनिकलाई पनि अपहरण लग्न सफल भएका थिए । सिंहको समुहले सैनिकहरूको हातहतियार खोसेर भोलिपल्ट नै रिहा गरिदिए । गोपालशम्शेरले पठाएका केही सैनिक तथा अन्यलाई जासुसको रूपमा पठाए । सैनिकहरूमा राजदल पल्टनका हवल्दार तेजबहादुर खड्का तथा पाल्पा सेनामा रहेका हवल्दार मानबहादुर कार्की साथै बालकोट गुल्मीका षडानन्द जैसी, जनार्दन जैशी तथा लीलादेवी जैशीले के.आई. सिंहको यात्रा तथा अन्य विवरण उपलब्ध गराउँदै अगाडि बढेका थिए । सरकारले वार्ता गर्न चाहेको छ भन्ने समाचार पठाइयो । वार्ताको प्रतीक्षामा निशस्त्र बसेका समुहलाई २००८ साउन २५ मा काठमाडौंंबाट गएको मेजर क्षत्रबहादुरको सैनिक समुह तथा पाल्पामा रहेको मेजर तोरणशम्शेरको समुहले धोरपाटन नजिकै भ्याकुरखोलाको घोरभूजीमा समाउन सफल भए । के.आई. सिंह वास्तवमा भैरहवा जेलबाट भागेर तिब्बततर्फ लागेका थिए । उनको साथ भेटिएको नक्शा तथा अन्य कागजातहरूले गर्दा तिब्बत भाग्न लागेको देखिएको थियो । यसरी समातिएका उनीसहितको समुहलाई पछि साउन २७ मा पाल्पामा ल्याइयो । साउनको अन्तमा पाल्पाबाट पोखरा हुदै काठमाडौंं लग्ने योजना थियो । तर वर्षातको मौसममा हिँडाएर ल्याँउदा के.आई. सिंहको पाइला जुकाको टोकाइ तथा अन्य घाउहरूले गर्दा हिँड्नै नसक्ने भएपछि दुई हप्ता पोखरामा उपचार गरेर घाउ निको भएपछि बल्ल काठमाडौंंतर्फ लगियो । यसरी अन्तमा भदौ २७ मा उनलाई काठमाडौं पु¥याइयो । काठमाडौंमा के.आई. सिंहलाई सिंहदरबारमा राखियो भने अन्य सहयोगीहरूलाई श्रीमहल, नक्खु तथा सेन्ट्रल जेलमा राखियो ।
भैरहवा जेलबाट के.आई. सिंहलाई भाग्ने अवस्था सिर्जना गर्नुका पछाडि पनि केही घटनाचक्रहरू छन् । काठमाडौंमा रहेको काङ्ग्रेसको एउटा समुह के.आई. सिंहलाई ससम्मान रिहा गर्ने र नेपाली काङ्ग्रेसभित्र नै समाहित गर्ने तैयारीमा लागेको थियो । जसको लागि सूर्यप्रसाद उपाध्यायको अध्यक्षतामा छानविन समिति गठन गरिएको थियो ।
यसैबीच उपाध्याय खाद्य तथा कृषिमन्त्री बनेको हुँदा छानविन कार्यमा ढिलाइ भएको थियो । अन्ततः मन्त्रीकै रूपमा कार्यरत उपाध्यायले गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई असारको दोश्रो सप्ताह प्रतिवेदन पेश ग¥यो । प्रतिवेदनको गोप्य रिपोर्टमा सरकारको तर्फबाट सूर्यप्रसाद उपाध्याय भैरहवा जेल गएर के.आई. सिंहलाई भेट गर्ने तथा सम्मानपूर्वक रिहा गर्ने थियो । तर सरकारभित्रकै अर्को समुह भने यसको लागि तैयार थिएन । यदि के.आई. सिंहको प्रवेश काङ्ग्रेसमा भयो भने उ बलियो नेताको रूपमा आउनेछ र आफूहरूको पलायन शुरु हुनेछ भन्ने सोचमा ती समुहले जेलमा रहेका सैनिकहरूको सहयोगमा भाग्न सहयोग पु¥याइयो । भाग्न सहयोग गर्ने सैनिकहरूलाई हतियारसहित के.आई. सिंहको समुहमा साथ लाग्न लगाइयो । यस घटनामा विरोधि काङ्ग्रेसहरूको एउटा समुह र सिमापारीको भारतीय कम्यूनिष्टका स्थानीय नेताहरूको हात थियो भनिन्छ । वास्तवमा के.आई. सिंहलाई बलियो कम्युनिष्टको नेताको रूपमा उभ्याउने आश्वासनमा सरकारको विरुद्ध सशस्त्र आन्दोलन गर्न उक्साइयो, तर के.आई. सिंह मानेनन् । उनी धेरै हताहतको पक्षमा थिएनन्, तसर्थ चुपचाप तिब्बततर्फ लाग्ने तैयारीमा लागे ।
के.आई. सिंहलाई जेलबाट भगाउन सहयोग गर्नेहरूमा नीरजंग राणा, कुम्भसिंह गुरुङ तथा गोपालशम्शेर राणाको पनि हात थियो भनिन्छ । के.आई. सिंहको काङ्ग्रेस प्रवेशले अर्कै मोड लिन सक्ने तथा पार्टीमा उनै हाबी हुने डर धेरैमा थियो ।
के.आई. सिंहलाई सिंहदरबारमा थुनिए पनि उनका बलिया सहयोगीहरू रामप्रसाद राई तथा खड्गबहादुर गुरुङलाई अन्यत्र राखिएको थियो । सिंहदरबारमा थुनिदा एक पटक बीपीसँग भेट्न चाहेको भन्थे तर बीपीले भेट्न खोजेनन् । सिंहदरबारमा बीपीको कार्यालयको तल छिँडीमा नै के.आई. सिंह थुनिएका थिए । तर बीपीले गणेशमानलाई नियमित भेट्न लगाए तर आफू भेट्न चाहेनन् । यो रहस्य नै देखिन्छ ।
विद्यार्थी आन्दोलनको क्रममा कार्तिक २० गते चिनियाकाजीको सैनिकको गोलीबाट मृत्यु भएपछि गृहमन्त्रीको हैसियतमा बीपीमाथि दबाब सिर्जना भयो । अन्ततः गृहमन्त्री बीपीले राजीनामा दिए । यसरी मोहन शम्शेरको नेतृत्वको सरकार २००८ कार्तिक २६ गते ढल्यो । मंसिर १ गते मातृकाको नेतृत्वमा नयाँ सरकार बन्यो । मातृकाको सरकार बनेपछि असन्तुष्ट समुहहरू बीपीको सरकार बनाउने कसरतमा लागे । २००७ सालको क्रान्तिमा राणाविरुद्ध लड्ने जनमुक्ति सेनालाई प्रजातन्त्रपश्चात रक्षादल बनाइएको थियो । यही रक्षा दलको अफसरहरूको साथै ज्ञानबहादुर याक्थुम्बा, बीबी चेम्जोङ, सुरवीर राई, डीबी राईको समुह राति नै मातृकाको सरकारलाई अपदस्थ गराइ बीपीको नेतृत्वमा सरकार बनाउने उद्देश्यसहितको प्रस्ताव बोकेर बीपी निवास गए । तर रात निकै कटिसकेको हुँदा भोलि सल्लाह गरौँला भनेर फिर्ता पठाइदिए । यो समुहको अप्रत्यक्ष रूपमा चेतावनी पनि दिए । यदि तपाईंले यो प्रस्ताव अस्विकार गर्नुभयो भने देशमा फेरि प्रजातन्त्र सङ्कटमा पुग्देछ । बीपीले मानेनन्, असन्तुष्ट रक्षा दल आक्रोसित बनिरह्यो ।
माघ ४ मा रक्षा दलका विद्रोही मध्यका रामप्रसाद राई तथा अग्नि प्रसाद खरेल समातिए । २००८ को राति रक्षा दलको सिंहदरबारमा रहेको ब्यारेकमा रहेको तीन बटालियनका २७०० जति रक्षा दलका सैनिकले विद्रोहको शुरुवात गरे । रक्षा दलले सबैभन्दा पहिले सिंहदरबारभित्र कैद भएका कैदीहरूलाई मुक्त ग¥यो । कैदीमध्यका के.आई. सिंहलाई उनीहरूले अगुवाको रूपमा उभ्याए । रामप्रसाद राई एवम् अग्निप्रसाद खरेललाई पनि रिहा गराए । समुह बलियो हुदै गयो । रक्षा दलले बिजुली अड्डा कब्जा गरेर राती उपत्यकालाई अन्धकार बनाइदिए । त्यसपछि आकाशवाणी र टेलिफोन पनि कब्जा गरेर सञ्चारबाट बन्देज गराइदिए । रातारात विद्रोहीहरूले ठिमीको गठ्ठाघर, सानो टुँडिखेलको जङ्गी अड्डा, तोपखाना, हतियार भण्डार, विमानस्थल, मुलुकी खाना तथा सिंहदरबारको सेक्रेटरियट पनि कब्जा गरिसकेका थिए । बिहानसम्ममा सबैजसो प्रमुख कार्यालय रक्षादलको नियन्त्रणमा आइसकेको थियो । धेरैजसो मन्त्री तथा प्रधानमन्त्री सुरक्षाको लागि राजदरबारमा शरण लिन पुगेका थिए ।
बिहान गणेशमान र टंकप्रसादलाई नियन्त्रणमा लिएर वार्ताको लागि राजदरबार पठाए । दरबारमा विद्रोहमा समर्थन नरहेका रक्षा दलका अन्य अफसरहरू पनि पुगिसकेका थिए । राजाले के.आई. सिंहलाई दरबारमा भेट्न आमत्रण गरे । तर सिंह भने सुरक्षाको प्रत्याभुति नभएको हुँदा सर्वदलिय सरकारको माग राख्दै बसे । यसरी वार्ताको आश्वासनमा भुलाउँदै गर्दा रक्षा दलका कतिपय सिंहदरबारबाट भागिसकेका थिए । भारतीय प्रधानमन्त्री नेहरूलाई मातृका प्रसादले जानकारी गराइ भारतीय सेनाका २००० सैनिक पठाइदिन आग्रह समेत गरिसकेका थिए । माघ ९ गते बिहान भारतीय समाचार संस्था पिटिआई सम्वादाताले के.आई. सिंहको अन्तर्वार्ता लिन पनि भ्याइसकेका थिए । उनले गोरखा दल, कम्युनिष्ट सहितको सर्वदलिय सरकार गठन हुनुपर्ने र राजाको नेतृत्व स्विकार्य रहेको जानकारी दिएका थिए ।
विद्रोही समुहले सिंहको नेतृत्वमा सरकार तथा अग्नीप्रसाद खरेल गृहमन्त्री तथा टेकबहादुर मल्ललाई आइजिपी बनाइएको बनाएको घोषणा गरेका थिए । भारतीय सेनाको देशमा प्रवेशको साथसाथै भारतीय हैकम अझै बढ्ने सम्भावना तीव्र्र भएको आँकलन गर्दै दिउँसो २ बजे दरबारको प्रत्युत्तरको प्रतीक्षा नगरी के.आई. सिंह आफ्नो विश्वासिलो समुहको साथ सिंहदरबार दक्षिण ढोकाबाट चुपचाप निस्किए । पचली टेकु हुँदै विष्णुमती नदीमा पुगेर नदीको किनारै किनार उत्तरतर्फ लागे । उनले आत्मसमर्पण गरेनन् । आफ्नो विद्रोह रक्तपातपूर्ण बन्न सक्ने तथा भारतीय सरकारको गुलाम बन्नुपर्ने देखेपछि चुपचाप हटे । सैनिकले उनको समुहमाथि कुनै आक्रमण गरेन ।
सिंहदरबारभित्र रहेका रक्षा दलका सैनिकहरूले भने केही बेर गोलीबारी गरे । जसको जवाफी फायरमा सेनाले गरेको गोली प्रहारबाट एक रक्षादलको सैनिकको मृत्यु भयो भने रक्षादलको गोलीबाट एक सर्वसाधारणको मृत्यु भयो । करिव १६–१७ घण्टामा नै विद्रोह समाप्त भयो । यस विद्रोहलाई पछि मातृका सरकारले अतिरञ्जित रूपमा प्रचारबाजी गरेर के.आई. सिंह गलत भएको प्रमाणित गर्न खोजे ।
धेरैको अनुमानमा यो विद्रोह रक्षा दलको अस्तित्व समाप्त गर्न सरकारको सैनिकको रूपमा रहेका टेकबहादुर मल्लले बुनेको षडयन्त्रको रूपमा लिने गर्दछ । राणाकालमा समेत जासुसीको भूमिका बहन गरेका टेकबहादुरलाई देशभित्रकै एउटा समुहले परिचालित गरेर एउटै तीरले तीन निशान लगाउन सफल भएको मानिन्छ । यस विद्रोहपछि रक्षा दल खारेज भयो । कम्युनिस्ट पार्टी अवैध घोषित भयो । साथै विद्रोही मानिएका के.आई. सिंह देशबाटै पलायन भए ।
यसरी सिंहदरबारबाट हिँडेको समुह तिब्बतमा शरणार्थीको रूपमा करिव साढे तीन वर्षको बसाइपछि चिनियाँ सरकारको अनुरोधमा नेपालले उनलाई फिर्ता बोलाउन तैयार भयो । २०१२ भदौ २७ मा काठमाडौं आइपुग्दा लक्ष्मीप्रसाद देवकोटो अध्यक्षतामा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । चीनबाट फर्केका ३१ जनाको समुहलाई स्वागत गर्न ७ वटा जीपको ब्यवस्था गराइएको थियो । ‘वीर के.आई. सिंह जिन्दावाद’को नारा लगाउँदै बजार परिक्रमा गराइएको थियो । यसरी काठमाडौं आगमनपछि २०१२ असोज ८ मा टुँडिखेलमा भाषण गरी सबैको दोषी कोइराला परिवार रहेको जिकीर गरे । यसरी उग्र स्वभावका के.आई. सिंहलाई २०१४ साउन ११ गते राजा महेन्द्रले प्रधानमन्त्रीमा मनोनित गराए । भारतीय दबाबमा बारम्बार रहेका राजा महेन्द्रले उग्र स्वभावका चीनियाँनिकट यिनलाई प्रधानमन्त्री बनाएको अनुमान गर्न सकिन्छ । यिनको सरकारमा पशुपतिभक्त माथेमा तथा लक्ष्मीप्रसाद देवकोटा जस्ता ब्यक्ति मन्त्री बनेका थिए । जनताको लागि मन लगाएर सरकार चलाउँदै गरेका हुँदा छिट्टै जनताको प्रिय हुन थालेको देखी विरोधीहरू सक्रिय हुन थाले । राजा महेन्द्रलाई सरकारलाई बिस्तारै कठपुतली बनाएर आफै सर्वेसर्वा हुन खोज्दैछ भन्ने चुक्ली लगाउन नरशम्शेर दरबार पुगे । नरशम्शेरको कुरामा विश्वास गर्दै राजाले कार्तिक २९ गते उनको सरकारलाई अपदस्त गराइ सरकारको जिम्मा आफ्नै हातमा लिए । केवल ११२ दिन सरकार चलाउन पाए पनि उनको चर्चा सबैभन्दा बढी हुन गएको देखिन्छ । शायद नेपालको इतिहासमा सबैभन्दा छोटो अवधिका प्रधानमन्त्री यिनै थिए ।
यसरी सच्चा नेपालका भक्त रहे तापनि केही तत्वले बदनाम गर्न खोजेका के.आई. सिंह भने पोखरेलीको लागि सदैव चिरपरिचित नाम बन्न पुग्यो । हुन त अधिकांशले वास्तवमा के.आई. सिंह भन्ने को हो भनेर थाहा नपाए पनि कुनै बेला लामाचौरको शुरु भागको रूपमा रहेको दिप र बगरको भीमकाली पाटनबीच जोडिएको पुलको नाम के.आई. सिंह पुल हुनुले पनि सबैले सम्झिने गरेको बुझ्नुपर्छ ।
२०१३ सालको तिहारतिर पोखरा आइपुगेका के.आई. सिंहले असहज रूपमा रहेको फड्केमा पुल बनाउन आर्थिक सहयोग गरेका हुँदा नै यो पुलको नाम के.आई. सिंह पुल रहन गएको थियो । उनको यो यात्रा संयुक्त प्रजातान्त्रिक पार्टीको चुनाव प्रचार जस्तै थियो । यो यात्रामा लक्ष्मीप्रसाद देवकोटाको साथ पोखरा आइपुगेका उनले पोखराको बाटुलेचौरमा भएको कार्यक्रममा सहभागिता जनाएका थिए भने नालामुखको चौतारामा भाषण पनि गरेका थिए । तिहारको समय पोखरामा रहँदा पोखराका धर्मराज थापा पनि उनको साथ थिए । यिनै धर्मराज थापाको सक्रियतामा पुल बनाउन आर्थिक सहयोग दिएको हुँदा र पछि उनै प्रधानमन्त्रीसमेत बनेको हुँदा पनि सो पुलको नामाकरण केआई सिंह पुल राख्नमा धर्मराज थापा लागेका थिए ।
यसरी देशको लागि केही चाहने कुँवर इन्द्रजित सिंहको २०३९ असोज १८ गते घाँटीको क्यान्सरबाट बैंककमा उपचारको क्रममा निधन भएको थियो ।
प्रतिक्रिया