काशी : मृत्युको तयारी र मुक्तिस्थलको यात्रा

काशी : मृत्युको तयारी र मुक्तिस्थलको यात्रा


योगी आदित्यनाथको प्रदेश र प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र बनारसमा बिहानीको अभिवादनदेखि रातिको अभिवादनसम्म ‘हरहर महादेव’बाट गरिन्छ । लुगा पनि प्रायः ओम, महांकाल, राम लेखिएका यौगिक रङ्गका लगाइने रहेछ । हिन्दु भएर माछामासु खान्छन् भन्ने कल्पना नगरिँदोरहेछ ।
✍ बबिता बस्नेत

मानिसको जीवनमा सबैभन्दा ठुलो त्रास मृत्यु हो । मलाई केही हुने हो कि ? म मर्छु कि ? कसरी मर्छु होला ? मेरो मृत्युको समय साथमा कोही होला कि नहोला ? चाहेर/नचाहेर मानिसको मनमा यस्ता प्रश्नहरू बेला-बेलामा उठ्ने गर्छन् । बिरामी हुँदा त झनै यो डरले फराकिलो रूप लिइदिन्छ र हामी बाँच्नका लागि अस्पताल जान्छौँ, औषधि खान्छौँ, देवीदेवता पुकार्छौं, सकेको प्रयास गर्छौं । यो संसारमा एउटा यस्तो ठाउँ छ जहाँ कतिपय हाम्रा पुर्खाहरू ‘यही ठाउँमा मर्ने हो’ भनी मृत्युको मानसिक तयारीका साथ पुग्ने गर्थे, त्यो हो- काशी । भारतको उत्तर प्रदेशमा पर्ने काशी बनारस र वाराणसीका नामले पनि चिनिन्छ । काशीमा अन्तिम सास फेर्दा सिधै मुक्ति पाइन्छ भन्ने मान्यताका कारण जीवनको उत्तरार्द्धमा मानिसहरू काशीबास जाने गर्थे, गर्छन् । हाम्रो देशको इतिहासमा राजपरिवार र राणाजीहरू आफ्नो राजकाज सकिएपछि या बीचैमा काशीबास गएका धेरै उदाहरण छन् । देशमा बस्दा अनेकौँ षडयन्त्रको सिकार हुनुपर्ला भनी काशी गएर उतै बसोबास गरेका घटनाहरू पनि छन् ।

इतिहास हेर्दा पृथ्वीनारायण शाहले वि.सं. १८०० मा नुवाकोट आक्रमणमा पराजय भोगेपछि आफ्नो पराजयका चार कारण भएको निष्कर्षसहित भारतका राजाहरूले कसरी शासन गरिरहेका छन् ? उनीहरूको विजय र पराजयको कारण के होला ? भनी बुझ्नका लागि पहिलो पटक बनारस यात्रा गर्ने निधो गरेको देखिन्छ । नुवाकोट आक्रमणमा पराजयको चार कारणमा सेनासँग आवश्यक हतियार नहुनु, नयाँ र जोशिला सेना नहुनु, दुई जना सेनापति हुनु र सेनामा भय तथा पराजयको मानसिकता हुनु भन्ने निष्कर्ष निकालिएको थियो । मुलतः सैनिक सक्षम भए देश सुरक्षित हुन्छ भन्ने उद्देश्यले हतियार बन्दोबस्त गर्न गएका भएपनि बडामहाराजा पृथ्वीनारायण शाहले काशीका राजासँग राम्रो सम्बन्ध बनाउन र धर्मपत्रहरू गर्न सफल हुनुभएको थियो । अहिलेको प्रतिबद्धता पत्र त्यतिबेलाको धर्मपत्र हो । त्यतिबेला काशीका राजाहरूका साथै पण्डित र धार्मिक गुरुहरूसँग पनि पृथ्वीनारायण शाहले धर्मसभा गर्नुभएको थियो । त्यतिबेला गरिने धर्मसभालाई अहिले बैठक र ठुला भए आमसभा भन्ने गरिएको छ ।

यही २०८० सालको जेठ २६ बनारस पुगेर नेपालको आफ्नै सम्पत्तिले निर्माण गरिएको घर, मन्दिर र कम्पाउण्डमा बस्दै गर्दा ‘माइण्ड’मा धेरै कुराहरू आए । काशीमा हाम्रो आफ्नै जग्गामा घर (धर्मशाला) रहेछ जहाँ वृद्धवृद्धा, विद्यार्थी र कर्मचारीहरू बस्दारहेछन् । पूजा गर्न आफ्नै पशुपति मन्दिर रहेछ र दाहसंस्कार गर्न आफ्नै घाट । ४४ डिग्रीको चर्को घाममा आफ्नै कम्पाउण्डमा रहेको पिपलको छहारीमुनि बसेर मनिकर्णिका घाटमा जल्दै गरेका शबहरू हेर्दै म ती तमाम पुर्खाहरूका बारेमा सोचिरहेकी थिएँ, जो मुक्तिका लागि महिनौँ लगाएर नेपालबाट काशी पुग्ने गर्थे । समय फेरियो, हामी अहिले काठमाडौंबाट ४५ मिनेटको हवाइयात्रामा काशी पुग्न सक्छौँ । बनारसस्थित लालबहादुर शास्त्री एयरपोर्टमा ओर्लिएपछि १ घण्टाको ड्राइभमा गङ्गा नदीको किनार पुगिन्छ, जहाँ नेपाल र भारतका विभिन्न स्थानबाट मानिसहरू भगवानको दर्शन गर्न, पर्यटकका रूपमा घुमघाम गर्न र कतिचाहिँ जिन्दगीको अन्तिम सास फेर्नका लागि पुग्ने गर्छन् । म एउटा नरमाइलो संयोगका क्रममा त्याहाँ पुगेकी थिएँ । मैले दिदी भन्ने र मान्ने इन्दिरा बस्नेत कोइरालाले करिब ५ वर्षअघि ‘तिमी, म र भिनाजु बनारस जानुपर्छ है’ भन्नुभएको थियो । भिनाजु ज्योति कोइराला जसलाई म कहिले भिनाजु त कहिले दाइ भन्ने गर्थें, उहाँले बनारसमै अध्ययन गर्नुभएको थियो । नेपालमा राजसंस्था र प्रजातन्त्र एकसाथ अघि बढ्नुपर्छ भन्ने मान्यता राख्नुहुने नेपाली काङ्ग्रेसका नेता तथा लेखक उहाँलाई पछिल्लो राजनीतिक वातावरणमा पछाडि धकेलिएको थियो । ‘भिनाजुलाई सबै कुरा थाहा छ गज्जब हुने भयो दिज्यु, मज्जाले घुम्नुपर्छ’ भनेकी थिएँ त्यतिबेला । हामीले भ्रमणको योजना बनाएको केही समयपछि भिनाजुलाई क्यान्सर भयो, बीचमा कोभिड भयो, रोग बढ्दै गएर गत वर्ष भिनाजुको देहान्त भयो । केही समयअघि दिज्युले फोन गरेर भिनाजुको श्राद्ध गर्न आफू र छोरीहरू जान लागेको बताउँदै मलाई पनि हिँड भन्नुभयो । कहाँ भिनाजुसँग ‘अनि भिनाजु यो ठाउँचाहिँ कस्तो हो नि… अनि त्यो ठाउँको बारेमा अलिकति भन्नु त…’ भन्दै हिँड्ने कल्पना गरेको भ्रमण कस्तो अवस्थामा सुरु हुँदै थियो…, दिज्यु र छोरीहरू पूजा कोइराला र डा. मेघा कोइराला श्राद्धका लागि अघिल्लो दिनदेखि नै एकछाक बसेका थिए, साथमा श्राद्धका सामाग्री, लाखबत्ती लगायतका सामान थिए । जिन्दगी सहज छैन र यसको कुनै भरोसा पनि छैन ।

नेपालीहरूले गर्ने काजक्रिया, श्राद्ध, पूजा सबै आफ्नै परिसरमा हुँदोरहेछ । काशीमा हाम्रो आफ्नै जग्गा र संरचना कसरी भयो त ? पृथ्वीनारायण शाहको बनारसयात्राकै क्रममा काशीका राजासँग उक्त जग्गा किनिएको रहेछ । पृथ्वीनारायण शाहपछि उहाँका माइला छोरा बहादुर शाह, राजा रणबहादुर शाह र राजा राजेन्द्रविक्रम शाह, रणबहादुर शाहका पत्नीहरू राजराजेश्वरी र ललित त्रिपुरासुन्दरी काशी गएका थिए । बनारसमा राजराजेश्वरी र ललित त्रिपुरासुन्दरीका नाममा छुट्टै घाट छ । ‘ललिताघाट’ नाम राखिएको उक्त घाट नेपाली घाटका रूपमा परिचित छ । रणबहादुर शाह एक वर्ष बनारस बस्दा धर्मशाला बनाउन सुरु गरिएको रहेछ । ललिताघाट चाहिँ राजेन्द्रविक्रम शाहको पालामा बनेको हो । ‘राजधर्म’लगायतका साहित्यको सिर्जनासमेत गरेकी ललित त्रिपुरासुन्दरीले राजमाताको रूपमा नाति राजेन्द्रविक्रम शाहको नायवी सम्हालेकी थिइन् । नेपालका राजाहरूले यो संरचना बनाउनका लागि जनताबाट घरधुरी एक रूपैयाँको दरले कर लिएको इतिहास रहेछ ।

नेपालकै कालिगढले नेपाली शैलीमा बनाएको पशुपति मन्दिर वि.सं. १८४५ मा बनाइएको हो । त्यतिबेला भएको दूरदर्शी निर्णय थियो त्यो, जसका कारण अहिलेसम्म हामी नेपालीहरू बनारस पुग्दा आफ्नै भूमिमा बसेको महसूस हुन्छ । रणबहादुर शाह आफ्नी कान्छी पत्नी कान्तवतीको मृत्युपछि मानसिक रूपमा विक्षिप्त भएर दोश्रोपल्ट काशी जाँदा भीमसेन थापा, दलभञ्जन पाण्डे, बलभद्र शाह र बालनरसिंह कुँवर पनि साथमा गएका थिए । राजाले त्यतिबेला ३२ थैली पैसा लिएर काशी गएको भन्ने छ । रानी राजराजेश्वरीले पनि आफ्ना सबै गहना र पैसा साथमा लगेकी थिइन् । त्यो पैसा खान बस्न मात्र नभइ नेपालीका लागि बनेको संरचनामा पनि खर्च गरिएको अनुमान गर्न सकिन्छ ।

यसरी पुर्खाले बनाएको संरचनाको हेरचाह नहुँदा बिस्तारै भारतीयहरूले कब्जा गरेर बस्न थालेछन् । धर्मशालाका कोठाहरूमा उनीहरू बसेर यो हाम्रै हो भन्न थालेपछि त्यहाँ बस्ने नेपालीले सरोकार राख्दै यो त हाम्रो जमिन हो, पुर्खाको प्रसाद हो भनेपछि एक प्रकारको द्वन्द्व भएछ तर उनीहरूले छोडेनछन् । यो कुरा काशी नरेश विभूति नारायण सिंहले थाहा पाएपछि ‘नेपाली धर्मशाला, मन्दिर र घाट भएको जमिन हाम्रा पुर्खाले तिमीहरूका पुर्खालाई दिएका हुन्, त्यो तिमीहरूको पुर्ख्यौली सम्पत्ति हो, अहिले केही भारतीय नागरिकले ठाउँ कब्जा गर्न लागेको सुनेँ, आफ्नो स्थानको सुरक्षा गर्नु होला’ भनेर राजा वीरेन्द्रलाई चिठ्ठी लेखेछन् । तर काठमाडौंले खासै खोजी गरेन । चिठ्ठी राजाको हातमा पऱ्यो/परेन थाहा भएन तर सचिवहरूको भने जानकारीमा रहेको तर वास्ता नगरेको भन्ने बुझिन्छ ।

चिठ्ठी पठाएको केही समयपछि नेपालमा २०४६ सालमा प्रजातन्त्र आयो । उता कब्जा जारी नै थियो । स्वामी ओमकारानन्द गिरी, डा. हरिप्रसाद अधिकारी, डा. गोपालप्रसाद अधिकारी, डा. आत्माराम गौतम, तुलसीराम आचार्य, प्रा. सुधांसुशेखर शास्त्री, सागर शर्मा, पं. पदमनाथ त्रिपाठी, आचार्य टेकनारायण पौडेल, डा. बलराम कँडेल लगायतका काशीमा बसेर विभिन्न क्षेत्रमा ख्याति कमाएका ब्यक्तित्वहरू र विद्यार्थीहरूले ब्यापक दबाब दिइरहे । पटक-पटक झडपको अवस्था पनि आएछ । एकै पटक २६ सय नेपालीहरू जम्मा भएर दबाब दिएपछि उनीहरूले ठाउँ छोडेछन् । पछि नेपाली परिसरसँगैको बाक्ला घर भएको जग्गा अधिग्रहण गरेर उक्त धार्मिक क्षेत्रलाई फराकिलो बनाउने क्रममा त्यहाँ दबाब दिने नेपाली नेताहरूलाई विभिन्न प्रलोभनहरू पनि गएछन् । उहाँहरूले लिएको अडानका कारण अहिलेसम्म उक्त क्षेत्र सुरक्षित छ । पछि गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वकालमा बजेट छुट्याएपछि उक्त क्षेत्र ब्यवस्थित बन्न पुगेको रहेछ । अहिले धर्मशाला र मन्दिर सञ्चालनका लागि संचालक समिति बनाइएको छ । समितिले ब्यवस्थापन हेर्छ, यो वर्ष पनि नेपालले धर्मशाला निर्माणका लागि बजेट छुट्याइएको छ । भवन पुरानो भएकाले त्यसलाई भत्काएर आधुनिक भवन बनाउन लागिएको सञ्चालक समतिका अध्यक्ष स्वामी ओमकारानन्द गिरीले जानकारी दिनुभयो । उहाँको भनाइमा सुविधा सम्पन्न आफ्नै भवन बनेपछि नेपालबाट काशी भ्रमणमा जानेहरूले बाहिर हेटलमा बस्नु पर्दैन, न्युनतम मूल्य लिएर राख्ने ब्यवस्था गरिने छ ।

कहाँ भिनाजुसँग ‘अनि भिनाजु यो ठाउँचाहिँ कस्तो हो नि… अनि त्यो ठाउँको बारेमा अलिकति भन्नु त…’ भन्दै हिँड्ने कल्पना गरेको भ्रमण कस्तो अवस्थामा सुरु हुँदै थियो…, दिज्यु र छोरीहरू श्राद्धका लागि अघिल्लो दिनदेखि नै एकछाक बसेका थिए, साथमा श्राद्धका सामाग्री, लाखबत्ती लगायतका सामान थिए । जिन्दगी सहज छैन र यसको कुनै भरोसा पनि छैन ।

काशी जानेहरूका लागि विश्वनाथ मन्दिरको दर्शन केन्द्रबिन्दु हुने गर्छ, त्यसपछि गंगा आरतीलगायत अन्य मन्दिर तथा धार्मिक स्थलहरूको दर्शन र भ्रमण । काशी विश्वनाथ मन्दिर परिसरलाई भगवान शिवको सबैभन्दा मनपर्ने स्थानका रूपमा लिइन्छ । भीड कति भने बिहान २ बजेदेखि बेलुका ११ बजेसम्म दर्शनार्थीहरूको त्यत्तिकै भीड लाग्ने रहेछ । काशी विश्वनाथ मन्दिरसँग कुनैपनि रूपमा जोडिनु आफैमा भब्य मानिने ठाउँमा गोल्ड मेडलिस्ट आचार्य टेकनारायण उपाध्याय पुजारीका रूपमा हुनुहुँदोरहेछ । त्यस्तो दिब्य स्थानमा आचार्य टेकनारायण उपाध्यायले लिनुभएको स्थान नेपालीका लागि गौरवको विषय हो । उहाँसँगको छोटो भेट अविश्मरणीय रह्यो । बनारस शास्त्री, पण्डित, गुरुहरूको अति नै सम्मान गरिने स्थान रहेछ । उहाँहरूले भनेको, बोलेको कुरा अकाट्य झैँ भएको देखियो । योगी आदित्यनाथको प्रदेश र प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र बनारसमा बिहानीको अभिवादनदेखि रातीको अभिवादनसम्म ‘हरहर महादेव’बाट गरिन्छ । लुगा पनि प्रायः ओम, महांकाल, राम लेखिएका यौगिक रङ्गका लगाइने रहेछ । हिन्दु भएर माछामासु खान्छन् भन्ने कल्पना नगरिँदोरहेछ । कसैले मासु खाने कुरा गरेको सुन्ने त कुरै भएन, सोच्न पनि गाह्रै होला जस्तो वातावरण रहेछ । शुद्ध साकाहारी खाना जता खाएपनि भयो । विगतमा फोहोर मानिने शहर अहिले योगी आदित्यनाथ र नरेन्द्र मोदी आएपछि सफा भएको र विकासका कामहरू धमाधम अघि बढेको स्थानीयबासीले बताए । बाराणसी एयरपोर्टभित्र छिर्नासाथ योगी र मोदीको फोटोले यात्रुलाई स्वागत गर्छन् । वाराणसी बीपी कोइरालादेखि कृष्णप्रसाद भट्टराई हुँदै पुष्पलालसम्मले निर्वासनमा लामो समय बिताउनुभएको ठाउँ हो ।

डा. वासुदेवकृष्ण शास्त्री र उहाँको परिवार यात्रामा सँगै भएको र उहाँले काशीमा लामो समय अध्ययन अध्यापन गर्नुभएकाले धेरै कुरा जान्ने, बुझ्ने अवसर मिल्यो । बनारसका विभिन्न विश्वविद्यालयमा नेपाली प्राध्यापकहरूको गौरवपूर्ण सहभागिता रहेछ । डा. गोपालप्रसाद अधिकारीको आत्मीय स्वागत, डा. हरिप्रसाद अधिकारीको घरमा न्यायो आतिथ्यता, आचार्य डा. ज्ञानेन्द्र सापकोटा, डा. विश्वनाथ धिताल, रोहित ढकालले दर्शाउनुभएको सौहार्द्धता उल्लेखनीय छ । सापकोटा भारतमा थोरै अग्नीहोत्रीमध्ये पर्नुहुनेरहेछ । डा. वासुदेव शास्त्रीको काशीमा छुट्टै नाम, पहिचान रहेछ । काशीमा रहेका ८४ घाटमध्ये मनिकर्णिका घाट र गंगा नदीमा साँझ हुने आरती काशीको चर्चा गर्नैपर्ने स्थान हुन् । शिवजीले आफ्नी पत्नी सतीको अन्तिम संस्कार गरेको घाटका रूपमा मानिने मणिकर्णिका घाटमा एकैपल्ट दर्जनौँ लाशको लाइन लाग्ने रहेछ । मणिकर्णिका घाटलाई महामसान घाट पनि भनिन्छ, जहाँ नगरवधुहरूले वर्षमा एक पल्ट नाचगान गर्छन् । लाश जलाउने ठाउँमा पनि उत्सव मनाइने अनौठो चलनको सुरुवात अर्को जन्ममा आफूले बेश्या बन्नु नपरोस् भन्ने चाहनामा महिलाहरूले नै गरेका रहेछन् ।

यसैगरी गंगा नदीमा हुने आरती प्रत्यक्ष हेर्नको लागि प्रत्येक साँझ हजारौँको भीड लाग्ने गर्छ । हिजोआज त्यस्तै आरती हाम्रो पशुपतिनाथ, पोखरा, जनकपुरलगायतका स्थानमा पनि हुने गरेको छ । उहिले हाम्रा पुर्खाहरू मृत्युको तयारीका लागि काशी जान्थे, मुक्ति पाउने आशामा मर्नकै लागि त्यहाँसम्म पुगेकाले मृत्युसँग डराउनु पर्ने कारण रहँदैनथ्यो । अहिले बाँच्नका लागि अस्पताल पुगेको बेला मर्नुपर्ने अवस्था आउँदा मृत्युबाट हामी आतङ्कित हुनु स्वभाविक नै हो । हामी प्रायः हतारमा यात्रा गर्छौं र यात्रामा पनि हतार नै गर्छौं । काशी बिनाहतार समय लिएर धेरै कुराहरूको आत्मसात गर्दै यात्रा गर्नुपर्ने स्थान रहेछ ।