पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर यस्तो कीर्तिमान कायम गरेका हुन् ।
कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले सगरमाथा आरोहण गरेका बुढामगरले झण्डै पाँच वर्षको प्रयासपछि सगरमाथाको सफल आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।
बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका बुढामगरले बेलायती सेनामा भर्ना हुनुअघि नै सगरमाथा आरोहण गर्ने सपना पालेका थिए । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै ‘हामी सफल भयौँ’ भनेका बताइएको छ । हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा रहेका थिए । थापा ब्रिटिसको स्पेशल एअर सर्भिस (एसएएस)को माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गरेका व्यक्ति हुन् ।
बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । ‘यदि म संसारको शिखरमा चढ्न सक्छु भने अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ’– उनको भनाइ छ ।
प्रतिक्रिया