‘नीरफूल’को विशेष प्रदर्शनीमा कलाकारदेखि नेतासम्म

‘नीरफूल’को विशेष प्रदर्शनीमा कलाकारदेखि नेतासम्म


photo: rss

गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको प्रतिक्रिया दिए ।

‘चलचित्रमा मनोरञ्जनसँगै सन्देश पनि छन् । नेपालीमार्फत नै नेपालीले पाउने पीडालाई दृश्यका माध्यमले दर्शाइएको छ, वैदेशिक रोजगारीले हाम्रो समाज र परिवारलाई गरेको क्षतिलाई समेट्दै सेवा दिनुपर्ने निकाय दायित्वबाट पन्छिदा पर्ने प्रभाव देखाइएको छ । यो यथार्थ चित्रण हो’, नेता रावलको प्रतिक्रिया छ ।

अभिनेत्री करिष्मा मानन्धरले पनि चलचित्रको प्रस्तुतिकरण र मौलिकताको प्रशंसा गरिन् । प्रतिक्रिया दिँदै उनले भनिन्, ‘नेपाली चलचित्रमा मौलिकता भेटिएन्, आफ्नै कथा छैन रु भन्ने गुनासोको जवाफ बनेको छ नीरफूल । हाम्रो समाज र भोगाइसँग जोडिएको चलचित्रमा कलाकारले जीवन्त अभिनय गर्नुभएको छ । यसमा भूकम्पको समयमा एउटा ग्रामीण भेगमा परिवारले भोग्ने परिस्थितिलाई चित्रण गरिएको छ ।’

अभिनेत्री मानन्धरले चलचित्रमा देखाइएको कला र संस्कृतिको समेत सहराना गरिन् भने स्थानीय तहदेखि राष्ट्रियस्तरसम्मको समस्यालाई चलचित्रमा उजागर गरिएको गायिका सुनिता दुलालको भनाइ थियो । ‘यसमा हाँसो र रोदन दुवै छ । कलाकारले पात्र बाँचेका छन्, गीत-सङ्गीतमा संस्कृति झल्किन्छ । यत्तिको चलचित्र हेर्न दर्शक चलचित्र भवनसम्म आउनुपर्छ’, गायिका दुलालको भनाइ छ ।

चलचित्रका निर्देशक फूलमान वलले दर्शकझैँ निम्तालु अतिथिबाट प्रतिक्रिया पाएको जानकारी दिए । ‘नयाँ स्वाद, फरकपन पाएको प्रतिक्रिया पाएको छु । हेर्न आउनुभएका दर्शकले रूचाउनुभएको छ’, उनले भने ।

आयोजित विशेष प्रदर्शनीमा पूर्वमन्त्री बुद्धिमान तामाङ, परशुराम तामाङ, सांसद रोशन कार्की, युवासङ्घका अध्यक्ष छितिज थेवे, पूर्वराजदुत डा. गणेश योञ्जन, अभिनेत्री पल्पसा डङ्गोल, अभिनेता गजित विष्टलगायतले चलचित्र हेरेका थिए ।