गाँजाखेतीको अध्ययन कि कानून ?

गाँजाखेतीको अध्ययन कि कानून ?


हाम्रो बुझाइमा गाँजा भन्नासाथ धुँवा उडाएर तान्ने भन्ने छ । तर गाँजाको तेल, साग, जुस, चकलेट, पिज्जालगायतका खानेकुरामा गाँजाको प्रयोग गर्न सकिन्छ । औषधीमा प्रयोग त छँदैछ, अन्य धेरै कुरा बनाउन सकिने हुँदा के-के मा कसरी प्रयोग गर्न सकिन्छ भन्नेचाहिँ हाम्रा लागि अध्ययनको विषय हुनसक्छ ।
✍ बबिता बस्नेत

सन् २०२३ को मार्च अन्तिम साता थाइलेण्डको राजधानी बैंककस्थित सुकुम्भितमा विगतभन्दा अलि फरक दृष्य देखियो । सडकमा हिँड्दै गर्दा वरिपरि देखिएका कतिपय रेष्टुरेण्टहरूमा कहीँ ‘यहाँ गाँजाको चिया पाइन्छ’ त कतै ‘यहाँ गाँजाको पिज्जा पाइन्छ’ लेखिएको थियो । ‘गाँजा पाइन्छ’ लेखिएका रेगटुरेन्टहरू अगाडि उभिएर हामीले (टंक अर्याल, निशु रत्न बस्ताकोती र यो पङ्क्तिकार) यसरी हेऱ्यौँ कि हामीले बैंकक शहरमा अचम्मको कुरा देखिरहेका छौँ । हुनपनि हाम्रा लागि त्यसप्रकारको खुल्लमखुल्ला गाँजाको प्रचार र रेष्टुरेन्टमा बसेर मानिसहरूले हाँसी-हाँसी गाँजावाला पिज्जा खाइरहेको दृष्य नयाँ नै थियो । विगतमा पटक-पटक गएको बैंककमा म्यारोवाना सप, क्यानवस क्याफे जस्ता बोर्ड कहिल्यै देखिएको थिएन । क्यानवस, वीड, म्यारोवाना… शब्दहरूसँगै गाँजाको हरियो पातको फोटो राखिएका रेष्टुरेन्टहरू प्रसस्तै भेटिए । कोभिडअघि सन् २०२० को मार्चमा बैंकक जाँदा यस्ता रेष्टुरेन्ट र क्याफेहरू देखिएका थिएनन् । कोभिडको तीनवर्षे अन्तरालमा के भएछ ? कसरी यस्तो भयो ? कुरा बुझ्दा सन् २०२० को डिसेम्बर महिनामा संयुक्त राष्ट्रसंघले गाँजालाई औषधीय गुण भएको वनस्पतिको रूपमा राख्दै ‘प्रतिबन्धित र हानिकारक’ श्रेणीबाट हटाएपछि थाइलेण्डले केही शर्तसहित गाँजालाई कानूनी मान्यता दिएछ ।

गाँजाका परिकार राख्ने रेष्टुरेन्ट, क्याफे, होटेलहरूले आफूले के-कस्ता परिकार बेच्ने हो खुलाएर सरकारसमक्ष निवेदन दिई सम्बन्धित शाखामा दर्ता गर्नुपर्ने रहेछ, जुन कुरा उक्त शाखा र सम्बन्धित सञ्चालकले वेबसाइटमा अनिवार्य राख्नुपर्ने रहेछ । सरकारको स्वीकृति नलिई जहाँपायो त्यहीँ गाँजा बेच्न नपाइने रहेछ । उमेर २० वर्ष नपुगेका युवाहरू, गर्भवती र बच्चालाई दुध खुवाइरहेका महिलाहरूले स्वास्थ्यसम्बन्धित सिफारिसबाहेक अन्य अवस्थामा गाँजा किन्न नपाउने रहेछन् । चुरोटको रूपमा धुँवा उडाएर गाँजा खान सार्वजनिक स्थानमा प्रतिबन्धित रहेछ । स्कुल, कलेज, सपिङ मललगायतका स्थानमा गाँजा र गाँजाका परिकारहरू राख्न नपाइने रहेछ । गाँजालाई थाई भाषामा कान्चा भनिदोरहेछ, जसको अर्थ सँगसँगै (टुगेदर) हुँदो रहेछ । गाँजालाई जुन ९, २०२२ मा अपराधिक कार्यबाट मुक्त गरी कानूनी मान्यता दिइएको रहेछ ।

अब नेपालको कुरा गरौँ, हाम्रो देशमा गाँजा निकै पुरानो खेती हो जसलाई धुँवामा उडाउने रूपमा मात्र नभइ दानाको अचार खाने, रेसाबाट कपडा बनाउने, गाईबस्तु बिरामी हुँदा घाँस खुवाउने गरिन्थ्यो । नेपालको भूभागमा विशेषगरी पहाडी क्षेत्रमा जहाँ रोपेपनि सर्ने, फैलने, कतिपय नरोपे पनि आफै उम्रिने भएकाले यसको उत्पादनका लागि नेपाल अफ्गानिस्तान जस्तै उर्वर भूमि थियो, हो । विभिन्न देशका मानिसहरू रमाइलो गर्ने क्रममा गाँजाको स्वाद लिनका लागि नेपाल आउने गरेको इतिहास हामीसँग छ । अरु देशमा भन्दा गाँजा नेपालमा सस्तो हुने, कतिपय ठाउँमा त्यसै पाइने कुराले हिप्पीहरू छक्कै पर्थे भनिन्छ । हिप्पी सन् १९६० ताका युवाहरूबीच एउटा संस्कृति झैँ बनेको थियो । लामो कपाल पाल्ने, गितार बोक्ने, गाउने, नाच्ने, आफ्नै संसार !

संयुक्त राष्ट्रसङ्घले गाँजालाई सन् १९६१ मा लागुऔषध भनेर प्रतिबन्ध लगायो र राष्ट्रसंघका सदस्य राष्ट्रहरूले प्रतिबन्ध लगाए । अहिले उही राष्ट्रसंघले ५९ वर्षपछि सन् २०२० मा गाँजालाई औषधीय गुण भएको वनस्पति भनेर हानिकारक समूहबाट हटायो ।

विभिन्न देशबाट शान्ति खोज्दै नेपाल आउने युवाहरूको सङ्ख्या बढ्न थालेपछि यसको कारण गाँजा नै हो भन्ने निष्कर्ष निकालेर गाँजामा प्रतिबन्ध लगाइयो भन्ने छ । एउटा देशका कारण विश्वब्यापी प्रतिबन्ध हुने कुरा त भएन, अवश्य नै विभिन्न मुलुकमा समस्याहरू देखिएका होलान् । तर नेपालप्रति हिप्पीहरूको बढ्दो आकर्षण र यहाँ आएपछि आफ्नो देश जान मन नलाग्ने अवस्थाले केही पश्चिमा मुलुक नराम्री झस्किएपछि संयुक्त राष्ट्र संघमा यो विषयमा कुरा उठेको भन्ने छ । संयुक्त राष्ट्रसंघले यो विषयमा केही छलफल गरेर सन् १९६१ को मार्चमा ‘द सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग १९६१’ महासन्धि पारित गऱ्यो । जसले गाँजालाई प्रतिबन्धित लागुऔषधको श्रेणीमा राख्यो । त्यसपछि विभिन्न देशले आफ्नो राष्ट्रिय कानून बनाइ गाँजामाथि प्रतिबन्ध लगाए । नेपालले सन् १९७६ मा (लागुऔषध नियन्त्रण ऐन २०३३) कानून बनाएर गाँजा खेती अर्थात् उत्पादन र प्रयोग दुवैमा प्रतिबन्ध लगायो ।

संयुक्त राष्ट्रसङ्घ हो जसले गाँजालाई सन् १९६१ मा लागुऔषध भनेर प्रतिबन्ध लगायो र राष्ट्रसंघका सदस्य राष्ट्रहरूले प्रतिबन्ध लगाए । अहिले उही राष्ट्रसंघले ५९ वर्षपछि सन् २०२० मा गाँजालाई औषधीय गुण भएको वनस्पति भनेर हानिकारक समूहबाट हटायो । राष्ट्रसंघले हानिकारक श्रेणीबाट हटाएपछि सदस्यराष्ट्रहरू गाँजामाथिको प्रतिबन्ध खोल्नका लागि स्वतन्त्र भएका छन् । यसका लागि राज्य स्तरबाट राष्ट्रसंघको नार्कोटिक बोर्डमा आफ्नो देशले प्रतिबन्ध फुकुवा गर्न लागेको एउटा निवेदन दर्ता गरेर राष्ट्रिय कानून बनाउन सक्छ । यो वर्ष २०८०/८१ को बजेटमा ‘गाँजाखेतीको सम्भाब्यता अध्ययन गरिने’ भनिएको छ ।

हाम्रो देशमा गाँजा खेतीको सम्भाब्यता अध्ययन गरिरहनु पर्दैन, किनभने जहाँ रोपे पनि हुन्छ । खेतीको अध्ययन होइन कानून बनाएर प्रतिबन्ध फुकुवा गरी खेती गर्न चाहनेहरूका लागि शर्तहरू राखेर खेती गर्न दिए हुन्छ । नेपालमा गाँजाको प्रतिबन्ध फुकुवाको विषय नयाँ होइन । प्रतिबन्ध हटाउन संसद्मा प्रस्ताव नै दर्ता भएको थियो । पटक-पटक आवाज उठेपछि यसमा अवधारणा पत्र समेत बनिसकेको छ । गत वर्ष गृह मन्त्रालयले बनाएको अवधारणापत्रको आधारमा कानूनको मस्यौदा गर्न सकिन्छ । हामीसँगै प्रतिबन्ध लगाएका अमेरिका, क्यानडा, थाइलैण्ड लगायतका मुलुकले प्रतिबन्ध फुकुवा गरिसकेका छन् । विश्वका एक सय भन्दा बढी देशमा गाँजाको खेती र किनबेच हुन्छ ।

हाम्रो बुझाइमा गाँजा भन्नासाथ धुँवा उडाएर तान्ने भन्ने छ । तर गाँजाको तेल, साग, जुस, चकलेट, पिज्जालगायतका खानेकुरामा गाँजाको प्रयोग गर्न सकिन्छ । औषधीमा प्रयोग त छँदैछ, अन्य धेरै कुरा बनाउन सकिने हुँदा के-के मा कसरी प्रयोग गर्न सकिन्छ भन्नेचाहिँ हाम्रा लागि अध्ययनको विषय हुनसक्छ । हामीले कुन देशलाई कसरी बेच्न सक्छौं ? हाम्रो नियमित ग्राहक कुन मुलुक हुनसक्छ ? उनीहरूले के किन्छन ? तेल कसरी बनाउने ? बनाएपछि यसको बजार कहाँ हुनसक्छ ? यस्ता विषयमा सम्भाव्यता अध्ययन गर्न सकिन्छ । हाम्रा डाँडापाखा वर्षौंदेखि बाँझा छन्, यदि गाँजालाई कानूनी रूप दिएर ब्यवस्थित गर्न सकियो भने मुलुकको आम्दानीको राम्रो श्रोत हुनसक्छ । गाँजा खेती भएको ठाउँमा किरा नलाग्ने र माटो मलिलो हुने भन्ने पनि छ । कानून बनाइ यसका फाइदा र हानीहरूलाई मध्यनजर गर्दै जनचेतना फैलाउन पनि जरुरी छ । हामीकहाँ कानूनहरू बन्छन् तर कानूनमा के छ भन्ने बारेमा जानकारी दिने कुनै निकाय छैन । ती कानूनको कार्यान्वयन कसरी भइरहेको छ ? भनी अनुगमन गर्ने संयन्त्र पनि छैन । भविष्यमा हुन सक्ने जोखिमलाई न्युनीकरण गर्ने उपायसहित गाँजामाथिको प्रतिबन्ध फुकाइ खेती र अन्य ब्यवसायको सुरुवात गर्ने वातावरण निर्माण गर्नु उपयुक्त हुन्छ ।