नालामा फ्याँकिएको अवस्थामा बोराभित्र महिलाको शव

नालामा फ्याँकिएको अवस्थामा बोराभित्र महिलाको शव


तनहुँको व्यास नगरपालिका-४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ । उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताए । घटनास्थलमा प्रनाउ खाणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । उनले भने, ‘प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ ।’

व्यास नगरपालिका-४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो । ‘शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन’, प्रनाउ खाणले भने । उक्त बाटो हिँडडुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।