मेचीनगरमा बढ्यो बाँदर आतङ्क

मेचीनगरमा बढ्यो बाँदर आतङ्क


जङ्गली हात्ती आतङ्कको सामना गरिरहेका मेचीनगरवासी पछिल्लो समय बाँदर आतङ्कबाट पनि हैरान भएका छन् । मेचीनगर नगरपालिका-७, ८, ११ र १२ का विभिन्न स्थानमा जङ्गलबाट हुलका हुल बाँदर खेतबारीमा पसेर बालीनाली नष्ट गर्न थालेपछि उनीहरू हैरान भएका हुन् ।

रातभरि स्थानीय क्षेत्रका सामुदायिक वनमा बस्ने बाँदर उज्यालो नहुँदै किसानले लगाएको अन्नबाली र फलफूल खान निस्कछन् । यतिबेला बारीमा पाकेको मकै, आँप, आरु र घरमा राखेको अन्नबाली बाँदरबाट स्थानीयवासीलाई जोगाउन समस्या भएको छ ।

‘बारीका मात्र होइन घरभित्रै भण्डारण गरिएको अन्नबालीसमेत जोगाउन नसकिने अवस्था भइसकेको छ’, वडा नं ११ का वडाध्यक्ष योगेश भट्टराईले भन्नुभयो, ‘कानूनले बाँदर मार्न पाइँदैन । गाह्रो भयो ।’ उहाँले स्थानीयवासीले लगाएको अन्न बाली खाएर बाँदरले हैरान बनाएपछि सामूहिकरूपमा हेरालु राख्ने अभियान चलाउने तयारी गरिरहेको बताउनुभयो ।

उहाँले बाँदरको आतङ्कबाट जोगाउन स्थानीयवासीले वडासँगै सुरक्षा मागिरहेको बताउनुभयो । डिभिजन वन कार्यालय झापाका डिभिजनल वन अधिकृत मेघराज राईले जिल्लामा बाँदर नियन्त्रणका लागि कुनै कार्यक्रम नभएको बताउनुभयो । बाँदर नियन्त्रणका लागि अहिलेसम्म अपनाएका सबै उपाय दिगो नभएकाले कार्यालयले पनि कुनै ठोस कार्यक्रम नराखेको उहाँको भनाइ छ ।

सरकारले हात्ती, अर्ना, बाघ, भालु चितुवा, ध्वाँसे चितुवा, अजिङ्गर, हिमचितुवा, गौरीगाई, बँदेललगायत १४ वटा जनावरलाई हानिकारक जनावरको सूचीमा राखेको छ । जसका कारण बाँदरले किसानको अन्नबालीमा क्षति पुऱ्याए पनि राहत पाउने व्यवस्था नभएको उहाँले बताउनुभयो । मेचीनगरमात्र होइन जिल्लाका अधिकांश पालिकामा बाँदरको समस्या छ ।