ग्रीसको पेलोपोनी नदीमा माछा मार्ने डुङ्गामा डुब्दा यसमा सवार कम्तीमा ७८ आप्रवासीको मृत्यु भएको ग्रीसको तटरक्षक बलले जनाएको छ ।
आयोनियाली सागरमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा डुङ्गा पल्टिएपछि करिब सय जनालाई उद्धार गरिएको तटरक्षक बलले जनाएको छ । बताइएअनुसार माछा मार्ने डुङ्गामा अत्यधिक मानिस सवार थिए ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले ठूलो सङ्ख्यामा हराइरहेका व्यक्तिहरू रहेको स्वीकार गर्दै एक ट्वीटमा भनेको छ, ‘हामीलाई डर छ कि धेरै मानिसहरूको ज्यान गएको छ । प्रारम्भिक रिपोर्टअनुसार जहाजमा ४०० को हाराहारीमा यात्रु सवार थिए ।’
ग्रीसका राष्ट्रप्रमुख, राष्ट्रपति कटरीना साकेलारोपोलोउले उद्धार र आवास प्रतिकार्यका बारेमा वरिष्ठ अधिकारीहरूसँग छलफल गर्न बुधबर पछि कलामाटा बन्दरगाहको भ्रमण गर्ने बताएका छन् ।
सन् १९९३ को एएफपीको रेकर्डअनुसार ग्रीसमा सबैभन्दा धेरै मानिस (आप्रवासी)को मृत्यु भएको त्रासदीपूर्ण घटना सन् २०१६ मा भएको थियो । उक्त घटनामा कम्तीमा ३२० जनाको मृत्यु भएको वा बेपत्ता भएको उल्लेख गरिएको थियो ।
आईओएमले बुधबारसम्म पूर्वी भूमध्यसागरमा हराएका ४८ आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उद्धारकार्यमा नौसेनाका जहाजका साथै सेनाको एउटा विमान, हेलिकप्टरका साथै त्यस क्षेत्रमा रहेका अन्य ६ वटा डुङ्गा पनि प्रयोग गरिएको छ ।
कोस्टगार्डले भनेको छ, ‘बुधबार बिहानैदेखि पाइलोसमा ठूलो सङ्ख्यामा आप्रवासीलाई लिएर माछा मार्ने डुङ्गा पल्टिएपछि उद्धार कार्य व्यापक बनाइएको छ ।’
ग्रीसका सञ्चारमाध्यमका अनुसार बन्दरगाहको अस्पतालमा करिब ३० जनालाई लगिएको छ तर तटरक्षकबलले यो सङ्ख्या चारजनामा सीमित गरेको छ । युरोपको फ्रन्टेक्स एजेन्सीको एक सर्भिलेन्स प्लेनले मङ्गलबार दिउँसो डुङ्गा देखेको थियो तर यात्रुहरुले कुनै सहयोग गर्न अस्वीकार गरेका थिए ।
डुङ्गामा सवार कसैले पनि लाइफ ज्याकेट नलगाएको र आफ्नो राष्ट्रियता तत्काल नखुलाएको बताइएको छ । ती आप्रवासीहरू लिबियाबाट इटालीतर्फ प्रस्थान गरेको एएफपीले जनाएको छ ।
प्रतिक्रिया