भारतमा भएको रेल दुर्घटनामा २३३ जनाको मृत्यु, नौ सय यात्रु घाइते

भारतमा भएको रेल दुर्घटनामा २३३ जनाको मृत्यु, नौ सय यात्रु घाइते


भारतको उडिसामा भयानक रेल दुर्घटना भएको छ । उडिसाको बालासोर जिल्लानजिकै शुक्रबार साँझ भएको उक्त दुर्घटनाको चपेटमा तीन वटा रेल परेका छन् भने हालसम्म २ सय ३३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । दुर्घटनामा परेर लगभग नौ सय जना घाइते भएका छन् ।

बताइएअनुसार हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस शुरुमा एक मालबाहक रेलसँग ठक्कर खाएको थियो । त्यसपछि अर्कोतर्फबाट आउँदै गरेको यशवन्तपुर–हावडा सुपरफास्ट रेल पटरीबाट खसेको डिब्बासँग ठोक्किएको थियो ।

शुक्रबार भयानक दुर्घटना भएलगत्तै रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका थिए । उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यसका साथै गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरिएको छ ।

समाचार एजेन्सीहरूका अनुसार चेन्नईबाट हावडा जाँदै गरेको कोरोमण्डल एक्सप्रेस एउटा मालगाडीसँग ठोक्किएपछि यसका धेरै डिब्बाहरु पटरीबाट खसेका थिए । त्यसपछि अर्को तर्फबाट आउँदै गरेको यशवन्तपुर–हावडा सुपरफास्ट रेल पनि पटरीबाट खसेको डिब्बासँग ठोक्किएको थियो । यसरी तीन वटा रेलबीच दुर्घटना भएको हो ।