गोरो छालाको कुकर्म र मुलुकको दुर्गति !

गोरो छालाको कुकर्म र मुलुकको दुर्गति !


✍ ज्ञानमणि भुर्तेल

कथा आफ्नै वरिपरिकै हो !

सामान्य बनिबुतो गरेर खाने मजदुरकी छोरी ! हेर्दा आकर्षक गोरी चिट्टी ! ब्यहोरा भने हिन्दी सिरियलकी कोमलिका ! एकअर्कामा झगडा लाउन सिपालु ! चुगलखोर !! कलेजमा कसै-कसैले कोमलिका उपनाम दिए तापनि उ ‘गोरो छाला’बाट कुख्यात थिइ । मजदुरी गरेरै भएपनि छोरी पढाउनुपर्छ भन्ने भावनाविपरीत छोरी ! पढाइभन्दा नक्कलझक्कलमा ब्यस्त र मस्त ! मागेरै भएपनि फेसन गर्नैपर्ने ! लुगा साटेरै भएपनि फेरि-फेरि लाउनैपर्ने ! साथीका पछि लागेर भएपनि पानीपुरी खानैपर्ने ! हप्तैपिच्छे ‘मुभी’ अनिवार्य ! घरमा उसिनेको कनिका खाएपनि फुर्ति पिज्जाको ! बिहारी लवजमा भन्नुपर्दा ‘गाँडमें नहीं लत्ता चले कलकत्ता !’

कलेज पढ्न सबै पढाकु मात्रै जान्छन् भन्ने हैन ! पैसावाला बाउका एकाध बिगडैल लठुवा हरेक कलेजमा हुनु शिक्षाको अनिवार्य शर्त हो । सबैको नजर परेको गोरो छालामाथि लठुवाको नजर नपर्ने कुरै भएन ! केटोलाई कश्मिर की कलि याद आयो ! आफूलाई शम्मी कपुर ठान्दै गाइदियो- तारिफ करुँ क्या उसकी.. जिसे तुम्हें बनाया…! शर्मिला टैगोर झैँ फिर्ती मुस्कानको आशमा बसेको केटोले जवाफ पायो- साले ! तेरा घरमा दिदीबैनी छैनन् ?

ज्याद्रो शम्मी कपुर शर्मिला किन छोड्थ्यो र ? लगे रहो मुन्ना भाइ दोहोऱ्याउँदै निरन्तर लागिरह्यो । बेला-बेला गिफ्ट दैनिक पानीपुरी सेवा अनि साप्ताहिक मुभिको लामो शृङ्खलापछि हिम्मत जुटाएर एउटा चिर्कटो गोरो छालाका जुनाफमा हुत्यायो –

Some love one, Some love two
I love one, that is you ♥

कबतक छुपेगी बैगन पत्तेकी आडमें ? भनेझैँ ‘Love you too‘ बाट प्रस्ताव पारित भो । लठुवालाई गोरो छाला चाहिएको थियो अनि गोरो छालालाई पैसावाला लठुवा ! दुवै दङ्ग ! कलेज-सलेज मारो गोली ! हम दोनो दो प्रेमी दुनियाँ छोड चले… गाउँदै ठीक्क ।

गाइँगुइँ हल्ला दुवैतर्फ फैलियो । गोरो छाला पक्ष त मालदार लठुवा फसाइ छोरीले भनेर मख्ख, तर लठुवा पक्ष नाखुस ! लठुवाका बाउ सखुवा भन्दा कडा ! बातैपिच्छे कनिका खानेकी छोरी भन्दै बुहारी स्वीकार नगर्ने चट्टानी अडान ! लठुवा गोरो छाला नल्याइ नछाड्ने ! घरमा काङ्ग्रेस पस्यो !

हिन्दू संस्कारमा बाउआमापछिको स्थान दाजु-भाउजुको रहिआएको परम्परा धान्दै दाजु-भाउजुले देवरको इच्छापूर्तिको पहल गरेपछि सखुवा गलाउन सफल भए ! मुख फुलाउँदै भएपनि छोराको रहर गोरो छाला भित्र्याए । पारो तातेका बेला लठुवालाई ‘कुलङ्गार’ र बुहारीलाई ‘कनिका खानेकी छोरी’ भनेर टोकस्न भने छोड्दैनन् बाबै !!

अब सुरु‘भो खेल-

गोरो छाला ‘खेला होवे’ गाउन थाली ! कोमलिका स्वभाव त जन्मजातै थियो ! संस्कार कनिका खाने नै थियो ! आफैंलाई भित्र्याउन प्रमुख भूमिका खेल्ने नै मूल शत्रुमा दर्ता भए ! लठुवा गोरो छालामा दङ्ग ! उसैको फरियावरिपरि ब्यस्त ! बीचमा एउटी अर्की बाइफालेसँग सल्केर घर बिगार्न खोज्दा बाहिर पढ्न पठाएर लठुवा सुधार्न प्रयत्नशील दाजु–भाउजु खेद्न मस्त ! ठ्याक्कै सिटौलाले विश्वप्रकाश खेदेझैँ !! गोरो छालाको कर्म-कुकर्मका पछि लागेर लठुवाले घर ध्वस्त बनाएको छ ! अहिले त्यो घर र काङ्ग्रेसमा खासै भिन्नता छैन !

अब सुदूरपश्चिमको कथा-

सुदूरपश्चिमको डडेल्धुरा गाउँमा एउटा कोग्ल्याँटो छोरो जन्मियो । चिनीको लड्डु बाङ्गै भएनि गुलियो भनेझैँ बंश बढोत्तरीको बीउ भन्दै बाउआमा खुशी नै भए । आफू रोटा खाएर गुजारा गर्ने भए पनि छोरो रोटी बोल्न सिकोस् भन्दै स्कुल पठाए ! जेनतेन स्कुल सकेर केटो कलेज जाने भो ! काठमाडौं आयो ! गाउँ बस्दा रोटा बोल्ने कोग्ल्याटो रोटी बोल्ने भो ! नेवि संघका ठिटासँग संगत बस्यो ! बिस्तारै त्यही समुहभित्र पस्यो । खान अनि पिन दुवै साथीहरूकै कृपादृष्टिले चल्न थाल्यो ! ठोस नभए पनि चल्ने तर तरल अनिवार्य ! तरलका लागि हरेक शुक्रबार साथीको भोटेबहाल डेरा जिन्दावाद !

बिस्तारै साथी सर्कल बढ्दै गएपछि कोग्ल्याँटो सानोतिनो नेतामा दरियो ! सबैले मिलेर नेवि संघको सभापति नै बनाइदिए ! काम त उसबेला पनि अरुले नै गर्नुपर्ने तर नाम सभापतिको ! काम गर्ने हनुमान पगरी गुथ्ने ढेँडु !! मागेका लुगा कहिलेसम्म लाउनु ? साथीको डेरा धाएर कति तरल तन्काउनु ? पञ्चायत नामको बाइफालेसँग आँखा जुधेको किशुनजीले छनक पाएपछि पढ्ने बहानामा लण्डन पठाइदिनु‘भो ! कोग्ल्याँटो पढ्न त के पढ्थ्यो र ? बेलायततिर बरालिँदाको अर्को संस्करण निस्क्यो !!

जनआन्दोलन ताका यता काङ्ग्रेसीले गोलीले छाती तन्काउँदै गर्दा उता कोग्ल्याँटो अङ्ग्रेजी दारु तन्काउँदै थियो ! बहुदल आएपछि किशुनजीले बोलाएर डडेल्धुराको टिकट काटीदिनु‘भो ! गृहमन्त्री नै बनाइदिनु‘भो ! रोटाबाट रोटी त भएकै थियो अब ‘ब्रेड’मा उक्लियो !! त्यैबेला कोग्ल्याँटोको नजर फ्याट्ट अमेरिका रिटर्न गोरो छालामा पऱ्यो ! गोरो छालालाई आफ्नो इसारामा नाच्ने कोग्ल्याँटो चाहिएको ! कोग्ल्याँटो पनि गोरो छालामा हुरुक्क ! दुवै दसमासा पुगिसकेका ! जोडी मिल्यो ! उसैबेला किशुनजीले त भन्नुभएको थियोे रे- कोग्ल्याँटो अब गोरो छालाको भयो !

गोरो छाला र कोमलिकामा तात्विक भिन्नता रहेन ! कोग्ल्याँटो गोरो छालाको लहैलहैमा लागेर आफ्नै साथीभाइ दुश्मन देख्न थाल्यो ! हेर्दाहेर्दै कोग्ल्याँटो प्रधानमन्त्रीसमेत भो ! पहिलोदेखि पाचौँसम्म आइपुग्दा पजेरोदेखि आइजिपी, राजदूत, महाअभियोग आदि-इत्यादिसहित राजाका पाउमा प्रजातन्त्र बुझाउने सर्जकसमेत बन्न पुग्यो !! लठुवा पुराणको अध्याय निकै लामो छ, जो वर्णनयोग्य छैन अनि वर्णनसाध्य समेत छैन ।

संक्षेपमा भन्नुपर्दा गोरो छालाको लहैलहैमा लागेर कोग्याँटोले मुलुक पनि सक्यो, पार्टी पनि सक्यो !! छैटौं पटक प्रधानमन्त्री हुने सपना बुनेर बसेको कोग्ल्याँटो त्यै गोरो छालाको कुतर्कका पछि लागेर अहिले उत्तानो टाङ लाएर पल्टेको देखिँदै छ !!

अब भन्नुस् त.. गोरो छालाको पछि लागेर आफ्नो घर-परिवार सिध्याउने झापाली लठुवा र गोरो छालाकै कुतर्कका पछि लागेर मुलुक र पार्टी ध्वस्त पार्ने डडेल्धुरे कोग्ल्याँटोबीच कुनै भिन्नता छ त ??