चीनविरूद्ध जासुसी गरेको अभियोगमा अमेरिकी नागरिकलाई आजीवन कारावास

चीनविरूद्ध जासुसी गरेको अभियोगमा अमेरिकी नागरिकलाई आजीवन कारावास


आफूमाथि जासुसी गरेको आरोपमा चीनले ७८ वर्षीय एक अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ ।

अमेरिकी पासपोर्टधारक जोन शिङ्ग-वान लेउङ्गलाई जेल सजाय तोकिएपछि बेइजिङ र वासिङ्टनबीचको सम्बन्धलाई थप तनाव उत्पन्न हुने सम्भावना बढेको छ ।

चीनको पूर्वी शहर सुझोउस्थित एउटा अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हङकङका स्थायी बासिन्दा लेउङलाई जासुसी गरेको अभियोगमा दोषी ठहर गरिएको छ । उनलाई आजीवन कारावासको सजाय सुनाइएको छ र आजीवन राजनीतिक अधिकारबाट बञ्चित गरिएको छ ।’

सन् २०२१ को अप्रिलमा सुझोउका अधिकारीहरूले ७८ वर्षीय लेउङविरुद्ध “कानुनी कदम चालेका’ विज्ञप्तिमा जनाइएको छ ।

पक्राउ पर्दा लेउङ कहाँ बस्दै आएका थिए भन्ने स्पष्ट भइसकेको छैन ।

बेइजिङस्थित अमेरिकी दूतावासका प्रवक्ताले सुझोउमा हालै एक अमेरिकी नागरिकलाई दोषी ठहर गर्दै सजाय सुनाइएको खबरबारे आफूहरू जानकार रहेको प्रतिक्रिया दिएका छन् ।

विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘विदेश मन्त्रालयले विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाभन्दा ठूलो प्राथमिकता अरू केही छैन । गोपनीयताको विचारको कारण, हामीसँग थप टिप्पणी छैन ।’

अदालतको बयानले आरोपहरूको बारेमा थप विवरण दिएको छैन ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार नियमित पत्रकार सम्मेलनमा यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गरेका छन् ।