तत्कालीन ब्रिटिस सरकारले सन् १८१६ देखि १८५६ सम्म जारी गरेका आधिकारिक नक्साहरूका अनुसार लिम्पियाधुराबाट बहने ‘कुटी याङ्ती’ नै वास्तविक कालीनदी हो । त्यसैले लिम्पियाधुरा, कालापानी र लिपुलेक सबै नेपालकै भूभाग हुन् । हामीले सरसर्ती हेर्दा पनि नेपाल र भारतको मुख्य विवाद भनेकै कालीनदी र यसको मुहान नै हो । यसको सीधा अर्थ काली नदी र सो भन्दा पूर्वका सम्पूर्ण भूभाग नेपालको हो ।
✍ वसन्तकुमार गौतम

नेपालमा हालै प्रधानमन्त्री द्वारा संसदमा जारी वक्तव्यपछि जनमानसमा एउटा ठूलो तरंग पैदा भएको छ । प्रधानमन्त्रीको यो नयाँ र अप्रत्याशित दाबीले आम नेपालीहरू माझ अन्यौलता र कौतुहलताको स्थिति सिर्जना गरिदिएको छ । कहिल्यै नसुनिएका र सार्वजनिक नभएका विषय देशको कार्यकारी प्रमुखबाट उजागर हुँदा यतिबेला चौतर्फी रूपमा एउटै प्रश्न उठिरहेको छ- के यसको पुष्टि गर्ने ठोस आधार प्रधानमन्त्रीसँग छ ?
के प्रधानमन्त्रीसँग त्यस्तो कुनै विशेष वा गोप्य प्रमाण छ जुन अहिलेसम्म राज्यका अन्य निकाय वा आम नागरिकलाई थाहा छैन ? विगतका कुनै पनि अध्ययन, अनुसन्धान वा इतिहासविद्हरूका दस्तावेजमा यो कुरा अहिलेसम्म प्रकाशमा आएको देखिँदैन । यस्तो अवस्थामा प्रधानमन्त्रीले अचानक कुन त्यस्तो अकाट्य प्रमाण फेला पार्नुभयो जसले नेपाल र भारत दुवै देशको कूटनीतिक तथा राजनीतिक वृत्तमा हलचल पैदा गरिदियो ? यो आम चासोको विषय बनेको छ ।
प्रधानमन्त्रीले संसदमा बोलेको विषयबस्तुमा अध्ययन गर्दा लिम्पियाधुरा, कालापानी र लिपुलेक ऐतिहासिक रूपमा नेपालकै भूभाग हुन् । तर भारतले यसमाथि आफ्नो दाबी नछोडेपछि नेपाल सरकारले जेठ ७, २०७७ मा देशको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको हो जसलाई सर्वसाधारण र सञ्चारमाध्यमहरूमा ‘चुच्चे नक्सा’ भनेर चिनियो । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्ला, व्यास गाउँपालिकाभित्र पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालको राष्ट्रिय सार्वभौमिकता र अखण्डतासँग जोडिएका अत्यन्तै संवेदनशील र रणनीतिक भूभाग हुन् । यी क्षेत्रहरू नि:सन्देह हाम्रै हुन् भन्ने दृढताका साथ नेपालले उक्त ‘चुचे भाग’लाई आफ्नो नक्सामा समेटेर नयाँ आधिकारिक नक्सा सार्वजनिक गरेको हो ।
सन् १९६२ मा भारत र चीनबीच युद्ध चर्किएपछि चिनियाँ सेनाको गतिविधिमाथि निगरानी राख्ने बहानामा भारतीय सेना कालापानी क्षेत्रमा प्रवेश गर्यो । नेपालका तत्कालीन राजा महेन्द्रले छिमेकी मित्रराष्ट्रको संकट र युद्धको संवेदनशीलतालाई मानवीय एवं कूटनीतिक रूपमा हेर्दै भारतीय सेनालाई त्यहाँ अस्थायीरूपमा बस्ने अनुमति दिए । तर युद्ध सकिएपछि पनि भारतीय सेना उक्त क्षेत्रबाट पछि हटेन । सन् १९६९ मा नेपालका तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टको दृढ कदमका कारण नेपालको उत्तरी सिमानामा रहेका अन्य १७ वटा भारतीय सैनिक चेकपोस्टहरू त हटाइए तर कालापानीको यो रणनीतिक पोष्ट भने हटेन । अन्ततः यही सैन्य उपस्थिति नै आजका दिनमा दुई देशबीचको सीमा विवादको मुख्य केन्द्र बन्न पुग्यो ।
सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच नेपाललाई नसोधी लिपुलेक नाकाबाट दुईपक्षीय व्यापार र मार्ग विस्तार गर्ने सहमति भएपछि नेपालले यसमा कडा कूटनीतिक विरोध जनाएको थियो । सन् २०२० मा भारतले यसै क्षेत्र हुँदै मानसरोवर जोड्ने लिङ्करोड उद्घाटन गरेपछि नेपालले आफ्नो आधिकारिक नक्सा संशोधन गरी यसलाई समेटेको हो ।
चुच्चे नक्सा भन्नाले सामान्यतया नेपाल सरकारले वि.सं. २०७७ मा सार्वजनिक गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई बुझिन्छ जसमा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई नेपालको अभिन्न भूभागका रूपमा समेटिएको छ । यो नक्साको उत्तर-पश्चिमी भागको बनोट चुच्चो आकारको देखिएकाले जनस्तर र सञ्चारमाध्यममा यो ‘चुच्चे नक्सा’ का नामले चिनिन थाल्यो ।
इस्ट इन्डिया कम्पनी र तत्कालीन ब्रिटिस अधिकारीहरूले नेपाल र भारतको सीमा क्षेत्र नदीको क्षेत्र र उत्तरी भूभाग बुझ्नका लागि यो नक्सालाई सन् १७९२ देखि १८१६ सम्म लगभग २४ वर्ष मुख्य प्रशासनिक सन्दर्भका रूपमा प्रयोग गरे ।
सन् १८१४-१८१६ को नेपाल-अंग्रेज युद्ध पछि सुगौली सन्धि भयो । सुगौली सन्धिपछि दुवै देशको सीमा निर्धारण गर्न नयाँ र विस्तृत सर्भेक्षणहरू गरिए । त्यसपछि बेलायतले सन् १८१६ र त्यसपछिका वर्षहरूमा नयाँ आधिकारिक सीमा नक्साहरू जारी गरेपछि सन् १७९२ को यो नक्सा प्रशासनिक रूपमा विस्थापित भयो । त्यसैले नेपालले यस नक्सालाई आफ्नो आन्तरिक शासन चलाउन कहिल्यै प्रशासनिक नक्साका रूपमा प्रयोग गरेन तर आफ्नो भूमि रक्षाका लागि ब्रिटिश सरकार र भारत सरकारसँगको प्रादेशिक विवादमा ऐतिहासिक र कानुनी प्रमाणको रूपमा सधैँ प्रयोग गर्दै आएको छ र हाल पनि प्रयोग गरिरहेको छ ।
वास्तवमा नेपालको पुरानो नक्साको उत्तर-पश्चिम कुनो अर्थात् दार्चुला जिल्लाको माथिल्लो भाग सिधा वा अलिकति थेप्चो आकारको थियो । तर नयाँ नक्सामा लिम्पियाधुरासम्मको ऐतिहासिक भूभाग समेटिँदा करिब ३३५ वर्ग किलोमिटर क्षेत्र थपिन गयो । भूभाग थपिएसँगै नक्साको त्यो कुनो बाहिरतिर तिखो वा चुच्चो परेर सुइरो जस्तो निस्किएको देखियो । यही सुइरो जस्तो बनोटका कारण यसलाई चुच्चे नक्सा भनिएको हो । यस ऐतिहासिक नक्सा संशोधन सँगै नेपालको कुल क्षेत्रफल पनि १,४७,१८१ वर्ग किलोमिटरबाट बढेर १,४७,५१६ वर्ग किलोमिटर कायम हुन पुगेको छ ।

नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा चुच्चे नक्साभित्र समेटिएका तर हाल भारतद्वारा अतिक्रमित भएका मुख्य ऐतिहासिक रणनीतिक र भौगोलिक क्षेत्रहरू निम्नानुसार छन्-
१. लिम्पियाधुरा : समुद्र सतहबाट करिब ५,५०० मिटरको अत्यधिक उचाइमा अवस्थित यो एउटा दुर्गम हिमाली क्षेत्र हो । ऐतिहासिक दस्तावेज, सुगौली सन्धि र नदी विज्ञानका अनुसार यो क्षेत्र नै महाकाली नदीको वास्तविक मुहान अर्थात् उद्गम स्थल हो ।
२. कालापानी : करिब ३,६०० मिटरको उचाइमा रहेको यो क्षेत्र एउटा सुन्दर हिमाली उपत्यका मात्र नभएर सामरिक र कूटनीतिक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण सुरक्षा केन्द्र हो ।
३. लिपुलेक : समुद्र सतहबाट ५,११५ मिटरको उचाइमा रहेको यो एउटा ऐतिहासिक हिमाली भञ्ज्याङ हो । यो प्राचीन कालदेखि नै नेपाल, भारत र चीन (तिब्बत) बीचको त्रिदेशीय व्यापारिक मार्गका रूपमा स्थापित छ । साथै हिन्दू र बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर यात्राका लागि यो सबैभन्दा छोटो र मुख्य नाका पनि हो ।
४. कुटी, नाभी र गुञ्जी गाउँहरू : यी तीनवटै गाउँहरू लिम्पियाधुराबाट बग्ने महाकाली नदीको मुख्य शाखा (कुटी याङ्ती) को किनारमा अवस्थित प्राचीन मानव बस्तीहरू हुन् । यहाँका नागरिकले विगतमा नेपाल सरकारलाई नै कर (तिरो) तिर्ने गरेको र वि. सं. २०१५ सालको आम निर्वाचनमा समेत यहाका बासिन्दाले भाग लिएको ऐतिहासिक प्रमाणहरू सुरक्षित छन् ।
ऐतिहासिक, प्रशासनिक र सामाजिक रूपमा यी गाउँहरू पूर्णरूपमा नेपाली भूभाग हुन् भन्ने कुरा प्रमाणित गर्ने कयौँ बलिया र अकाट्य ऐतिहासिक आधारहरू विद्यमान छन् । तीमध्ये प्रमुख प्रमाणहरू निम्नानुसार छन्-
मालपोत र सरकारी अभिलेख : विगतमा कुटी, नाभी र गुञ्जी गाउँका स्थानीय बासिन्दाहरूले नेपालको दार्चुलास्थित माल अड्डामा नियमित रूपमा मालपोत (जग्गाको कर) तिर्ने गर्दथे । नेपाल सरकारले उनीहरूलाई जारी गरेका जग्गाका पुराना रसिद, तिरोभरोका कागजात र ऐतिहासिक लालमोहरहरू अझै पनि सुरक्षित छन् । गहिरिएर अध्ययन गर्ने हो भने सिंहदरबारस्थित राष्ट्रिय अभिलेखालयमा यससम्बन्धी स्पष्ट प्रशासनिक प्रमाण र अभिलेखहरू भेट्टाउन सकिन्छ ।
वि.सं. २०१८ को राष्ट्रिय जनगणना : वि.सं. २०१८ सालमा नेपालमा भएको छैटौँ राष्ट्रिय जनगणनामा वरिष्ठ पत्रकार तथा तत्कालीन जनगणना अधिकृत भैरव रिसालको टोली आफैँ त्यस क्षेत्रमा खटिएको थियो । उहाँको टोलीले कुटी, नाभी र गुञ्जी गाउँमै पुगेर त्यहाँका बासिन्दाहरूको जनगणना गरेको र उनीहरूले नेपाली नागरिकका रूपमा आफ्नो विवरण दर्ता गराएको ऐतिहासिक तथ्य स्वयम् भैरव रिसालले सञ्चारमाध्यमहरू मार्फत पटक-पटक सार्वजनिक रूपमा व्यक्त गरिसक्नुभएको छ ।
वि.सं. २०१६ को आम निर्वाचन : वि.सं. २०१६ सालमा नेपालमा भएको पहिलो ऐतिहासिक आम निर्वाचनमा यस क्षेत्रका नागरिकहरूले नेपाली नागरिककै हैसियतमा मतदाता नामावलीमा नाम समावेश गराई मतदान समेत गरेका थिए ।
इतिहासदेखि आजसम्मको त्यहाका दस्ताबेज, प्रसाशनिक परिवेश, विभिन्न नक्सा, त्यहाँका बासिन्दाहरुको मनोभावना, ऐतिहासिक लेख रचना पढ्दा, बुझ्दा र हेर्दा मुख्य जड भनेकै कालीनदीको ब्याख्या नै हो र यो क्षेत्र कसको हो त भनेर दुवै पक्षको धारणा राख्नु जायज देखेर तल दुई पक्षको धारणा प्रस्तुत गरिएको छ ।
नेपालको धारणा
नेपालले ऐतिहासिक र भौगोलिक तथ्यका आधारमा लिम्पियाधुरालाई नै महाकाली नदीको वास्तविक उद्गमस्थल मान्दै आएको छ । नदी विज्ञान र स्थापित मान्यता अनुसार लिम्पियाधुराबाट बग्ने मुख्य हिमनदी कुटी याङ्ती नै वास्तविक महाकाली नदी भएकाले त्यसको पूर्वतर्फ अवस्थित लिम्पियाधुरा , कालापानी र लिपुलेक क्षेत्र स्वतः नेपालको सार्वभौम भूभाग ठहरिन्छन् । त्यसैगरी सन् १७९२ को बेलायतले बनाएको नेपालको नक्सामा पनि चुच्चे नक्सा देख्न सकिन्छ । यो ऐतिहासिक दस्तावेजले प्रमाणित गर्छ कि हालको ‘चुच्चे नक्सा’ मा समेटिएको भूभाग नेपालको प्राचीन र प्राकृतिक सीमा नै हो ।

विभिन्न बेलायती नक्साहरू जस्तै सन् १८१९, १८२७, १८३५ र १८४६ को नक्सामा स्पष्ट रुपमा देखाइएको छ । लिम्पियाधुराबाट बग्ने कुटी याङ्ती हिमनदी नै वास्तविक कालि नदी हो । तसर्थ, सुगौली सन्धि हुनुभन्दा अघिको सन् १७९२ को नक्सा र सन्धिपछिका आधिकारिक ब्रिटिश नक्साहरूले लिम्पियाधुराबाट बग्ने कुटी याङ्ती हिमनदी नै वास्तविक कालीनदी हो भन्ने तथ्यलाई अकाट्य रूपमा स्थापित गर्छन् । यी नक्साहरू अन्तर्राष्ट्रिय मञ्च, कूटनीतिक कसी र कानुनी बहसका टेबुलहरूमा नेपालको बलियो र न्यायपूर्ण दाबीलाई पुष्टि गर्ने सबैभन्दा भरपर्दो ऐतिहासिक प्रमाण हुन् ।
भारतको धारणा
अर्कातर्फ भारतीय पक्षले भने लिपुलेक भञ्ज्याङ नजिकैको कालापानी क्षेत्रबाट बगेर आउने लिपुगाड, तेरागाड, पंखगाड र लिलिन्तिगाड जस्ता साना जलधाराहरू मिसिएर बन्ने नदीलाई नै वास्तविक काली नदीको मूल स्रोत मान्दै आएको छ ।
यही तर्कलाई आधार बनाएर भारतले लिम्पियाधुराबाट बग्ने मुख्य नदी (कुटी याङ्ती) लाई महाकाली नदी स्वीकार्न इन्कार गर्छ र कालापानी एवं लिपुलेक लगायतको सम्पूर्ण क्षेत्र आफ्नो उत्तराखण्ड राज्य अन्तर्गत पर्ने दाबी गर्दछ । भारतले आफ्ना प्रशासनिक नक्साहरूमा समेत यी नेपाली भूभागहरूलाई लामो समयदेखि एकपक्षीय रूपमा आफ्नै हिस्साका रूपमा देखाउँदै आएको छ ।
अन्त्यमा, इतिहासलाई केलाएर हेर्ने हो भने वि.स. १८७२ को सुगौलि सन्धिलाई पछ्याउनुपर्ने हुन्छ । सुगौली सन्धि (४ मार्च १८१६) तत्कालीन गोर्खा सरकार र ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धिको धारा ५ मा नेपालका राजाले ‘काली नदीभन्दा पश्चिमको भूभागमा आफ्नो दाबी छोड्ने’ स्पष्ट उल्लेख छ । यसको अर्थ कालीनदी र सो भन्दा पूर्वका सम्पूर्ण भूभाग स्वतः नेपालको हो । तत्कालीन ब्रिटिस सरकारले सन् १८१६ देखि १८५६ सम्म जारी गरेका आधिकारिक नक्साहरूका अनुसार लिम्पियाधुराबाट बहने ‘कुटी याङ्ती’ नै वास्तविक कालीनदी हो ।
त्यसैले लिम्पियाधुरा, कालापानी र लिपुलेक सबै नेपालकै भूभाग हुन् । हामीले सरसर्ती हेर्दा पनि नेपाल र भारतको मुख्य विवाद भनेकै कालीनदी र यसको मुहान नै हो । यसको सीधा अर्थ काली नदी र सो भन्दा पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । नेपालको बलियो अडान के छ भने विभिन्न काल खण्डमा बनाइएका नक्साहरुले कालीनदीको मुहान नै लिम्पियाधुरा भएको प्रमाणित गरिसकेको छ तर भारतले कालापानी नजिकको सानो धारा वा झरनाबाट सुरु हुने धारालाई कालीनदीको मूल स्रोत मान्ने गरेको छ । एउटाले कालीनदीको मुहान लिम्पियाधुरा हो भन्छ जसको हिमाली चट्टानबाट विभिन्न साना हिमनदीय खोल्साहरू निस्कन्छन्, ती खोल्साहरू मिलेर कुटी याङ्ती बन्छन् र गुन्जीमा आएर कालापानी नदीसंग मिल्छन् – त्यो नदी नै कालीनदी हो भनेर भन्छ भने अर्कोले कालापानीबाट बगेर आउने लिपुगाढ़, तेरागाढ़, पंखगाढ़ र लिलिन्तिगाढ़ मिसीएर कालापानी नदी बन्छ र कुटी याङ्तीसंग मिल्न आउँछ – त्यो नै कालीनदी हो भन्छ ।
(लेखक इतहास अनुसन्धानकर्ता हुन् ।)
प्रतिक्रिया