प्यूठानमा कार दुर्घटना हुँदा आठ जनाको मृत्यु, प्रधानमन्त्रीद्वारा समवेदना

प्यूठानमा कार दुर्घटना हुँदा आठ जनाको मृत्यु, प्रधानमन्त्रीद्वारा समवेदना


प्यूठानको स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किँदै गर्दा भएको सवारी दुर्घटनामा आठ जनाको ज्यान गएको छ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा लु१च ६३४५ नंको कार दुर्घटना हुँदा सो कारमा सवार यात्रीहरूको मृत्यु भएको हो ।

स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्री बजारनजिकै टाकुरा भन्ने स्थानमा सोमबार अपराह्न सो कार दुर्घटना भएको थियो ।

कार स्वर्गद्वारी–भिङ्ग्री सडक खण्डको टाकुरा भन्ने स्थानबाट झन्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु भएकामध्ये सात जनाको सनाखत भएको र एकजनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा मृत्यु भएकामध्ये दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी बस्ने ३५ वर्षीया सरिता शर्मा पोखरेल, निजको १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेल रहेका छन् । यस्तै, दाङ लमही नगरपालिका–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका छोरा ९ वर्षीय आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

कारका चालक दाङ लमही नगरपालिका–४ का ४९ वर्षीय ताराबहादुर कुमालको पनि सनाखत भएको र एकजनाको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्रीद्वारा समवेदना

प्रधानमन्त्री प्रचण्डले प्यूठानमा कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गरेका हुन् ।

‘प्यूठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ जनाको निधन भएको खबरले दुःखित बनाएको छ । उक्त दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु’, समवेदनामा उल्लेख छ ।