मच्छिन्द्रले एनआरटीलाई हरायो

मच्छिन्द्रले एनआरटीलाई हरायो


शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लबले न्युरोड टोली (एनआरटी) लाई पराजित गरेको छ । सातदोबाटोस्थित च्यासल खेलमैदानमा आइतबार भएको खेलमा न्युरोड टोली एनआरटीलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र विजयी भएको हो । मच्छिन्द्रको जितमा आफिज ओलावालेले र सौरभ लिम्बूले समान एक/एक गोल गरे ।

ओलावालेले खेलको ३१औँ मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा सौरभले गोल गर्दै मच्छिन्द्रलाई २–० को जित दिलाए । यस जितसँगै मच्छिन्द्रले २० खेलमा ३४ अङ्क जोडेको छ । समान खेल खेलेको एनआरटीले २३ अङ्क जोडेको छ ।

यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको अर्को खेलमा मनाङ मस्र्याङदी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीचको खेल २–२ गोलको बराबरीमा टुङ्गिएको छ ।

खेलको १३औँ मिनेटमा मनाङका कोफी कुडोलले पेनाल्टीमार्फत गोल गर्दै सुरुआती अग्रता लिए । एपिएफका खेलाडी विश्वास सुन्दासले पेनाल्टी क्षेत्रभित्र मनाङका सुमित श्रेष्ठलाई लडाएपछि मनाङले पेनाल्टी पाएको थियो । यसको सदुपयोग कोफीले गरे ।

त्यस्तै, खेलको २०औँ मिनेटमा एपिएफका खेलाडी नवीन लामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको २६औँ मिनेटमा मनाङका सुमित श्रेष्ठले गोल गर्दै मनाङलाई २–१ गोलको अग्रता दिलाए ।

मनाङले खेलको पहिलो हाफसम्म २–१ गोलको अग्रता बनायो । मनाङको २–१ गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको दोस्रो हाफमा एपिफले एक गोल थपेपछि खेल २/२ गोलको बराबरीमा सकियो । खेलको ६४औँ मिनेटमा एपिएफका अर्मान्ड विडोमले गोल गरेका थिए । यस बराबरी खेलसँगै मनाङले २० खेलमा २४ अङ्क जोडेको छ । समान खेल खेलेको एपिएफले २३ अङ्क जोडेको छ ।