असन्तुलित जलबायु र उकुसमुकुस राजनीति !

असन्तुलित जलबायु र उकुसमुकुस राजनीति !


मुलुकमा चुलिँदै गएका सामाजिक, आर्थिक एवम् राजनीतिक समस्याको ‘गर्माहट’को तह घट्नेभन्दा अत्यास जगाउने दिशातर्फ नै बढ्ने अनुमान यतिबेलाको समग्र परिस्थितिका आधारमा लगाउन सकिन्छ ।

सरकारले मुलुक र जनताप्रति निर्वाह गर्नुपर्ने आफ्ना तमाम जिम्मेवारी बहन गर्न नसकेको भन्दै जनस्तरमा असन्तुष्टि जागृत हुने क्रम पछिल्लो समय बढेको छ । आर्थिकरूपले देश जर्जर हुँदै गएको कुरा संसददेखि सडकसम्म, सामाजिक सञ्जालदेखि पत्रपत्रिकासम्म उठ्दै आएका छन् । महँगीले न्युन आय भएकालाई मात्र नभइ मध्यमवर्गदेखि हुनेखाने भनिएको तहसम्म नै सताउन थालेको अवस्था छ । शासक वर्ग तथा कर्मचारीतन्त्रको विधि-व्यवहार भने यस्ता विषयप्रति संवेदनशील रहेको पटक्कै प्रतीत नहुनु आश्चर्य र विडम्बनाको विषय हो ।

जलबायुमा आएको असन्तुलनका कारण उत्पन्न प्रचण्ड गर्मीसँगै प्रधानमन्त्री प्रचण्डका पछिल्ला कतिपय व्यवहार वा गतिविधिले पनि राजनीतिक माहोल तताएको छ । प्रधानमन्त्रीबाट भारत भ्रमणका क्रममा कतिपय मामलामा गम्भीर त्रुटी भएको भनी गरिएका आलोचनाको राप घटेको छैन । खासगरी ‘उर्जा’सम्बन्धित मामलामा राष्ट्रघातकै तहमा ओर्लिएर छिमेकी भारतसँग व्यवहार गरेको भन्दै एक पक्षले प्रधानमन्त्री प्रचण्डको चर्को विरोध गरिरहेको छ । भारतसँग उठाउनैपर्ने विषयमा कुनै कुरा नउठाइएको र कमजोर प्रस्तुतिका कारण भारत नेपालमाथि झनै ‘हाबी’ हुन पुगेको आलोचकहरूको आरोप छ । भ्रमणका क्रममा भए-गरेका कतिपय व्यवहारलाई लिएर समेत टीका-टिप्पणी भएका छन् । प्रधानमन्त्रीले भारत भ्रमण अत्यन्त भव्य र सफल भएको दाबी गर्दैगर्दा त्यसलाई ‘हास्यास्पद’ संज्ञा दिएर विारेध र आलोचनाको जुन माहोल पैदा भएको देखियो, यो सरकारको अलोकप्रियता र असफलताको द्योतक हो भन्दा अतिरञ्जना ठहरिने छैन ।

हो, प्रतिपक्षी दलहरूले जुन कोण वा तहबाट विरोध गरिरहेका छन्- सरकार यसलायकको नहोला । वर्तमान सरकारका केही मन्त्रीहरूले गरेका या गर्ने प्रयास गरेका काम-कारवाही प्रशंसनीय पनि छ । निरास नेपालीजनको मनमा आशा जागृत गराउन केही हदसम्म यी मन्त्रीका काम-कदम सफल मानिएका छन् । तर, सिङ्गो सरकारको छवि उजिल्याउन एक-दुई मन्त्रीका दुई-चार कर्मबाट सम्भव हुने कुरा होइन । सम्बन्धित मन्त्रीको छवि उनका कर्मबाट उकासिनु स्वाभाविक भए पनि सरकार वा प्रधानमन्त्रीमाथि लागेका दागको सफाइ त्यसबाट हुन सक्दैन । यसका लागि प्रधानमन्त्री प्रचण्ड स्वयमको कायाकल्पका लागि तत्पर हुनुपर्छ । विगतका खराब कर्म, कमी-कमजोरी मनन गरेर मात्र पुग्दैन, जनसमक्ष त्यसलाई स्वीकार गर्दै नयाँ भविष्यको लागि अग्रसर हुन लागेको विश्वसनीय व्यवहार प्रकटको ‘साहस’ दर्शाउन सक्नुपर्छ । देश-दुनियाँलाई भ्रमित पार्ने निम्नस्तरको स्वभावबाट मुक्त हुर्नैपर्छ । तर, प्रधानमन्त्री प्रचण्डबाट सहजै आफ्नो कायाकल्पको प्रयास हुन सक्ने कल्पना गर्न कठिन छ । कसैको चित्त दुख्ला भनेर नक्साको कुरा नउठाएको, कसैलाई खुशी पार्न गेरुबस्त्र पहिरिदिएको जस्ता अभिव्यक्ति दिएर जनमानसलाई भुलभुलैयामा पार्न खोज्ने पात्रबाट जीवनको उत्तरार्द्धमा एकाएक आफूलाई बदल्ने/सुधार्ने साहस दर्शिएला भनीठान्नु प्रकारान्तरले मृगतृष्णा नै सावित हुनेछ ।

यस कोणबाट भन्नुपर्दा जसरी बिग्रिएको पर्यावरणले क्रमशः विश्वब्यापी रूपमै चिन्ता र त्रास पैदा गरिरहेको छ, मुलुकमा चुलिँदै गएका सामाजिक, आर्थिक एवम् राजनीतिक समस्याको ‘गर्माहट’को तह पनि घट्नेभन्दा अत्यास जगाउने दिशातर्फ नै बढ्ने अनुमान यतिबेलाको समग्र परिस्थितिका आधारमा लगाउन सकिन्छ । विपक्षी दलहरूको विरोध त आफ्नै ठाउँमा छँदैछ, यतिबेला सत्ता-गठबन्धनभित्रैबाट पनि असन्तुष्टि र विद्रोहका धम्की प्रकट हुन थालेका छन् । देशको राजनीति झनै अस्थिरताको अँध्यारो सुरुङभित्र प्रवेश गर्दैछ भन्न सकिने सङ्केतहरू मिलेका छन् । वतावरणीय उष्णतासँगै तातिँदै गरेको राजनीतिक परिवेशले मुलुकलाई कुन गर्तमा हुत्याइदिने हो, विष्मयको विषय भनेको छ ।