सञ्चालनमा आउन नसकेको त्रिवेणी भन्सार

सञ्चालनमा आउन नसकेको त्रिवेणी भन्सार


✍ आरपी उपाध्याय, नवलपरासी (बर्दघाट-सुस्तापूर्व)

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ स्थित त्रिवेणी भन्सार कार्यालय मूल भन्सार कार्यालय भएको तीन वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।

छिमेकी भारतसँग जोडिएको गण्डकी प्रदेशको एक मात्र सीमानाका त्रिवेणीस्थित छोटी भन्सारलाई स्तरोन्नति गरेर २०७६ भाद्र महिनादेखि मूल भन्सार बनाइए पनि विभिन्न समस्याले गर्दा यो भन्सार कार्यालय हालसम्म पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको हो ।

तत्कालीन त्रिवेणी छोटी भन्सार कार्यालयको स्तरोन्नति भइ मालबस्तु जाँचपास सुरु गरिएपछि यस क्षेत्रका उद्योग व्यवसायी, व्यापारी र स्थानीयसमेतले खुसीयाली मनाएका थिए । भन्सारको स्तरोन्नति र जाँचपास शुरु भएसँगै राजस्व उठ्ने, चोरी निकासी/पैठारी नियन्त्रण हुने, चहलपहल बढ्ने र विकासले तीव्रता पाउने विश्वास स्थानीयवासीले गरेका थिए । तर, अवस्था भने त्यस्तो हुन सकेन ।

त्रिवेणी नाकाबाट खाद्यान्न, तरकारी, फलफूल तथा उद्योगका कच्चा पदार्थ आयात÷निर्यातको बढी सम्भावना रहेको छ । तर यस्ता ज्यादा सम्भावना भएका मालबस्तु नै यस भन्सारबाट आयात हुन नसक्नु चिन्ताको विषय बनेको छ ।

व्यवसायीहरूको मागमा उल्लेखित मालबस्तु सँगै अन्य सबैखाले मालबस्तु त्रिवेणी भन्सार कार्यालयबाट आयात/निर्यात गर्न पाउनुपर्छ भन्ने स्थानीय व्यवसायीहरूको माग रहँदै आएको छ । त्रिवेणी भन्सारमा प्लान्ट क्वारेन्टाइन कार्यालय नभएकोले विषादि परीक्षण गरेरमात्र पैठारी गर्नुपर्ने खाद्यान्न, तरकारी, फलफूललगायतका कृषिजन्य उपजहरूको जाँचपास हुन नसकेको त्रिवेणी भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख चण्डीराज गेलालले बताएका छन् ।

भारत बिहारतर्फ कस्टम अफिस खुलेको लामो समय भइसकेको छ भने भारतबाट जुनसुकै मालवस्तु जाँचपास हुने अवस्था रहेको छ । विगतमा कहिले कार्यालय÷जग्गाको समस्या, कहिले कर्मचारी समस्या भन्दै हुनसक्ने काम पनि पूरा हुन सकेका थिएनन् । आफ्नै भवन तथा जग्गाको समस्या भए पनि हाल भन्सार जाँचपासका लागि संरचना तथा पूर्वाधारसँगै आवश्यक कर्मचारीको समेत व्यवस्था भएको छ । तथापि, कामले गति लिन नसक्दा यसतर्फ भन्सार विभाग र सरोकारवाला निकायले चासो नदिएको भन्ने स्थानीयहरूको बुझाइ रहँदैआएको छ ।

क्वारेन्टाइन कार्यालय त्रिवेणीमै रहेको पशु कार्यालयलाई बनाउन सकिने अवस्था रहे पनि तत्कालको समयलाई भैरहवास्थित क्वारेन्टाइन कार्यालयबाट काम चलाउन सकिने अवस्था छ । भन्सार सञ्चालनका विभिन्न विकल्प हुँदाहुँदै पनि कामले पुर्णता नपाउनु आश्चर्यको विषय बनेको छ । आफ्नै स्थानीय क्षेत्रमा भन्सार भए पनि भैरहवा, महेशपुर तथा वीरगञ्जबाट मालबस्तु आयात गर्नुपर्दा समय तथा लागत बढेको गुनासो पनि यहाँका व्यवसायीहरूको रहँदै आएको छ ।

भन्सार कार्यालयमा हुने अन्तरक्रिया, छलफल तथा गोष्ठी कार्यक्रममा यस्ता विषयले प्रवेश पाउँछन् तर कार्यान्वयन पक्ष फितलो नै रहेको पाइन्छ । प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्रले नेपाल नेसनल सिङ्गल विन्डो Nepal National Single Window – NNSW) मा यस कार्यालयलाई जोडिदिनु पर्ने हो, तर जनशक्ति अभाव भएका कार्यालयले थप काम गर्न सक्दैनन् भने अर्थ मन्त्रालय र सामान्य प्रसाशन मन्त्रालयबाट थप जनशक्ति माग गर्दा सुनुवाई नै नहुने भएको श्रोतले बताएको छ ।

गण्डकी प्रदेशको लाइफलाइन भनिएको त्रिवेणी भन्सार कार्यालय सञ्चालनमा जनप्रतिनिधिलगायत सरोकारवाला कसैले चासो नदिनु विडम्बनाको कुरा रहेको छ । व्यापार सहजीकरण, चोरी निकासी÷पैठारी नियन्त्रण तथा राजस्व संकलन गर्ने मूल उद्देश्य राखेर भन्सार कार्यालयको स्थापना भएपनि हालको अवस्थामा उपरोक्त कुरा पूरा नहुँदा भन्सार कार्यालय खोल्नुको औचित्यमाथि प्रश्नवाचक चिह्न रहन गएको छ । कर्मचारी खटाउने, भाडा तिर्ने उपलब्ध जनशक्तिलाई कामविहीन बनाएर राख्नुलाई पनि चिन्ताको विषय मानिएको छ ।

सामान्य प्रशासन एवम् अर्थ मन्त्रालयमा प्रस्ताव लानुपर्ने वा मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्ने विषय भए त्यस्ता विषयले सम्बन्धित ठाउँमा प्रवेश नपाउनु पनि चासोको विषय रहेको छ । भन्सार सञ्चालनमा आउने कानुनी जटिलतालाई सम्बन्धित मन्त्रालयबाट नै समाधान गर्नुपर्ने विषय रहेपपि सोअनुसार कार्य सञ्चालन हुन नसक्नु भन्सारको स्तरोन्नतिमाथि नै अन्याय भएको रूपमा बुझिएको छ ।

यस विषयमा भन्सार विभागले आवश्यक समन्वय गरी विषादि परीक्षणका लागि तत्काललाई भैरहवास्थित प्लान्ट क्वारेन्टाइन कार्यालयबाट काम चलाउने र पछि यसै क्षेत्रमा क्वारेन्टाइन कार्यालय स्थापना गर्ने व्यवस्था मिलाउनुका साथै त्रिवेणी नाकाबाट तत्काल मालबस्तु जाँचपास सुरु गरी स्थानीय व्यवसायीहरूको माग र चाहनालाई सम्बोधनको लागि स्थानीयहरू प्रतीक्षारत रहेका छन् ।