भृकुटी फनपार्क अस्तव्यस्त छोडेर सुटुक्क विदेशिने तरखर !

भृकुटी फनपार्क अस्तव्यस्त छोडेर सुटुक्क विदेशिने तरखर !


समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित सरकारी जग्गा पाँच वर्षका लागि लिजमा लिएर भृकुटी फनपार्कका नाममा मनोरञ्जनात्मक खेल सञ्चालन गर्दै आएका अमात्य इन्टरनेशनल सप्लायर्सका हरिगोपाल अमात्यले अन्ततः लिज अवधि बीचमै छोड्ने सोच बनाएका बुझिएको छ । उनले खेल मनोरञ्जन सञ्चालन गर्न थालेको ९ महिनामै भृकुटी फनपार्क आर्थिक कारणले अस्तव्यस्त बनेको छ ।

समाज कल्याण परिषद्को भृकुटीमण्डप कार्यालय स्रोतका अनुसार मासिक रूपमा नियमित बुझाउनुपर्ने जग्गा भाडा तीन महिनाको बाँकी भइसकेको छ । त्यस्तै, कर्मचारी र काम गर्ने मजदूरलाई केही महिनादेखिको मासिक पारिश्रमिक दिनै बाँकी छ । मासिकरूपमा नियमित बुझाउनुपर्ने भाडा परिषद्ले ताकेता गर्दासमेत बुझाउन नसकेको अवस्थामा सञ्चालक अमात्य भने खेलपरिसरमा राखिएका खेलका लगानीकर्ता अर्थात् खेलवाला, स्टलवाला र रेष्टुरेन्टवालासँग मोटो रकम असुलेर विदेशिने तयारीमा रहेको स्रोतले दाबी गऱ्यो । तर, केही रकम डिपोजिट रहेकोले परिषद्ले असुल्नुपर्ने भाडा त्यही रकमबाट समायोजन गर्न सक्ने भन्दै कडिकडाउ गरिरहेको छैन ।

समाज कल्याण परिषद्लाई मासिक बुझाउनुपर्ने १६ लाखका दरले तीन महिनाको भाडा तिर्न बाँकी रहेको, भाडा बहालकर, मुल्यअभिवृद्धि कर (भ्याट), कामदार तथा कर्मचारीको मासिक तलव समेत थुप्रै बाँकी रहेको बखत उनी विदेशिने तरखरमा रहेको अमात्य निकट स्रोतले जानकारी दिएको छ । यसअघि खेल मनोरञ्जन सञ्चालन गरिरहेका व्यक्तिलाई उक्त खेल हटाउन दबाब दिएर अर्को कसैलाई खेल सञ्चालन गर्न लगाउने योजना अमात्यले पालिरहेको स्रोतले बतायो । उक्त स्रोतका अनुसार खेल क्षेत्र परिसरमा रहेका स्टलवाला, रेष्टुरेन्टवाला र खेलवालासँग गरी दुई-तीन करोड बढी असुलेका सञ्चालक अमात्यले निरन्तर घाटा ब्यहोर्दै जानपरेपछि सबैसँग सम्पर्कविहीन हुन बाध्य भएका हुन् ।

अमात्यले खेल सञ्चालनका लागि पाँच वर्षका लागि जग्गा भाडामा लिएको अवस्थामा एक वर्ष समय अझै गुज्रिसकेको छैन । यहीअवधिमा अमात्यले मारवाडी समुहका कोही कसैलाई प्रलोभनमा पारी बाँकी चार वर्ष अवधिका लागि सब लिजमा जग्गा भाडामा लगाउने भन्दै मोटो रकम असुलेर विदेसिने तरखरमा रहेका हुन् । तर, सव-लिजमा दिने प्रावधान भने छैन । यदि अमात्य सम्पर्कमा रहेनन् र साँचिक्कै सम्पर्कविहीन भएको खण्डमा समाज कल्याण परिषद्ले उक्त जग्गाको लिज सम्झौता भंग गर्ने निश्चित छ । यदि लिज सम्झौता भङ्ग भएको खण्डमा थुप्रै व्यवसायीको करोडौं लगानी फस्ने भएपछि उनीहरु यतीबेला आफ्नो लगानीको सुरक्षाका लागि चिन्तीत देखिएका छन् ।

यहीबीच, समाज कल्याण परिषद्का प्रभावशाली एक सदस्यले समाज कल्याणको स्वीकृती विना कोही-कसैलाई लिजमा लिएको व्यक्ति वा संस्थाले सव-लिजमा दिन पाउने व्यवस्था नरहेको बताए । उनका अनुसार यसअघि भएको सम्झौतामा नै सव-लिजमा दिन नपाउने शर्त उल्लेख रहेकाले पनि टेण्डर स्वीकार गरेका व्यक्ति वा संस्था बाहेक अरु कोही कसैलाई समाज कल्याणले नचिन्ने उनको तर्क थियो । तर, यसअघि टेण्डर स्वीकारेका अमात्य इन्टरनेशनल सप्लायर्सका हरिगोपाल अमात्यले भने भित्री कागजका आधारमा उक्त खेलक्षेत्र मारवाडी समुदायका व्यक्तिलाई सुम्पने अन्तिम तयारीमा छन् । अमात्यले छाड्ने भएपछि भृकुटी फनपार्कमा स्टल राख्नेहरूले आफूले गरेको लगानीको र त्यहाँ कार्यरत कर्मचारीहरुले आफ्नो लामो समयदेखिको पारिश्रमिकको चिन्ता गर्न थालेको अवस्था छ । यस विषयमा भने समाज कल्याण परिषद्को भृकुटीमण्डप सञ्चालन कार्यालय जानकार छ, छैन ? उत्सुकताको विषय बनेको छ ।