आरोग्य जीवन राष्ट्रिय अभियानको सान्दर्भिकता

आरोग्य जीवन राष्ट्रिय अभियानको सान्दर्भिकता


रोग लागेपछि उपचार गर्नु मात्र पर्याप्त हो वा रोगको जोखिम न्यूनीकरण गर्ने स्वस्थ जीवनशैली निर्माण गर्नु अझ ठूलो राष्ट्रिय जिम्मेवारी हो ? आजको सार्वजनिक स्वास्थ्य बहसको केन्द्रमा यही प्रश्न रहेको छ । स्वास्थ्य प्रणालीको सफलतालाई अब केवल अस्पताल, औषधि, उपचार सेवा वा स्वास्थ्य पूर्वाधारको विस्तारबाट मात्र मापन गर्न सकिँदैन । नागरिकले कति स्वस्थ, सचेत, जिम्मेवार तथा उत्पादनशील जीवन बिताइरहेका छन् भन्ने पक्ष पनि उत्तिकै महत्वपूर्ण भएको छ । त्यसैले विश्वव्यापी रूपमा स्वास्थ्यको केन्द्रविन्दु उपचारमुखी सोचबाट क्रमशः रोकथाम, स्वास्थ्य प्रवर्द्धन तथा समग्र आरोग्यतर्फ रूपान्तरण हुँदै गएको छ ।

यस परिवर्तित सन्दर्भमा नेपालका लागि पनि आरोग्यलाई राष्ट्रिय विकासको आधारका रूपमा पुनःस्थापित गर्ने महत्वपूर्ण अवसर सृजना भएको छ । स्वस्थ नागरिक नै समृद्ध राष्ट्रको आधार हुन् भन्ने तथ्य विश्वव्यापी रूपमा स्वीकार गरिएको छ । त्यसैले स्वास्थ्यलाई केवल रोगको उपचारसँग सीमित नराखी नागरिकको जीवनशैली, मानसिक सन्तुलन, पोषण, सामाजिक व्यवहार, वातावरण तथा जीवनपद्धतिसँग जोडेर हेर्ने दृष्टिकोण सुदृढ हुँदै गएको छ । यही सोचलाई व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यका साथ आरोग्य जीवन राष्ट्रिय अभियान २०२७ लाई राष्ट्रिय जनचेतना, स्वस्थ जीवनशैली तथा रोकथाममुखी सार्वजनिक स्वास्थ्यको साझा अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ । यसले नेपालका लागि अर्को महत्वपूर्ण अवसर पनि सृजना भएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको छ । यस घोषणाले आरोग्यलाई व्यक्तिगत जीवनशैलीको विषय मात्र नभई रोकथाममुखी सार्वजनिक स्वास्थ्य, मानसिक सुदृढता, सामाजिक कल्याण तथा दिगो विकाससँग जोडिएको विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गरेको छ । नेपालका लागि यो अन्तरराष्ट्रिय मान्यता केवल कूटनीतिक उपलब्धि मात्र होइन, आरोग्यमुखी जीवनशैली, सार्वजनिक स्वास्थ्य प्रवर्द्धन, आरोग्य कूटनीति, वेलनेस पर्यटन, आध्यात्मिक पर्यटन तथा मानव केन्द्रित विकासलाई राष्ट्रिय नीतिसँग एकीकृत गर्ने ऐतिहासिक अवसर पनि हो ।

आधुनिक चिकित्सा विज्ञान मानव सभ्यताको सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्ये एक हो । रोग पहिचान, निदान, शल्यक्रिया, औषधि, खोप, सघन उपचार तथा स्वास्थ्य प्रविधिमा भएको उल्लेखनीय प्रगतिले करोडौँ मानिसको जीवन बचाएको छ, औसत आयु बढाएको छ तथा जटिल रोगहरूको प्रभावकारी उपचार सम्भव बनाएको छ ।

त्यसैले आधुनिक चिकित्सा विज्ञानको योगदान निर्विवाद छ तर उपचार क्षमतामा निरन्तर सुधार भइरहेका बेला पनि गैरसङ्क्रामक रोग, मानसिक स्वास्थ्य समस्या तथा अस्वस्थ जीवनशैलीसँग सम्बन्धित चुनौतीहरू तीव्र रूपमा बढिरहेका छन् । यसले स्पष्ट रूपमा देखाउँछ कि दीर्घकालीन स्वास्थ्य सुनिश्चित गर्न उपचारसँगै रोकथाम र स्वास्थ्य प्रवर्द्धनलाई समान प्राथमिकता दिनुपर्दछ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२१ मा विश्वभर गैरसङ्क्रामक रोगका कारण करिब चार करोड ३० लाख मानिसको मृत्यु भएको थियो, जुन कूल मृत्युको करिब ७५ प्रतिशत हो । नेपालमा पनि कूल मृत्युको करिब ७१ प्रतिशत यिनै रोगका कारण हुने गरेको छ । असन्तुलित आहार, शारीरिक निष्क्रियता, सुर्ती तथा मदिराको हानिकारक प्रयोग, वायु प्रदूषण, दीर्घकालीन तनाव तथा अस्वस्थ जीवनशैली यस्ता रोगका प्रमुख जोखिम कारक हुन् । यी तथ्याङ्कहरूले सार्वजनिक स्वास्थ्य प्रणालीलाई उपचारमुखी मात्र नभई रोकथाममुखी बनाउनुपर्ने आवश्यकता स्पष्ट रूपमा औँल्याउँछन् ।

मानसिक स्वास्थ्यको अवस्था झन गम्भीर बन्दै गएको छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०२४÷२५ मा छ हजार ८६६ जनाले आत्महत्या गरेका थिए, अर्थात् औसतमा प्रत्येक दिन १८ देखि २० जनाले आफ्नो जीवन गुमाएका थिए । उदासी, चिन्ता, सामाजिक एक्लोपन, डिजिटल निर्भरता, बेरोजगारी, आर्थिक दबाब तथा पारिवारिक विखण्डनले मानसिक स्वास्थ्यका चुनौतीलाई थप जटिल बनाइरहेका छन् ।

विशेषगरी बालबालिका र युवामा बढ्दो स्क्रिन समय तथा डिजिटल निर्भरताले शारीरिक गतिविधि, सामाजिक सम्बन्ध र मानसिक सन्तुलनमा प्रतिकूल प्रभाव पारिरहेको छ । त्यसैले मानसिक स्वास्थ्यसँगै डिजिटल सन्तुलनलाई पनि आरोग्यमुखी जीवनशैलीको अभिन्न अङ्गका रूपमा समेटिनुपर्दछ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको अवस्था पनि उत्तिकै संवेदनशील छ । श्रमशोषण, मानसिक तनाव, स्वास्थ्य सेवामा सीमित पहुँच, कार्यस्थल दुर्घटना, पारिवारिक दूरी तथा स्वदेश फर्किएपछि पुनःस्थापनाका चुनौतीहरूले उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक आरोग्यमा प्रतिकूल प्रभाव पारिरहेका छन् । त्यसैले आरोग्यको अवधारणाले देशभित्रका नागरिक मात्र होइन, विदेशमा रहेका नेपाली श्रमिक तथा उनीहरूको परिवारको समग्र कल्याणलाई पनि समान प्राथमिकतामा समेट्नुपर्दछ ।

यी सबै यथार्थहरूले स्वास्थ्यलाई केवल उपचार प्रणालीका रूपमा हेर्ने परम्परागत दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । स्वास्थ्य व्यक्ति, परिवार, शिक्षा, पोषण, मानसिक सन्तुलन, सामाजिक सम्बन्ध, कार्यस्थल, वातावरण तथा जीवनशैलीसँग अभिन्न रूपमा जोडिएको समग्र विकासको आधार हो । त्यसैले स्वस्थ समाज निर्माणका लागि केवल स्वास्थ्य मन्त्रालयको प्रयास पर्याप्त हुँदैन । शिक्षा, कृषि, श्रम, युवा तथा खेलकुद, सञ्चार, स्थानीय सरकार, निजी क्षेत्र, नागरिक समाज, धार्मिक तथा सामुदायिक संस्था तथा प्रत्येक नागरिकको सक्रिय सहभागिता आवश्यक पर्दछ । सबै पक्षको संयुक्त प्रयासबाट मात्र आरोग्यमुखी समाज निर्माण सम्भव हुन्छ । यही कारण सार्वजनिक स्वास्थ्यलाई आज बहुक्षेत्रीय, बहुपक्षीय तथा साझा राष्ट्रिय दायित्वका रूपमा परिभाषित गरिएको छ ।

नेपालका सन्दर्भमा जलवायु परिवर्तन पनि सार्वजनिक स्वास्थ्यको उदीयमान चुनौती बनेको छ । बढ्दो तापक्रम, वायु प्रदूषण, बाढी, पहिरो तथा अन्य जलवायुजन्य विपद्ले शारीरिक र मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पुऱ्याइरहेका छन् । त्यसैले आरोग्यमुखी जीवनशैली, स्वस्थ वातावरण तथा जलवायु अनुकूल विकासलाई परस्पर पूरक नीतिका रूपमा अघि बढाउन आवश्यक छ । विश्वव्यापी रूपमा पनि आरोग्यमुखी सोच तीव्र रूपमा विस्तार भइरहेको छ । ग्लोबल वेलनेस इन्स्टिच्युटका अनुसार सन् २०२३ मा विश्वको वेलनेस अर्थतन्त्र करिब ६.३ ट्रिलियन अमेरिकी डलर पुगेको थियो र आगामी केही वर्षमा करिब नौ ट्रिलियन अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । यसले विश्व समुदाय उपचारभन्दा अघि स्वस्थ जीवनशैली, पोषण, योग, ध्यान, मानसिक सन्तुलन तथा तनाव व्यवस्थापनतर्फ उन्मुख भइरहेको स्पष्ट देखाउँछ । नेपालले पनि यस परिवर्तनलाई सार्वजनिक स्वास्थ्य नीति, मानव पुँजी विकास तथा दिगो आर्थिक रूपान्तरणसँग जोड्न सक्नुपर्दछ ।

नेपाल प्राकृतिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले आरोग्यमुखी विकासका लागि विशिष्ट सम्भावना बोकेको राष्ट्र हो । हिमालय, जैविक विविधता, स्थानीय खाद्य प्रणाली, औषधीय जडीबुटी, योग, ध्यान, आयुर्वेद, बौद्ध तथा वैदिक दर्शन, लुम्बिनी, पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ तथा अन्य आध्यात्मिक केन्द्रहरूले नेपाललाई विश्वस्तरीय आरोग्य तथा आध्यात्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने बलियो आधार प्रदान गर्दछन् । साथै, नेपाली समाजका परम्परागत खानपान, पैदल हिँड्ने संस्कृति, सामुदायिक सहकार्य तथा प्रकृतिसँगको निकट सम्बन्ध आफैँमा आरोग्यमुखी जीवनशैलीका महत्वपूर्ण आधार हुन् । यिनलाई वैज्ञानिक अनुसन्धान, गुणस्तरीय सेवा तथा अन्तरराष्ट्रिय मापदण्डसँग जोड्न सकियो भने सार्वजनिक स्वास्थ्य प्रवर्द्धनसँगै रोजगारी, स्थानीय अर्थतन्त्र तथा हरित विकासमा महत्वपूर्ण योगदान पुग्न सक्दछ ।

आरोग्य भनेको रोगको अनुपस्थिति मात्र होइन । यो शरीर, मन, भावना, परिवार, सामाजिक सम्बन्ध, कार्यसंस्कृति, वातावरण तथा जीवनशैलीबीचको सन्तुलित अवस्था हो । त्यसैले आरोग्य आधुनिक चिकित्साको विकल्प होइन; बरु आधुनिक चिकित्सा, सार्वजनिक स्वास्थ्य, मानसिक स्वास्थ्य तथा स्वस्थ जीवनशैलीलाई एकीकृत गर्ने समग्र दृष्टिकोण हो । उपचारले रोग व्यवस्थापन गर्दछ र जीवन बचाउँछ भने आरोग्यमुखी जीवनशैलीले रोगको जोखिम घटाउँछ, जीवनको गुणस्तर अभिवृद्धि गर्दछ तथा दीर्घकालीन स्वास्थ्य सुनिश्चित गर्दछ । भविष्यको प्रभावकारी स्वास्थ्य प्रणाली उपचार र रोकथाम दुवैलाई समान महत्व दिने सन्तुलित अवधारणामा आधारित हुनुपर्दछ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वास्थ्यसम्बन्धी मौलिक हक सुनिश्चित गरेको छ । यस संवैधानिक प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न उपचार सेवाको विस्तारसँगै स्वास्थ्य प्रवर्द्धन र रोगको रोकथामलाई पनि समान प्राथमिकतामा राख्न आवश्यक छ । यही दृष्टिकोणलाई विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्य प्रवर्द्धन तथा सबै नीतिमा स्वास्थ्यको अवधारणामार्फत जोड दिएको छ । यसको सार के हो भने स्वास्थ्य मन्त्रालयले मात्र होइन, शिक्षा, कृषि, वातावरण, खाद्य प्रणाली, सहरी विकास, यातायात, श्रम, सञ्चार, खेलकुद, पर्यटन तथा स्थानीय सरकारले पनि आफ्ना नीति र कार्यक्रममार्फत नागरिकको आरोग्य प्रवद्र्धन गर्ने साझा दायित्व वहन गर्नुपर्दछ भन्ने हो । नेपालमा यही बहुक्षेत्रीय दृष्टिकोणलाई व्यवहारमा उतार्न सकियो भने स्वस्थ, सक्षम, प्रतिस्पर्धी तथा समृद्ध समाज निर्माणको बलियो आधार तयार हुनेछ ।

विश्व स्वास्थ्य सङ्गठनले स्वस्थ बुढ्यौलीलाई सार्वजनिक स्वास्थ्यको प्रमुख प्राथमिकतामध्ये एकका रूपमा जोड दिएको छ । नेपाल पनि क्रमशः वृद्धजनको सङ्ख्या बढ्दै गएको समाजतर्फ उन्मुख भइरहेका कारण स्वस्थ बुढ्यौलीलाई राष्ट्रिय स्वास्थ्य नीतिको अभिन्न अङ्ग बनाउनु आवश्यक छ । नियमित शारीरिक गतिविधि, सन्तुलित पोषण, मानसिक सक्रियता र सामाजिक सहभागिताले वृद्धावस्थामा पनि स्वस्थ, सक्रिय र सम्मानजनक जीवन सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुऱ्याउँछन् ।

परिवार आरोग्यमुखी समाजको पहिलो विद्यालय हो । स्वस्थ आहार, नियमित व्यायाम, पर्याप्त निद्रा, डिजिटल उपकरणको सन्तुलित प्रयोग, पारिवारिक संवाद, भावनात्मक सहयोग तथा अनुशासित जीवनशैलीको संस्कार परिवारबाटै विकास हुन्छ । सञ्चारमाध्यम, शैक्षिक संस्था, धार्मिक तथा सांस्कृतिक सङ्गठन, नागरिक समाज र निजी क्षेत्रले पनि वैज्ञानिक प्रमाणमा आधारित स्वास्थ्य साक्षरता अभिवृद्धि गर्दै स्वस्थ जीवनशैलीलाई सामाजिक आन्दोलनका रूपमा स्थापित गर्न सक्दछन् । विशेषगरी सामाजिक सञ्जालको बढ्दो प्रभावका बीच गलत सूचना तथा छद्मवैज्ञानिक स्वास्थ्य दाबीबाट नागरिकलाई जोगाउनु आजको महत्वपूर्ण दायित्व हो ।

आरोग्य जीवन राष्ट्रिय अभियान २०२७ लाई संयुक्त राष्ट्रसङ्घका दिगो विकास लक्ष्य, नेपालको सार्वभौमिक स्वास्थ्य पहुँच, मानव पुँजी विकास, सामाजिक समावेशिता, जलवायु अनुकूल विकास तथा दिगो आर्थिक समृद्धिसँग एकीकृत गरी कार्यान्वयन गर्नुपर्दछ । स्वस्थ जनशक्ति कुनै पनि राष्ट्रको सबैभन्दा महत्वपूर्ण उत्पादनशील पुँजी हो । रोकथाममुखी सार्वजनिक स्वास्थ्य प्रणालीले उपचार खर्च घटाउँछ, श्रम उत्पादकत्व बढाउँछ, परिवारको आर्थिक भार कम गर्छ तथा राष्ट्रिय अर्थतन्त्रलाई थप सुदृढ बनाउँछ । यस अर्थमा आरोग्यमुखी जीवनशैलीमा गरिने लगानी खर्च होइन, राष्ट्रको भविष्य, मानव पुँजी र दिगो समृद्धिमा गरिने रणनीतिक लगानी हो ।

नेपालले अब उपचारमुखी सोचसँगै आरोग्यमुखी विकासको राष्ट्रिय यात्रा आत्मविश्वासका साथ प्रारम्भ गर्नुपर्दछ । ‘औषधिभन्दा अघि चेतना, रोगभन्दा अघि रोकथाम’ भन्ने सन्देश अस्पतालभित्र मात्र सीमित नरही विद्यालय, परिवार, कार्यस्थल, सञ्चारमाध्यम, स्थानीय सरकार, निजी क्षेत्र तथा प्रत्येक नागरिकको दैनिक व्यवहारमा रूपान्तरण हुनुपर्दछ । जब आरोग्य व्यक्तिगत अभ्यासबाट सामाजिक संस्कृतिमा र सामाजिक संस्कृतिबाट राष्ट्रिय चरित्रमा रूपान्तरण हुन्छ, तब मात्र स्वस्थ नागरिक, सुदृढ परिवार, सक्षम मानव पुँजी, प्रतिस्पर्धी अर्थतन्त्र र समृद्ध नेपालको आधार निर्माण हुनेछ ।

अन्ततः कुनै पनि राष्ट्रको वास्तविक शक्ति अस्पतालको सङ्ख्या वा उपचार सेवाको विस्तारबाट मात्र मापन हुँदैन । त्यसको वास्तविक मापन स्वस्थ, सचेत, नैतिक, अनुशासित, उत्पादनशील तथा सिर्जनशील नागरिकबाट हुन्छ । उपचार सधैँ अपरिहार्य रहनेछ, तर उपचारलाई मात्र स्वास्थ्यको पर्याय मान्ने सोच अब पर्याप्त छैन । भविष्यको समृद्ध नेपाल निर्माणका लागि उपचार र आरोग्यबीच सन्तुलित समन्वय स्थापित गर्दै रोकथाममुखी, मानव केन्द्रित तथा दिगो सार्वजनिक स्वास्थ्य प्रणाली निर्माण गर्नु समयको अपरिहार्य आवश्यकता हो । यही दृष्टिले आरोग्य जीवन राष्ट्रिय अभियान २०२७ केवल स्वास्थ्य क्षेत्रको कार्यक्रम होइन; यो स्वस्थ नागरिक, सुदृढ परिवार, सक्षम मानव पुँजी, उत्पादनशील अर्थतन्त्र र समृद्ध नेपालको साझा राष्ट्रिय अभियान हो । उपचार र रोकथामबीचको सन्तुलित समन्वयमार्फत आरोग्यमुखी संस्कृतिको विकास गर्न सकियो भने नेपालले स्वास्थ्यलाई विकासको केन्द्रमा स्थापित गर्दै समावेशी, दिगो र समुन्नत राष्ट्र निर्माणतर्फ ऐतिहासिक फड्को मार्न सक्नेछ ।