नवलपरासीमा दम्पतिको विभत्स हत्या

नवलपरासीमा दम्पतिको विभत्स हत्या


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा धारिलो हतियारको प्रयोग गरी एक दम्पतिको हत्या गरिएको छ । प्रतापपुर गाउँपालिका वडा नं. ८ मजुवाको मर्चहवा बस्ने वर्ष ५५ का तिलकराज भेडियार र उनकी ५० वर्षीया श्रीमती निर्मला देवी भेडियारको धारिलो हतियारको प्रयोग गरि हत्या भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ।

भेडियार दम्पतिको सोमबार राति हत्या भएको हो । उनीहरुको टाउकोमा धारिलो हतियारप्रयोग गरि हत्या गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय (बसुप) का डिएसपी भोजराज पाण्डेले जानकारी दिए ।

प्रतापपुरको मजुवा भन्ने ठाउँमा विगत ६-७ वर्षदेखि गाइभैँसी पालेर जिविका गर्दै आएका भेडियार दम्पतीको शव गोठभन्दा १५-२० मिटरको दूरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घट्नाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय बेलाटारी प्रहरी निरीक्षक श्यामप्रताप यादवको कमान्डमा १२ जनाको प्रहरीटोली घटनास्थल पुगी आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

मृतकको शव घट्नास्थलमै सुरक्षित राखिएको र हालसम्म घट्नाको कारण र हत्याराबारे केही नखुलेको प्रहरीको भनाइ छ । घट्नास्थलमा तालिमप्राप्त कुकुरको प्रयोग गरि कानुनी प्रक्रिया अगाडि बढाइएको बताएको छ।

घटनास्थलमा प्रहरी उपरीक्षक विनोद सिरवाल र डिएसपी पाण्डे पुगेका छन् भने प्रहरी अधिकारीहरुले अनुसन्धान कार्य तीव्रताका साथ अगाडि बढाएका छन् ।