कुन नेताको पुँजी के हो ?

कुन नेताको पुँजी के हो ?


अनुहार र शारीरिक संरचनाका आधारमा हेर्दा संसारभरिका सबै मानिस उस्तै हुन्, मानिसबीचको भेद छुट्टिँदैन । दुई हात, दुई गोडा, ज्ञानेन्द्रीय र जनेन्द्रीयको समुच्च रूप मानिस हो । तर, जनावरको जस्तो शारीरिक संरचना र तिनका स्थायी विशेषताहरूको वर्णनले मात्र मानिसको पहिचान हुँदैन । शरीरले मानिस भए पनि तिनको बेग्लाबेग्लै पहिचान स्थापित गर्नमा व्यक्तिको आफ्नै भूमिकाले निर्णायक योगदान पुर्‍याउँछ । व्यक्तिको सोच, व्यवहार, कर्म, क्षमता, योग्यता, भूमिका आदिले व्यक्तित्वको एउटा विम्ब खडा गर्छ, त्यो विम्ब नै उसको छवि बन्छ र छवि नै व्यक्तिको पहिचान बन्ने गर्दछ । मानिस कस्तो प्रकारको हो भन्ने बुझनु भनेकै उसको छविबारे जानकारी राख्नु हो । कुनै धनबहादुरले कुनै गाउँमा चोरी गरेर चोरको छवि बनाएको हुनसक्छ, धनबहादुर नामकै अर्को कसैले सहरमा समाजसेवीको पहिचान बनाउन सक्छ । युधिष्ठिरको नाम लिँदा कसैको मन-मस्तिष्कमा बन्ने तस्बिर र तारकासुरको नाममा बन्ने तस्बिर उस्तै हुँदैनन् । स्वर्गका राजा इन्द्र, भगवान् कृष्ण, भीमसेन, अर्जुन, विष्णु, सिर्द्धार्थ गौतम, महिषासुर, सरस्वती, लक्ष्मी आदिको नामले कुनै अनुहारको नभई प्रवृत्ति अर्थात् तिनको चरित्रको प्रतिनिधित्व गर्दछ । मानसपटलमा कसैको बारेमा सिर्जना हुने तस्बिर नै सम्बद्ध व्यक्तिको विम्ब हो र विम्ब नै व्यक्तिको छवि हो, पहिचान हो । धर्तीमा पैदा भएका हरेकले आ-आफ्ना परिवेशमा आफ्नो छवि बनाएका हुन्छन्, राजनीतिमा क्रियाशील मानिसको निम्ति त उनीहरूको उपलब्धि भनेकै छवि हो, छवि नै तिनको पुँजी हो । राजनीतिकर्मीहरूको एक कालखण्ड छवि बनाउनमै बित्छ र त्यसपछिको तिनको समय त्यही छवि बिक्री गरेर बित्ने गर्छ । जसले आफ्नो छवि जति उत्तम बनाउन सक्यो त्यति नै उसको माग बढ्छ, माग बढेपछि भाउ बढ्नु स्वाभाविक मानिन्छ ।
अब्राहम लिङ्कन र जुनिएर बुस दुवै अमेरिकाका राष्ट्रपति हुन्, पदीय दृष्टिले दुवैको समान हैसियत र औकात हो, तर दुईबीच छविको अन्तर यति फराकिलो छ कि हाम्रो मानसपटलमा नितान्त भिन्नभिन्न विम्ब तयार हुने गर्छ । स्टालीन र गोर्वाचोभ, माओ त्से तुङ र देङ सियाओ पिङ, इन्दिरा गान्धी र मनमोहन सिंह आ-आफ्नो मुलुकमा सर्वोच्च पदीय हैसियतमा पुगेका नेता हुन्, तर तिनको आफ्ना मुलुकमा नितान्त बेग्लाबेग्लै पहिचान स्थापित भएको छ । तिनको सोच, व्यवहार, क्षमता र प्रवृत्तिले एउटा विम्ब सृष्टि गर्‍यो, विम्ब तिनको छवि बन्यो र छवि नै आज पहिचान बनेको हो । नेपालमा पनि वर्तमानमा क्रियाशील प्रमुख नेताहरूको बेग्लाबेग्लै छवि कायम छ । सुशील कोइराला, प्रचण्ड, रामचन्द्र पौडेल, झलनाथ खनाल, केपी ओली, माधव नेपाल, महन्थ ठाकुर, शेरबहादुर देउवा र विजयकुमार गच्छदारले बेग्लाबेग्लै पहिचान कायम गरेका छन् । राजनीतिक मात्र होइन सबै मानिसको जीवनमा छवि भन्ने कुरा यति महत्त्वपूर्ण हुन्छ कि छवि बिर्सेर भौतिक देहको मात्र कल्पना गरेर मानिसलाई बुझ्न सकिँदैन । सुशील कोइराला या महन्थ ठाकुरले पशुपतिको सत्तलमा साधु जीवन बिताउने निर्णय गरे भने मानिसहरूले तिनलाई अझै सम्मान र सहानुभूति दर्शाउन सक्छन् । तर, त्यही ठाउँमा विजयकुमार गच्छदार जाने भए भने पशुपतिमा सुनको गजुर देखेर यो मानिस त्यहाँ गएको हुनुपर्छ भन्ने अनुमान र टिप्पणी सुरु भइहाल्छ । यस्तो धारणा बन्नुमा छविकै करामत हो, त्यसैले राजनीतिकर्मीका निम्ति छवि नै पुँजी हो ।
संविधानसभामा सबैभन्दा ठूलो दलका मुख्य नेता प्रचण्ड कुनै बेला कुतूहलको पात्र बनेका थिए । आफ्नो क्रियाकलाप र सोचका कारण उनी विश्वको ध्यान आकृष्ट गर्न सफल भएका हुन् । ०६३ सालमा खुला राजनीतिमा आएपछि प्रचण्डको व्यक्तित्वले सबैको ध्यान आकृष्ट गर्‍यो, देशको युवापङ्क्तिले उनलाई एक ‘रोल मोडल’का रूपमा स्वीकार पनि गरेको हो । खुला राजनीतिमा पदार्पणपछिको आधी दशकमा अहिले प्रचण्डको स्पष्ट छवि कायम भएको छ । उनको तीक्ष्ण बुद्धि र क्षमता नकारात्मक अर्थात् विध्वंशात्मक काममा जति सफल देखियो रचनात्मक र सकारात्मक कार्यमा प्रचण्डलाई पूर्ण असफल मान्न थालिएको छ । कुनै बेला प्रचण्डपथलाई एउटा क्रान्तिकारी मार्गका रूपमा बुझिन्थ्यो, अहिले जालझेल, छलकपट, बदलिइरहने मौसमी कुरा र एकथोक बोलेर अर्कै काम गर्नुलाई प्रचण्डपथ भनेर बुझ्ने गरिन्छ । समय, परिस्थिति र आवश्यकताअनुसार प्रस्तुत हुनसक्नु प्रचण्डको विशेषता बनेको छ र यर्सथमा प्रचण्डको मुख्य पुँजी पनि त्यही नै हो । मौसमी कुरा गर्ने मानिस एक समय सबैलाई भुलभुलैयामा राख्न सफल भए पनि निश्चित कालखण्डमा मानिसको दृष्टिमा त्यस्ता व्यक्तिको साख ओरालो लाग्न सक्छ, प्रचण्ड अहिले यस्तै नियति भोगिरहेका छन् । पात्र र परिस्थितिलाई समय र आवश्यकताअनुसार उपयोग गर्न सक्नु प्रचण्डको अर्को क्षमता हो, यो क्षमता पनि उनको पुँजीकै रूपमा रहेको छ । समग्रमा प्रचण्डको छवि एक अविश्वसनीय तर रोमाञ्चक व्यक्तित्व भएका नेताका रूपमा कायम भएको छ । उनको कलाकारिता यसकारण पनि नेपाली राजनीतिमा अरू केही समय जीवित रहने किन देखिन्छ भने यसप्रकारको व्यक्तित्व भएको अर्का कुनै नेता प्रकट हुन सकेका छैनन् । त्यसैले छवि नकारात्मक बनिसकेको भए पनि राजनीतिमा प्रचण्डको औचित्य समाप्त भइसकेको ठानिँदैन ।
माओवादीका अर्का नेता मोहन वैद्य किरणलाई आफूले अङ्गीकार गरेको सिद्धान्तप्रति प्रतिबद्ध एक इमानदार नेताका रूपमा नेपाली समाजले स्वीकार गरेको छ । अत्यन्त साधारण जीवनशैली र गैरभ्रष्टाचारी चरित्रले वैद्यको सम्मान बढाएको छ । तर, आफूलाई समयानुकूल परिवर्तन गर्न नसक्ने एक ढीट नेताको छवि उनले बनाएका छन् । किरण आफूलाई बदल्न किमार्थ तयार हुने देखिँदैन र उनले समाज बदल्ने विश्वास पनि गरिएको छैन । तथापि एक स्वच्छ छविका इमानदार क्रान्तिकारी नेताको पहिचान उनले कायम गरेका छन्, यो नै उनको वास्तविक पुँजीको रूपमा रहेको छ ।
प्रधानमन्त्रीसमेत रहेका डा. बबुराम भट्टराईलाई देशले सादा जीवन उच्च विचारका नेताको रूपमा बुझेको हो । प्रधानमन्त्री बन्नुअघि भट्टराईलाई देशले खोजेको जस्तो नेताका रूपमा लिइन्थ्यो । माक्र्सवादी पोखरीभन्दा बाहिरको चिन्तन-क्षमता नदेखिएको भए पनि मानिसले उनलाई एक विद्वान् नेताका रूपमा स्वीकार गरेका छन् । उनको प्रभाव माओवादी पार्टीभन्दा बाहिर ज्यादा विस्तारित भएको छ र पार्टीमा जतिसुकै कमजोर भए पनि देशमा उनको एकै आह्वानमा हजारौं मानिस सडकमा आउनसक्ने हैसियत बाबुरामले बनाएका थिए र यो नै उनको पुँजी थियो । प्रधानमन्त्री भइसकेपछि उनको सार्वजनिक छविमा केही ग्रहण लागेको छ । यसका बाबजुद बाबुरामलाई व्यक्तिगत रूपमा एक असल नेताका रूपमा हेरिँदै छ । कुसाग्र बुद्धिका एक इमानदार नेताको रूपमा बाबुरामले जुन छवि बनाएका छन्, यो नै उनको पुँजीको रूपमा रहेको छ ।
नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालालाई निष्ठा र त्यागका प्रतिमूर्तिका रूपमा लिइन्छ । गिरिजाप्रसाद कोइरालाको सक्रिय कालखण्डमा उनी एकप्रकारले ओझेलमा परेका भए पनि अहिले पार्टी सत्ताको शीर्ष स्थानमा रहँदा पनि उनको जीवन शैली, सोच र व्यवहारमा कुनै परिवर्तन नआएपछि सुशीललाई देशको एक त्यागी नेताका रूपमा जनताले स्वीकार गरेका छन् । प्रजातन्त्रप्रतिको अगाध निष्ठा र त्यसका मूल्य-मान्यताप्रतिको अविचलित अडानले सुशीलको गन्तव्य र महत्त्वाकाङ्क्षा प्रजातन्त्र र देशबाहेक अरू केही नभएको पुष्टि गरिरहेको छ । विभिन्न कुनाबाट प्रधानमन्त्रीका निम्ति प्रस्ताव आउँदासमेत उनले त्यसको बेवास्ता गर्दै शान्ति र लोकतान्त्रिक संविधानका निम्ति जुन अडान प्रस्तुत गरिरहेका छन् यसले उनको उचाइ बढाएको ठानिन्छ । गतिशीलतामा कमी र प्रस्तुतीकरणमा प्रभावकारिताको अभावले उनको छविमा निखार आउन नसकेको भए पनि ‘सिम्लिसिटी’ साधारण जीवनशैली, इमानदारी, निष्ठावान चरित्र र गैरसत्तामुखी सोचले सुशीलको छवि उजिल्याएको छ, यो नै उनको पुँजी हो ।
रामचन्द्र पौडेललाई पनि देशका एक स्वच्छ छविको नेताका रूपमा लिइन्छ । एक विचारक, चिन्तक, लोकतन्त्रप्रति प्रतिबद्ध र इमानदार नेताका रूपमा पौडेलको छवि कायम भएको छ । पौडेललाई नजिकबाट चिन्नेहरूमध्ये कतिपयले उनलाई सानो चित्तका सङ्कीर्ण नेता पनि भन्ने गरेका छन् । तर, प्रजातन्त्र, राष्ट्र र पार्टीको बृहत्तर हितमा पौडेल कहिल्यै चुकेका छैनन् । पटक-पटक मन्त्री, उपप्रधानमन्त्री भएर पनि भ्रष्टाचारको आरोपबाट जोगिन सक्नुलाई नेपालमा सामान्य मानिँदैन, यर्सथमा पौडेलको छवि असामान्य मानिन्छ । समग्रमा रामचन्द्र पौडेल सानो संसारमा रम्ने, स्पष्ट र दृढविचार राख्ने इमानदार नेता हुन् । यही पुँजीले पौडेललाई देशको प्रधानमन्त्री बन्ने तहसम्म पुर्‍याएको छ ।
काङ्ग्रेसका अर्का नेता शेरबहादुर देउवा व्यक्तिगत व्यवहारमा सरल र सहज छन् । विवाहअघिसम्म देउवाको व्यक्तित्व आँखामा राख्दा पनि नबिझाउने खालको मानिन्थ्यो । पटकपटक प्रधानमन्त्री हुँदै जाँदा उनको भूमिका र कार्यशैलीले देउवाको छविमा पनि भारी परिवर्तन ल्याइदिएको छ । कुनै समय बीपीका विचारप्रति प्रतिबद्ध मानिने उनी अहिले सत्ताकेन्द्रित राजनीतिमा सीमित भएका छन् । सत्तालाई सर्वोपरी ठान्ने देउवाले अहिले आफू पुन: प्रधानमन्त्री बन्दै छु भन्ने सन्देश फैलाएर आफ्नो राजनीति जोगाउन चेष्टा गरिरहेको ठानिन्छ । बोलीमा लठेब्रोपनले देउवाको चातुर्यलाई छोपछाप गर्न योगदान पुर्‍याएको छ । त्यसैले देउवासँग भेट्नेहरू उनको प्रस्तुति सुनेर एक सोझा, साधारण र सरल एवम् सहज व्यक्तिका रूपमा उनलाई बुझ्ने गर्छन् । वास्तवमा देउवा सुन्दा र हेर्दा देखिएजस्तो सोझा प्रकृतिका नभई अत्यन्त चतुर नेता हुन् । आफ्नो ‘कृत्रिम सोझोपन’लाई समेत उनले सिद्धिप्राप्त गर्ने पुँजीको रूपमा उपयोग गरिरहेका छन् । सत्ताका निम्ति जस्तोसुकै सम्झौता गर्न पनि तयार रहनुलाई देउवाको अर्को विशेषता मानिन्छ । कुनै समय अतिदक्षिणपन्थीहरूसँग र कतिपय अवस्थामा अति वामपन्थीहरूसँग मात्र होइन, सत्ताका लागि भ्रष्ट नेता र सांसदहरूसँग विगतमा गरेका सम्झौताले देउवा सत्ताकेन्द्रित राजनीतिलाई सर्वाधिक महत्त्व दिन्छन् भन्ने पुष्टि गरेको छ । त्यसैले पछिल्लो समयमा देउवाको छवि एक सत्तामुखी धनाढ्य नेताको बनेको छ ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल देशले आशा गरेका नेता होइनन् । मधुरवाणी, भद्रपन र खाइलाग्दो देहगत विशेषता उनको छवि हो । र, यो नै उनको पुँजी पनि हो । प्रधानमन्त्री पद प्राप्त गर्न खनालले प्रस्तुत गरेको व्यवहार र अभिव्यक्तिले उनमा रहेको महत्त्वाकाङ्क्षा छचल्क्याएको थियो । जे भए पनि राष्ट्रवादी सोच र आकर्षक व्यक्तित्वलाई झलनाथ खनालको पुँजीका रूपमा लिने गरिन्छ । प्रधानमन्त्री भएपछि पनि उनी बद्नाम भएनन्, निष्ठाको राजनीति त्यागेका हुन् कि भन्ने आशङ्का गरिए पनि अन्तत: उनले आफ्नो पार्टी एमालेप्रतिको निष्ठा व्यवहारत: दर्शाएका छन् । यर्सथमा झलनाथलाई अब्बल दर्जाका नेता नमानिए पनि ‘अड्को पड्को तेलको धूप’का रूपमा देशले उपयोग गर्न सक्ने नेताको छवि उनले कायम राखेका छन् ।
माधवकुमार नेपाललाई गैरभ्रष्टाचारी र साधारण जीवनशैलीका सरल नेताको रूपमा लिइन्छ । तर, उनी सस्तो लोकप्रियताप्रति आकरि्षत, हल्का र ससाना कुराले पनि प्रभाव पार्नसक्ने व्यक्तित्व भएका नेता हुन् । सत्ता-सुख सबै चाहने प्रवृत्तिका भए पनि उनी आफूप्रति अत्यन्त सचेत छन् । सही-गलत के हो त्यसलाई गहिराइमा बुझेरभन्दा पनि अरूले के भन्छन् भन्ने कुराबाट प्रभावित भएर उनी निर्णय लिने गर्छन् । त्यसैले उनका निर्णयहरू हावामा तैरिएको पीपलको पातझैं यता र उता पल्टिरहन्छन् । आलोचना सहन सक्ने क्षमता माधव नेपालमा देखिँदैन । परिस्थितिअनुसार चल्ने उनको प्रवृत्तिले नेपाललाई हल्का र अविश्वसनीय बनाएको छ । तर, असहज स्थितिमा काम चलाउ भूमिकाका निम्ति भने उनलाई ठीक मानिन्छ, सायद उनको पुँजी पनि यही नै हो ।
एमालेका बहुचर्चित नेता केपी शर्मा ओलीले विषयलाई बुझ्न सक्ने, बुझेका कुरा सुस्पष्ट रूपमा कलात्मक किसिमले प्रस्तुत गर्ने स्पष्ट विचारका नेताको छवि बनाएका छन् । उनमा धनप्रतिको मोह र पदप्रतिको आशक्ति देखिँदैन । बरु कतिपय गम्भीर विषय-सन्दर्भमा पनि लापरबाह रहने उनको विशेषता रहेको छ । व्यवहार र जीवनशैली सरल र साधारण, तर समयप्रति सधैं असंवेदनशील रहनु ओलीको अर्को विशेषता हो । मानिसको दिल र दिमाग नै थर्कनेगरी विषयलाई प्रस्तुत गर्न सक्ने क्षमतालाई ओलीको मूल पुँजी मानिन्छ । गैरभ्रष्टाचारी चरित्रका उनलाई देश जिम्मा लगाउँदा कस्तो होला भन्ने जिज्ञाशा राख्नेहरूको सङ्ख्या मुलुकमा रामै्र रहेको मानिन्छ ।
मधेसी मोर्चाका नेता महन्थ ठाकुरलाई अति साधारण, सरल, सहज र इमानदार एवम् निष्ठावान व्यक्तिका रूपमा लिइन्छ । उनको गैरभ्रष्टाचारी चरित्रका कारण पूर्वीमधेसमा महन्थलाई महात्मा गान्धीको उपमा दिने गरेको पनि पाइन्छ । तर, क्षेत्रीयतावादी सोचले उनको व्यक्तित्वलाई राष्ट्रव्यापी बन्न अड्चन पैदा गरेको छ । सीमित क्षेत्रमा ठाकुरको महानताको चर्चा हुने गरे पनि समग्र मुलुकमा भने उनको चरित्रअनुसारको छवि कायम हुन सकेको छैन । मधेसका केही जिल्लाबाहिर उनी अन्य कतिपय जस्तै क्षेत्रीयतावादी व्यक्तिका रूपमा मात्र परिचित छन् । उनको इमानदारी र निष्ठापूर्ण व्यक्तित्वलाई राष्ट्रव्यापी बनाउन नसक्नुमा उनी आफैं जिम्मेवार मानिन्छन् । क्षेत्रीयतावादी सोचलाई पुँजी नबनाएर राष्ट्रिय चिन्तनधारामा आफूलाई समर्पित गर्न सकेका भए आज डा. रामवरण यादव रहेको स्थानमा महन्थ ठाकुर हुन असम्भव थिएन ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्रीसमेत रहेका विजयकुमार गच्छदार फोरम लोकतान्त्रिकका मुख्य नेता हुन् र पछिल्लो समयमा उनले आफूलाई रामचन्द्र पौडेल, बाबुराम भट्टराई र माधव नेपालसरहकै नेता ठान्न थालेका हुन् कि भन्ने देखिएको छ । तर, उनको हैसियत राजनीतिकभन्दा प्राविधिक कारणले मात्र उचालिएको ठानिन्छ । विजय गच्छदारलाई भ्रष्टाचार र विसङ्गतिको विम्ब मानिन्छ भन्ने सायद उनले जानकारी पाउन सकेका छैनन्, उनलाई सकारात्मक रूपमा ग्रहण गर्न देशको प्रबुद्ध समुदाय र सर्वसाधारण तयार छैनन् । राजनीतिको नकारात्मक पात्रको कल्पना गर्दा मानिस अरू केहीसँगै गच्छदारलाई पनि सम्झने गर्छन् । आफूले खडा गरेको सञ्जालभित्र विजय गच्छदारलाई देवता मान्नेहरू पनि होलान्, तर त्यस्ता मानिसको सङ्ख्या धेरै सानो छ । गच्छदार पहिले शुद्ध प्रजातन्त्रवादीको भूमिका थिए र उनी सिङ्गै मुलुकको नेताका रूपमा स्थापित हुँदै थिए । गिरिजाप्रसाद कोइरालाका लेफि्टनेन्टका रूपमा चिनिने उनले त्यसबेला कोइरालाबाट के-के सिके कुन्नि ! उनको पछिल्लो पहिचान क्षेत्रीयतावादी, जातिवादी, सत्तामुखी र राजनीतिलाई व्यापारका रूपमा उपयोग गर्न सक्ने सफल कलाकारका रूपमा कायम भएको छ । उनको आफ्नो सोच र व्यवहारकै कारण उनी जोगी भएर पशुपतिमै बस्न गएछन् भने पनि मन्दिरको खजाना र गजुरचाहिँ जोगाउनुपर्छ भन्ने जनधारणा बन्न गएको छ । त्यर्सथ उनको पुँजी यही पहिचान बन्न पुगेको छ ।