नारी एकता र भ्रष्टाचारविरोधि अभियान !

नारी एकता र भ्रष्टाचारविरोधि अभियान !


✍ ज्ञानमणि भुर्तेल

गम्भीर महोल !

राउन्ड टेवलवरिपरि विभिन्न परिकारका महिला उपलब्ध ! एक कुनामा बिरालाआँखे विषालु महिला विराजमान ! विपरित कुनामा उहाँतिर पिठ्युँ फर्काएर फर्सीकदकी महिलाको आशनग्रहण !

लौ ! अब मुल मुद्दातिर लागौँ ! कालो लिपिस्टिकधारी महिलाले विषय प्रवेश गराउन खोज्नुभो ! एकआपसमा मुखामुख कार्यक्रम सकिएपछि गम्भीरभावमा बोल्नुभो- ‘आज मुलुक संकटग्रस्त अवस्थामा छ ! केही भ्रष्ट तत्वले बिदेशी इसारामा विशेषगरी हामी महिलालाई बदनाम गराउँदैछन् ! यसका विरुद्ध हामी सबै एकजुट हुनु जरुरी छ !’

‘बदनाम गराउँदैछन् हैन ! कुनै-कुनै महिला राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय रूपमै बदनामीको चुचुरोमा पुगिसक्नुभएको छ । महिला पुरुष जो भए नि भ्रष्टाचाररूपी क्यान्सरबाट मुक्त हुनु जरुरी छ । एउटी नवोदित नेतृले भ्रष्टाचारको लिङ्ग हुँदैन भनेर सार्वजनिक गरिसकेकी छन् !’ उहाँले एक नजर बिरालाआँखे महिलातिर लाउनुभो !

‘त्यो बच्चाले भनेर हुन्छ ? त्यो नखरमाउलीले के जानेकी छ ? सिंहदरबारमा कति कोठा छन् ? प्रधानमन्त्री भेट्न कुन कोठामा पस्नुपर्छ ? बजेट कसरी आउँछ ? कसरी खर्च हुन्छ ? थाहा छ ? हावातालमा घण्टी बजाएर मात्र हुन्छ ? भजन गाउन जान्नुपर्दैन ?’ विषालु महिलाले एकै सासमा आक्रोश पोख्नुभो !

आक्रोश निरन्तर रह्यो– ‘कुन-कुन थसुल्लीले के-के उपद्रो गरे ? त्यसको जिम्मेवार म जस्तो सोझो पिछडिएको महिलालाई बनाउने ? मेरो पोइ सोझो लठ्यौरो छ भनेर हेप्ने ?’ उहाँको इसारा फर्सीआकृत महिलातिर थियोे !

मिसेज फर्सी पनि के कम ? जुरुक्क उठ्नुभो र बम्किन थाल्नुभो- ‘के हेरेको मतिर ? मेरो पोइ पुलिसको सरदार भएको बेला झुक्याएर बियर ख्वाएर यता सहि गर उता सहि गर भन्दै ल्याप्चे लाउन लाएको कसले हो ? म पनि त पिछडिएकै त हो नि ! बिचरा मेरो सोझो पोइले जता जता सहि गर भन्यो उतैउतै ल्याप्चे लाइस्यो ! एक पैसा खाएको छैन ! मेरो पोइको कसम !’

‘कुनचैं पोइको कसम मैसाव ?’ विषालु महिलाको कटाक्ष सकिन पाएकै थिएन ! थसुल्ली मेडम बुर्कुसी मार्दै उहाँको जगल्टामा पिङ खेल्न पुग्नुभो ! के ठानेकी छस् मलाई ? तँजस्तो डिस्को नाच्दानाच्दै लठ्यौरो काङ्ग्रेस समातेर काङ्ग्रेस भएको भन्ठानेको छस् ? बर्दिबास पुगेर काङ्ग्रेस थर्काएको भिडियो हेरेकी होलिस् नि ! तँ जस्तीलाई त भुसुनाबराबर पनि गन्दिनँ ! दुबै हात आफ्नो थाप्लोमाथि राख्दै रोदन पस्किनुभो- सबै कर्तुत यै आइमाइको हो !

दिदीबैनीहरू ! सबै कर्तुत यसैको हो ! म र मेरो ह्वाँ निर्दोष छौँ ! अर्की मयुरप्वाँखे कपालधारी महिलाको हस्तक्षेपपछि भुत्लाभुत्ली प्रतियोगिता रोकियो ! स्थिति तनावग्रस्त बनेपछि शान्त बनाउन अर्की प्रौढ महिला सुस्तरी बोल्नुभो– हावा नचली पात हल्लिन्न ! केही न केही त पक्कै होला ! तपाईंको श्रीमान् प्रधानमन्त्री हुँदा सबै डाडुपन्यु तपाईंकै हातमा थियो भन्ने हल्ला छ !

उहाँ डाँको छोडेर रुन थाल्नुभो ! केहिबेरको रोदनपछि सुँक्क-सुँक्क बीच बोल्न थाल्नुभो- म ल्याइते राणापट्टिकी नातिनी ! जुद्ध शमसेर बाजे भएतापनि विनोद बुबाहजुरले दुःख गरेर हुर्काइस्यो ! पढाइस्यो ! अमेरिका पठाइस्यो !! मुलुकमा काङ्ग्रेसीहरू पञ्चायतविरुद्धमा कोही जेलमा त कोही निर्वासनमा रहेको पीडा सहन नसकी डिस्को नाच छोडेर यता आएँ ! दुर्गम गाउँको लठ्यौरोसँग लगनगाँठो कसेपछि निरीह काङ्ग्रेस सेवा खातिर गाउँगाउँ घुमेँ ! मेरो लगनशीलता बाट ओतप्रोत भएर मेरा पोइ दङ्ग परे ! सांसद बनाउने उनको प्रस्तावलाई दास काङ्ग्रेसले सजिलै अनुमोदन गर्दिए ! डाक्टर डिग्रीधारी भएतापनि म पिछडिएकी महिला हुन तयार भएँ ! डिग्री जेसुकै भएपनि बेहोराले मलाई पिछडावर्गमा पर्न मद्धत पु¥यायो ! सांसद भएपछि निरन्तर देश र काङ्ग्रेसको सेवामा लागीरहेँ ! महिला उत्थान खातिर छोरालाई अरु ब्यवसाय गर्न नदिइ सेनेटरी प्याडको ब्यापारमा हुलेँ ! यसबाट पनि सावित हुन्छ- हामी आमाछोरा महिला हकहित र उत्थानका लागि संवेदनशील छौँ ।

फर्सीआकृत महिला बम्किनुभो- नापिस् ! संवेदनशील !! रुञ्चे नाटक देखाएर मुद्धा मोड्न मिल्छ ? मान्छे बेच्ने हेडमास्टर्नी यै हो ! आफू जोगिन अरुलाई फसाउने षड्यन्त्र गर्दैछ !

सत्ते धरोधर्म हैन ! मान्छे बेच्ने धन्धामा एक पैसा खाएको छैन ! अरुले ल्याएर दिएको पैसा थन्क्याउने काम सम्मचैँ गरेको हो ! म निर्दोष छु ! मेरो छोराको कसम !! अडियो भिडियो सबै चेक गर्दा हुन्छ !

मैले पनि त त्यै थन्क्याउने सम्म त गरेको हो नि ! मेरो पूर्व-पश्चिम दुईटैको कसम ! म पनि निर्दोष छु !

निकैबेर एकअर्कामा तैँ होस् ! तैँ होस् !! चलेपछि हरियो नङपालिसधारी महिला जुरुक्क उठ्नुभो ! भोगटे चस्मा टाउकोमा सिउरिँदै गम्भीरभावमा बोल्न सुरु गर्नुभो- यसरी एकाअर्कालाई दोषारोपण गरेर जगहँसाइ गर्नु ठिक हैन ! महिला भनेपछि यसैपनि पुरुषले हेप्छन् ! हामी फुट्यौँ भने उनिहरूको मनोबल झन् बढ्छ ! राष्ट्रिय रूपमा त बदनाम छदैछौँ, अन्तर्राष्ट्रिय रूपमा समेत बदनाम भएर डलरको मुहान सुक्ने सम्भावना झनै बढ्छ ! पोइले ल्याएर दिएको रकमकलम खुशीसाथ थन्क्याइदिनु हाम्रो पत्नीय धर्म हो ! त्यै निर्वाहसम्म गरेको हो ! एकजुट भएर यो काण्डमा हामी सामेल छैनौँ भनेर जोडदार आवाज उठाउनुपर्छ ! सम्पत्ति भन्दा पोइ कदापि प्यारो हुन सक्दैन ! सम्पत्ति जोगाउनतिर लाग्नुपर्छ ! पोइ जाए भाडमें ! फसे फसुन् निस्के निस्कुन् ! नो टेन्सन !! भोलिबाट माइतीघर मण्डलामा भ्रष्टाचारविरोधि आन्दोलन सुरु गर्दै धर्ना कार्यक्रमलाई अगाडि बढाउनुपर्छ ! पुरुषजति भ्रष्ट र महिलाजति प्रष्ट भन्ने सावित गर्नतिर एकजुट भएर लाग्नुपर्छ !

यस्तो कदापि हुँदैन ! महिला पुरुष जो भएपनि भ्रष्टाचार भ्रष्टाचार नै हो ! यस्ता जाली कुरा हामीलाई मान्य छैन ! तीन-चार प्रौढ महिला एकैसाथ विरोधमा उत्रिनुभो ! केहिबेर अघिसम्म एकाअर्कालाई तथानाम गाली गर्दै भुत्लाभुत्लीमा सामेल दुबै महिला एकजुट भएर बोले- मान्य नभए केही लछारपाटो लाग्दैन ! यस्ता हरिश्चन्द्रका स्वास्नीहरू बाटो लागे हुन्छ ! ढोका यता छ ! ढोकातिर हात तेस्र्याउनुभो !

यत्तिकैमा छोटो तिलचामले कपाल भएकी पुरुष अनुहारकी महिलाको प्रवेश ! सबैलाई हेर्दै बोल्नुभो- गपे चकं तानुगु खला ? वास (वाइन) मदुला ?

वाइनको बोतल खुल्छ ! ग्लास ठोक्काइन्छ ! भ्रष्टाचारविरोधि आन्दोलनमा एसियाकै भ्रष्ट कहलाइएकी महिलाको सामेलीपछि माहोल रोमाञ्चक बन्छ ! चुरोटको धुवाँ उडाउँदै एक महिला चिच्याउनुहुन्छ- ‘भ्रष्टाचारविरोधि आन्दोलन !’ अरुले साथ दिन्छन्- ‘जिन्दावाद ! जिन्दावाद !!’
महिला हिंसा मुर्दावाद !
मुर्दावाद ! मुर्दावाद !!
महिला एकता जिन्दावाद !
महिला एकता कायम रहोस् !
भोलिबाट माइतीघर मण्डलामा भ्रष्टाचारविरोधि आन्दोलनको भब्य तयारी हुँदैछ !
आउने हैन त टोपी लाएर ?