कोरोना भाइरस सङ्क्रमितको संख्या क्रमशः कम हुँदै गएको छ । विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार सात सय ६८ जनामा गरिएको परीक्षणमा चार जनामा मात्र सङ्क्रमण देखिएको छ । यही जेठ ६ गते १४ जना, जेठ ५ गते ३०, जेठ ४ गते २४, जेठ ३ गते २४, जेठ २ गते २१ र जेठ १ गते २१ जनामा सङ्क्रमण देखिएको छ ।
इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा पनि सङ्क्रमण कम भएकाले नेपालमा घट्दो रहेको जानकारी दिएका छन् । भारतबाट सङ्क्रमित नेपाल नआउनु र कोरोना भाइरसविरुद्धको खोपको प्रभावले सङ्क्रमण घटेको उनको भनाइ छ । ‘भारतमा पनि सङ्क्रमण कम थाल्यो । नेपालमा खोपको प्रभाव देखियो, समुदायमा खोप लगाएमा मानिसको सङ्ख्यामा धेरै भएकाले सङ्क्रमण पनि सर्न पाएन । त्यसैले सङ्क्रमण घटिरहेको छ’, दासले बताए ।
कोरोना भाइरस घट्ने बढ्ने भइरहेकाले अब बढ्दैन भन्ने अवस्था नरहेको चेतावनी पनि उनले दिएका छन् । अहिलेसम्म ७० जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै तीन आइसोलेशन, एक जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । गत चैत महिनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखापरेपछि सङ्क्रमण बढेको थियो ।
प्रतिक्रिया