धनगढीमा सुदूरपश्चिम स्पोर्टस अवार्ड हुँदै

धनगढीमा सुदूरपश्चिम स्पोर्टस अवार्ड हुँदै


नेपाल खेलकुद मञ्च कैलालीले धनगढीमा सुदूरपश्चिम स्पोर्टस अवार्ड आयोजना गर्ने तयारी थालेको छ ।

आगामी असार ८ गते गरिने स्पोर्टस अवार्डमा विसं २०७९ को वैशाखदेखि चैतसम्म सुदूरपश्चिम प्रदेशका खेलाडीले गरेको प्रदर्शनका आधारमा विभिन्न आठ विधामा अवार्ड प्रदान गर्न लागिएको आयोजकले जनाएको छ ।

धनगढीमा बुधबार गरिएको पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष प्रदीप पाठकले यो कार्यक्रमको तयारी सुरु भइसकेको जानकारी दिँदै भने- ‘अवार्डअन्तर्गत वर्षको उत्कृष्ट खेलाडी पुरुष तथा महिला, वर्षको उत्कृष्ट प्रशिक्षक, वर्षको युवा खेलाडी, सुदूरपश्चिमको आइकन पुरुष तथा महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्ड गर्न लागिएको छ ।’

लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डको घोषणा कार्यक्रम आयोजना भएकै दिन गरिने र अन्य ६ विधामा तीन/तीन जनाको मनोनयन सार्वजनिक गरी कार्यक्रम हुने दिन विजेताको घोषणा गरिने जनाइएको छ ।

अवार्ड कार्यक्रम गर्नुअघि क्रमशः मनोनयमा परेकाको नाम सार्वजनिक गरिने मञ्चका महासचिव हरि जोशीले जानकारी दिए । वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही रु ३५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् ।

सुदूरपश्चिम आइकन पुरुष तथा महिलाको विजेताले रु २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै वर्षको प्रशिक्षकले रु ३० हजार, लाइफटाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र वर्षको युवा खेलाडीलाई जनही रु २५ हजारसहित ट्रफी प्रदान गर्न लागिएको छ । खेल क्षेत्रको विकासका लागि मञ्चले पछिल्लो तीन वर्षदेखि सुदूरपश्चिम अवार्डको आयोजना गर्दै आएको छ ।