आउँदो जेठ १३ मा हुने भनिएको नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) को चलचित्र अवार्डको मिति सारिएको छ ।
अमेरिकामा आयोजना हुने भनिएको ‘नेफ्टा चलचित्र अवार्ड’ को ११औँ संस्करण साउनको पहिलो साता ६ गते हुने सङ्घले जानकारी दिएको छ । ‘हाम्रो तयारीका लागि समय अपर्याप्त भएकाले मिति हेरफेर गरेका हौँ । नयाँ मितिमा अवार्डलाई थप समावेशी, बृहत र सफल तुल्याउन सजिलो हुने नेफ्टा अध्यक्ष पुस्कर लामाले बताए ।
नयाँ तालिकाअनुसार यही वैशाख ३१ मा अवार्डका सर्वश्रेष्ठ पाँचको मनोनयन घोषणा गरिनेछ । ‘उत्कृष्ट पाँचमा रहने चलचित्रकर्मीले अवार्डमा सहभागिता जनाउनेछन् । हामी अवार्डलाई भव्य रूपमा सम्पन्न गर्दै नेपाली कला, संस्कृतिमार्फत चलचित्रको बजार विस्तारसमेत गर्न चाहन्छौँ’, अध्यक्ष लामाले जानकारी दिए ।
उनका अनुसार विसं २०७९ भित्र प्रदर्शन भएका चलचित्रले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन् । नेफ्टाका विदेशी संस्करण युएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भइसकेको छ । अमेरिकी संस्करणका लागि फेम नेपालसहित युएस खबर र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन् ।
प्रतिक्रिया