झोला लुकाउने अंग्रेज र हाम्रा ‘देशभक्त’ !

झोला लुकाउने अंग्रेज र हाम्रा ‘देशभक्त’ !


✍ मोहन लामा रुम्बा

बाबुराम भट्टराईले पनि ग्रेटर नेपालको नक्सा राख्नुपर्छ भनेर बोल्न थालेछन् । अब उनको चेलो आङकाजीहरूबाट पनि पक्कै यही आशयको वक्तव्यहरू आउने नै छन् भनेर कुरौँ ।

सन्दर्भमा जानुअगाडि एउटा ‘झोला लुकाउने’ किस्सा हालौँ ।

इंग्ल्यान्ड र फ्रान्सको बीचमा ओहोरदोहोर गर्ने रेल इङ्गल्याण्डतर्फ जाँदै थियो, यात्रुहरू लगभग भरिभराउ थिए, एउटा सिट मात्र खाली थियो, ट्रेन सुरु हुनु अलि अगाडि एक जना बेलायती अंग्रेज आएर त्यो सिटमा बसे, त्यहाँ पहिले नै एकजना फ्रान्सेली खातुन भन्ने महिला बसिरहेकी थिइन्… ।

सँगै बसिरहेकी ती फ्रेन्च महिला निकै तनावग्रस्त अवस्थामा रहेको प्रष्ट देखिन्थ्यो, उनको अनुहारमा भइरहेको चरम तनाव देखेर ती बेलायती अंग्रेजले मन थाम्न नसकेर ती महिलालाई सोध्यो- तपाईं तनावग्रस्तमा हुनुहुन्छ जस्तो लाग्छ केही समस्या पऱ्यो कि ?

ती महिलाले हिचकिचाउँदै वरिपरि हेरेर बिस्तारै भनिन्- मसँग बेलायतको कानूनले अनुमति दिएको भन्दा धेरै पैसा लिएर आएकी छु, जुन दश हजार पाउन्ड हुन्छ । फ्रान्समा त केही हुन्न तर बेलायतमा यति रकम लैजानु गैरकानुनी हुन्छ । अब मलाई बेलायत पुगेपछि के हुन्छ होला भनेर चिन्ता लागिरहेको छ । यसरी भनेर आफ्नो समस्या खुलस्त सुनाइन् ।

ती अंग्रेजले आश्वस्त पार्दै भन्यो- ठिकै छ कुनै ठूलो समस्या होइन, यसको पनि समाधान निस्किन्छ । यदि तपाईं मान्नुहुन्छ भने, मलाई आधा रकम ५००० राख्न दिनुहोस्, बाँकी ५००० पाउन्ड तपाईंसँग हुनेछ ।

मलाई तपाईंको ठेगान दिनुस्, चेकपोस्टबाट बाहिर निक्लेपछि तपाईंको पैसा तपाईंलाई फर्काइदिन्छु भनेर बेलायती पुरुषले सल्लाह दियो । महिला खातुनलाई उनले दिएको सल्लाह मन पऱ्यो, आफ्नो ठेगाना कागजमा लेखेर ५००० पाउण्ड रकम राख्न दिइन् ।

रेलबाट ओर्लिएपछि फ्रान्सेली युवती कुनै अवरोधबिना प्रहरी चेकिङबाट बाहिर निक्लेर जाँदै थिइन् कि त्यो ५००० राख्न दिएको अंग्रेजले ठूलो-ठूलो स्वरले प्रहरीलाई देखाउँदै भने, ‘हजुर, त्यो महिलालाई समात्नुहोस् ! त्यो महिलाले अवैध रूपमा दश हजार पाउण्ड फ्रान्सबाट बोकेर आएकी छन् !

ती महिलाले मलाई पाँच हजार पाउण्ड राख्न दिएकी छिन् ! भन्दै प्रहरीको अगाडि गएर- सर ! म इङ्गल्याण्डको एउटा ‘देशभक्त’ नागरिक हुँ र म मेरो प्यारो देशलाई धोका दिने कुरा म सोच्नसम्म सक्दिनँ, मलाई त्यो महिलाले राख्न दिएको रकम ५००० पाउन्ड यहाँ छ भन्दै पैसा निकालेर प्रहरीलाई दिँदै हरेक नागरिक देशभक्त हुनुपर्छ ! देशमाथि गद्दार गर्नेहरू कानुनी कठघरामा उभ्याउनुपर्छ ! भन्दै जोड-जोडले कराएर महिलालाई पक्राउ गर्न प्रहरीलाई भन्न थाल्यो ।

चेकपोस्टबाट पार भएर केही टाढा पुगिसकेको फ्रान्सेली महिला खातुनलाई प्रहरीले फेरि समाएर ल्याएर सोधपुछ गर्दा खातुनले आफ्नो अपराध स्वीकार गरिन्, अंग्रेजले आफूसँग राखिएको आधा रकम पनि प्रहरीलाई बुझायो ।

ती बेलायती नागरिकका कारण गैरकानुनी कार्य गर्ने फ्रान्सेली महिला समाउन सकेकोमा खुशी हुँदै प्रहरीको हाकिमले धन्यवादका साथ ‘हाम्रो देशमा सम्पत्ति शुद्धीकरण भएन भने देशको अर्थतन्त्रमा ठूलो नोक्सान पुग्न जान्छ ! तपाईंहरू जस्तो इमानदार देशभक्तहरूले गर्दा नै हाम्रो देशले उचाई लिन सकिरहेको छ’ भन्दै तिनको प्रशंसा र सम्मान गरी पठाए । प्रहरीले फ्रान्सेली महिलालाई जरिवाना गरेर अर्को रेलबाट फ्रान्स फिर्ता पठाइदिए ।

यो घटनाको केही समय बितिसकेको थियो । एकदिन फ्रान्समा उनै महिला खातुनको घरको ढोका ढकढक गर्दै कसैले ढोका उघार्न भन्यो । ती महिलाले को आएछ घरमा भन्दै ढोका खोलेर हेर्दा त्यही अङ्ग्रेज उनको अगाडि उभिरहेको थियो, जसले उनलाई बेलायतमा पक्राउ गराएको थियो ।

आश्चर्य र आक्रोशमिश्रित स्वरमा खातुनले भनिन्- तँ ? तँ त्यही मान्छे होइन मलाई पक्राउ गराउने ? थुक्क तँ कति गद्दार धोखेबाज मान्छे रहेछस् ! मेरो सबै पैसा प्रहरीलाई समाउन लगाएर फेरि लाज पचाएर मेरै घरमा आउने ? अलिकता पनि शर्म लागेन यहाँ आउन ?

महिला रिसाएर चिच्याइरहँदा त्यो अंग्रेज मुसुमुसु हाँस्दै बसिरह्यो । महिला कराउन छोडेपछि त्यो अंग्रेजले झोलाबाट एउटा खाममा १० हजार पाउन्ड दिँदै त्यसमाथि अर्को ५००० रकम पनि थपेर १५ हजार पाउण्डको खाम दिँदै भन्न थाल्यो- लौ लिनुस् तपाईंको पैसा ! यो तपाईंको १० हजार रुपैयाँ हो, र बाँकी त्यसमाथि थप ५००० रुपैयाँँ मेरो तर्फबाट तपाईंलाई इनाम !

फ्रान्सेली महिला यस्तो देखेर छक्क परिन् ! ट्वाल्ल परेर त्यो अंग्रेजको मुख एकहोरो हेरिरहिन् !

अंग्रेजले बिस्तारमा भन्न थाल्यो- महाशया ! तपाईंको रिस ममाथि एकदम जायज छ, तर म पनि यसो गर्न त्यतिबेला बाध्य थिएँ, त्यो बेला मैले प्रहरीको ध्यान मेरो झोलाबाट हटाउन चाहन्थेँ । किनभने मेरो झोलामा ३० लाख पाउण्ड थियो, त्यसैले मैले यो नाटक गर्नुपऱ्यो, जसमा तपाईंले त जम्मा दश हजार मात्रै गुमाउनु पऱ्यो यदि मेरो झोला चेक गरेको भए ?

अंग्रेजको कुरा सुनेर फ्रान्सेली महिला खातुन अक्कबक्क भएर भुँइमा थचक्क बसिन् ।

यो घटनाबाट हामीले के पाठ सिक्नुपर्ला ? आवश्यकता भन्दा बढी जब-जब देशभक्तिको कुरा गरेर जो जोडतोडले मच्चिन थाल्छ, सोच्नुस्- त्यो मान्छे त्यही अंग्रेज जस्तो पनि हुन सक्छ ।

त्यो अंग्रेजले देशभक्तिको कुरा गरेर आफ्नो झोला चेकपोस्टमा लुकाउन सफल भएजस्तो अहिले नेपालमा चलिरहेको ‘देशभक्ति’को आन्दोलन पनि आफ्नो ‘झोला’ लुकाउनबाहेक अर्को के हुनसक्ला र ?

हुँदा-हुँदा अहिले त बाबुराम भट्टराई पनि ग्रेटर नेपालको पक्षमा बोल्दै गरेको देखियो । अब हेर्दै जानुस् उपेन्द्र यादव, आङकाजी शेर्पादेखि यस्ता सबैले ग्रेटर नेपालको नक्सा बारेमा केही समयसम्म बोल्दै जानेछन् ! अहिले सामाजिक संजाल राजनीतिक क्षेत्र पूरै माहौल ग्रेटर नेपालमय हुँदैछ । तर यो त्यही देश हो, जसले यो देशको विशाल ‘जग’ राख्ने काम गऱ्यो, तिनै महान् सम्राटको सालिक ढाल्नेहरूले चलाइरहेको देश हो । यो त्यही देश हो जुन देश एउटा सिंगो देश होइन टुक्रा-टुक्रा देशलाई जबर्जस्ती खाँदेर एउटा देश बनाएको हो भन्ने मान्यतामा आधारित भएर आजको संविधान बनाइ संघीय लोकतान्त्रिक गणतन्त्र बनाएको देश हो र, त्हीे देशका हामी नागरिक हौँ !

यो देशको एकीकरणकर्ता पृथ्वीनारायण शाहको शालिक ढालेर नेपालको पाठ्यक्रमबाट उनको योगदान, उनको इतिहास हटाएर टुक्रा-टुक्रा नेपालको अवधारणा ल्याइ नेपाललाई बिखण्डन गर्न ल्याएको संविधानलाई ‘महान् उपलब्धि, महान् प्रगति’ भन्नेहरू नै आज ग्रेटर नेपालको नक्सा बोक्दै दौडिँदै छ भने एकपटक थाप्लोमा हात राखेर सोच्नुहोला । जुन देशमा बस्ने नागरिक जुन देशको संस्थापक पूुर्खाप्रति अनुगृहित हुँदैन, कृतार्थ हुन्न भने सोच्नुस् त्यो देश आडम्बरले मात्रै धेरै दिनसम्म टिक्दैन । आज यो बिशाल देशको आरम्भकर्ता पृथ्वीनारायण शाहको जयन्ती मनाउन छोडिसकेको धेरै भइसकेको छ ।

काठमाडौं त राजधानी भयो, पृथ्वी जयन्ती औपचारिकतावश मान्छेहरू स-साना झुन्ड पुगेर मनाउने गर्छन् । तर पृथ्वी जयन्ती त मुलुकभर जन-जन उर्लेर धुमधामसँग हुनुपर्ने थियो, तर आज काठमाडौंको एउटा कुनामा दुई-चार सय मान्छे जम्मा भएर औपचारिकतामा सीमित भएको अवस्था छ ।

काठमाडौ शहरबाहेकका बाँकी ७६ जिल्लामा पृथ्वी जयन्ती लगभग सुनसान जस्तै हुन्छ । मोफसलको अवस्था कस्तो छ भने एउटा सानु उदाहरण हेरौँ, मेरै गृहजिल्ला चितवनमा निरन्तर पृथ्वी जयन्ती मनाउन सकृय नेतृत्व गरिरहने एकजना युवा साथी हुनुहुन्छ जीवलाल पुरी ‘निर्जरा’ । एकदिन निराश हुँदै मलाई भन्दै हुनुहुन्थ्यो- कुनै बेला राजा महेन्द्रले चितवनमा बिर्तासहित तक्मा, मान-सम्मान दिएको विष्ट थरको एक जनाको घरमा पृथ्वी जयन्ती मनाउन चन्दा माग्न पुगेको, उसले एक घण्टासम्म राजा-महाराजालाई धित मर्नेगरी सराप्दै अन्तमा भिखारीलाई दिएजसरी ‘पैसा’ दिएर फर्काएछ ।

यो एउटा सानो उदाहरण मात्रै हो हाम्रो अवस्थाको प्रतिनिधि-घटना । जिल्लाभर पृथ्वी जयन्ती मनाउन भन्दै माइकिङ गरेर मान्छेलाई आह्वान ग¥यो, आखिरमा मान्छे जम्मा हुन्छन् एउटा सामान्य बिहेको जन्ती बराबर !! यस्तै अवस्था हो मुलुकभर ।

जुन देशको जनतामा देशको एकीकरणकर्ताप्रति नै यति निर्घिणी जनता हुन्छन् भने यो देशलाई टिस्टादेखि काँगडासम्म फैलाउने बहादुर शाहका बारेमा त झन् कसलाई यहाँनेर पत्तो छ र ? जंगबहादुर राणा जसले अंग्रेज रिझाएर आजको आधुनिक सिमा निर्धारण गरे, उनैले गाडेको खम्बाको कारणले आज हामी ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्दै गर्व गर्ने अवसर पाइरहेका छौँ ! उनले गाडेको सिमा स्तम्भ अहिले आधासमेत छैन, त्यस्तो सिमा स्तम्भसमेत जोगाउन नसक्ने हामी हुतीहारा लाछी पानीमरुवा नेपालीहरूले ग्रेटर नेपालको गफ दिँदै जंगबहादुरलाई अंग्रेजको ‘गुलाम ! खलनायक !!’ भन्दै सत्तोसराप गर्दै बस्छौँ ।

गणतन्त्र भारतले अशोक सम्राटलाई बिम्ब बनाएर ग्रेटर इन्डियाको आधार दिइरहँदा हामीले हाम्रो सम्राट पृथ्वीनारायण शाह, बहादुर शाह जंगबहादुरलाई बिम्ब बनाएर उनीहरूको जन्मजयन्ती, मुद्रामा तस्बिर, संसद् भवनअगाडि मुर्ति खडा गरेर नेपाल हुनुको गर्ववोध हुने काम गरेर किन हिँड्न सक्दैनौँ ?

आफ्नो गौरवशाली इतिहासलाई मेटाउने, आफ्नो नेपाली संस्कृतिलाई धुलोपिठो पार्ने ! आफ्नो जाति धर्म संस्कृति पहिचानलाई युरोपेली युनियनको पाउमा राख्ने ! टुक्रा-टुक्रा नेपालको इतिहास घर-घरमा गएर घोकाउने अनि एकीकृत नेपालको इतिहासलाई भ्रष्टिकरण गर्दै ग्रेटर नेपालको कागजी नक्सा भित्तामा राख्दै देशभक्तको ढ्वाङ देखाउने भनेको त्यही अंग्रेजको ‘झोला’ लुकाउने कथा भन्दा बढी केही होला त ?

(मोहन लामाको ‘फेसबुक वाल’बाट)