शरणार्थी प्रकरणका सकारात्मक कुरा

शरणार्थी प्रकरणका सकारात्मक कुरा


सगरमाथाको देशका मान्छेका रूपमा विश्वमा शिर उचो पारेर हिँडिरहेका नेपालीहरूले ‘संगठित भ्रष्टाचार हुने देशका नागरिक’ को उपमा पाइ शिर झुकाउनुपर्ने अवस्थाको सिर्जना हुनु निश्चिय नै जिन्दगीको नमिठो अनुभूति हो । यति हुँदाहुँदै पनि भविष्यमा थप विपत्ति भोग्नुपर्ने अवस्थाबाट नेपालीहरूलाई यो घटनाले जोगाउन सक्छ ।
✍ बबिता बस्नेत

‘नेपालमा नक्कली शरणार्थी बनाइ विदेश पठाउन राज्यकै अधिकारीहरू संलग्न भएर संगठित अपराध’, ‘संगठित भ्रष्ट्राचार कसरी हुन्छ भन्ने कुराको उदाहरण नेपाल बनेको छ’- यी र यस्ता शीर्षकका समाचारहरू अन्तर्राष्ट्रिय मिडियामा हेर्दा, सुन्दा, पढ्दा बसिरहेको ठाउँमै एकाएक शिर निहुरिए झैँ भयो । शिर ठाडो गरेर हिँड्ने या झुकाउने अवस्थामा पुग्ने भन्ने कुरा मान्छेको जीवनमा आफ्नै कारणले मात्र नभइ देशको कारणले पनि हुने रहेछ । राज्यसंरचनामा रहनेहरूको काम र ब्यवहारले पनि हुने रहेछ । उक्त समाचारसँगै भएको देशको विश्वब्यापी बदनामीले हामी सबै नेपालीलाई करिब उस्तै-उस्तै महसूस भएको हुनुपर्छ ।

मुलुकमा केसम्म भइरहेको छ भन्ने यसअघि हामीलाई थाहै थिएन । आफ्नो दुःखको कमाइ ट्याक्सको रूपमा काटेर राज्यका गतिविधि अघि बढाउन पदमा पुऱ्याएकाहरूबाट जनताले दुःख पाउने मात्र नभइ देश नै बद्नाम हुने काम भइरहेको रहेछ । मुलुक र जनताको सुरक्षाका लागि खडा गरिएको मन्त्रालयका मन्त्री र मन्त्रीले नियुक्त गरेका सुरक्षा सल्लाहकारबाट नै देश र जनता असुरक्षित भइरहेका रहेछन् । नक्कली भुटानी शरणार्थी प्रकरणले धेरै कुराहरू उजागर भएको छ । देशको इज्जतलाई अलिकति पनि ख्याल नगरी पैसा कमाउने काममा नेता र कर्मचारीको मिलेमतो कतिसम्म हुने रहेछ भन्ने कुराको उदाहरण पनि हो यो घटना । नेताले कर्मचारीलाई र कर्मचारीले नेतालाई दोष दिएर राम्रा काम अघि नबढाए पनि भ्रष्टाचार र बेथितिमा दुवैको समान संलग्नता हुने रहेछ ।

देशको बदनामी, सहज जीवनयापनका लागि विदेशिने सपना देखेका सर्वसाधारणको बिजोग, जनताले विश्वास गरेका नेताले मुलुक र जनतालाई दिएको धोखा, ‘राष्ट्रसेवक’ शब्दको उपहासलगायत धेरै कुरा हुँदाहुँदै पनि भुटानी शरणार्थी काण्डका केही सकरात्मक पक्षहरू देखिन्छन् । यसबीचमा देखिएको सबैभन्दा ठुलो कुरा त नेपाल प्रहरीको दक्षता हो । यदि राजनीतिक हस्तक्षेप नहुने हो र स्वतन्त्र रूपले काम गर्न पाउने हो भने नेपाल प्रहरीले बेथितिका कुनैपनि कार्यमा संलग्नलाई सजाय दिलाउन सक्ने रहेछ । अर्को राम्रो पक्ष के हो भने यदि कसैले आफू सत्तामा भएकै कारणले आफूले गरेका गलत निर्णयहरू छोपिन्छन् भन्ने ठान्न नहुने रहेछ । आफू शक्तिमा हुँदा गरेका निर्णयहरू यदि अपराधिक छन् भने ती कुनै न कुनै बेला बाहिर आउने रहेछन् र सार्वजनिक भएपछि सजाय भोग्नैपर्ने रहेछ भन्ने सन्देश पनि यो घटनाले दिएको छ । शक्तिको दुरुपयोग गर्न अब ओहदामा बसेकाहरूले पटक पटक सोच्नेछन् । भ्रष्टाचारको जालो र सम्बन्धको लहरो तान्दै जाँदा विभिन्न समयमा दिएका पैसाको प्रमाण, लिखत, टेपलगायतका कुराहरू बाहिरिएका छन् । यदि कसैले मैले गरेको काम कसले थाहा पाउँछ र ? लिएको पैसा कसले देखेको छ र ? भनेर सोच्छ, सोचेको छ या त्यस्तो गरिरहेको छ भने त्यो गलत हो भन्ने पनि यो घटनाले स्थापित गरिदिएको छ ।

मुलुक र जनताको सुरक्षाका लागि खडा गरिएको मन्त्रालयका मन्त्री र मन्त्रीले नियुक्त गरेका सुरक्षा सल्लाहकारबाट नै देश र जनता असुरक्षित भइरहेका रहेछन् । नेताले कर्मचारीलाई र कर्मचारीले नेतालाई दोष दिएर राम्रा काम अघि नबढाए पनि भ्रष्टाचार र बेथितिमा दुवैको समान संलग्नता हुने रहेछ ।

यो घटनाले हामीलाई आफ्नै मुलुकमा सङ्गठित अपराध कसरी भइरहेको रहेछ भन्ने कुराको जानकारी दिएको छ । तथापि यो जानकारी पाउनका लागि हामीले ठुलो मूल्य चुकाउनुपऱ्यो । देशको छवी बिग्रनु या धमिलिनु कुनै पनि नागरिकका लागि सानोतिनो कुरा होइन । सगरमाथाको देशका मान्छेका रूपमा विश्वमा शिर उचो पारेर हिँडिरहेका नेपालीहरूले ‘संगठित भ्रष्टाचार हुने देशका नागरिक’ को उपमा पाइ शिर झुकाउनुपर्ने अवस्थाको सिर्जना हुनु निश्चिय नै जिन्दगीको नमिठो अनुभूति हो । यति हुँदाहुँदै पनि भविष्यमा थप विपत्ति भोग्नुपर्ने अवस्थाबाट नेपालीहरूलाई यो घटनाले जोगाउन सक्छ । पैसाका लागि निर्णयहरू फेरिँदारहेछन्, फायलहरू साँटिदा रहेछन् । राज्यको उच्च मात्र नभइ गृहमन्त्रालय जस्तो संवेदनशील मन्त्रालयमा बसेर जनता बेच्न सक्नेले भोलि देशलाई जोगाएर राख्थे भन्ने कुराको विश्वास गर्न सकिन्न । यो घटनाले जनस्तरबाट खबरदारी गर्नका लागि अवसर दिएको छ । नत्र भोलि खबरदारी गर्ने समय नै नपाउने गरि परिस्थिति अर्कै हुनपनि सक्थ्यो ।

मानिसहरू जिन्दगी सुखपूर्वक बाँच्न पैसा कमाउँछन् । सहज जीवन बिताउने चाहनामा गलत बाटो अपनाएर कमाएको पैसाले जिन्दगीमा कतिसम्म आपतविपद ल्याउन सक्ने रहेछ भन्ने उदाहरणका रूपमा पनि यो घटनालाई लिन सकिन्छ । आफ्नो नाम, इज्जत सबै सकाएर कमाएको पैसाको के अर्थ रह्यो ? अब यस प्रकारको काम गर्नका लागि पदमा पुगेकाहरूले सोच्नेछन् । प्रदेश, स्थानीय तह सबैतिरका पदाधिकारीहरूले यो घटनालाई मानक बनाइ कार्य गर्दा आफूले गरेको गलत कार्यका कारण जिन्दगीमा आइपर्ने विपत्तिबाट जोगिन सकिन्छ । किनभने अहिले गरेको गलत कामको खोजबिन कुनै न कुनै दिन अवश्य नै हुनेछ ।

म नै राज्य हुँ, राज्यको उपल्लो तहमा मै छु, कसले के गर्नसक्छ र ? भनेर कसैले सोच्छ भने त्यो गलत हुनेरहेछ । भुटानी शरणार्थी मुद्दामा राज्य आफै अपराधमा संलग्न भयो भनी सुरुमा प्रचार भएपनि राज्य नभइ राज्य संरचनाको उच्च तहमा रहेका ‘ब्यक्ति’ संलग्न भएका रहेछन्, जसलाई अहिले राज्यले अनुसन्धान गरी कारवाही अघि बढाइरहेको छ । राज्य संरचनामा रहने ब्यक्तिलाई कसैले या ब्यक्ति स्वयंले राज्य ठान्छ भने त्यो गलत रहेछ । राज्य सधैं राज्य नै हो, समय परिस्थितिले ब्यक्तिहरू राज्य संरचनाका विभिन्न तहमा पुग्छन्, पुगेका हुन्छन् । यो घटनामा चर्चा गर्नैपर्ने अर्को कुरा यस्तो अवस्थामा मिथ्या सूचना या ‘मिस इन्फर्मेशन’को बिगबिगी कसरी र कतिसम्म हुनसक्छ भन्ने पनि हो । देशमै भएका मानिसहरूले देश छोडे भन्ने, प्रहरी बयानका बेला कसैले नाम लिएका हुन् या नहुन् शंकाको भरमा नामहरू लिएर गालीगलौज गर्ने लगायतका धेरै कुराहरू हुनेरहेछन् । गलत र भ्रामक सूचनाबाट कसरी बच्ने भन्ने चुनौती पनि देखिएको छ । गलत सूचना र जानकारीहरू सही सूचना भन्दा चाँडो डढेलोसरी फैलिने रहेछन् । यो घटनाले देश र जनता दुवै तहमा धेरै पाठ सिकाएको छ । जे होस्, निर्दोष नफसुन्, दोषी नबचुन् ।