जेम्स प्रधान निर्देशनमा

जेम्स प्रधान निर्देशनमा


नेपाली सङ्गीतमा गायक, सङ्गीतकार, एरेञ्जरलगायतको परिचयद्वारा स्थापित जेम्स प्रधान अब निर्देशक बनेका छन् । उनले निर्देशन गरेको छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’को काठमाडौंमा आयोजित एक समरोहमा विशेष प्रदर्शनी गरियो । एउटै कथालाई गीत र छोटो चलचित्रमा प्रस्तुत गरेका गायक प्रधानले आफू इन्टरनेटको माध्यमले चलचित्रको विधालाई नजिकबाट नियालीरहेको जानकारी दिए ।

‘यो मेरो दोस्रो छोटो चलचित्र हो । म धेरै चलचित्र हेर्छु, त्यही कारणले निर्देशक बन्न पुगेँ’, जेम्स भन्छन्- ‘धेरै चलचित्र कागजमा मैले लेखिसकेको छु । त्यही प्रभावले पनि यसपटक निर्देशकसँगै लेखनमा पनि आफैँ छु ।’ उनले यो तयारी ठूलो पर्दाको लागि रहेको सङ्केत गरे ।

“म चलचित्र निर्देशन गर्छु, तर कहिले अहिले भन्ने अवस्था छैन । यसलाई त्यसकै सुरुआतको रुपमा समेत बुझ्न सकिन्छ”, गायक प्रधानले भनेका छन् । उक्त छोटो चलचित्रमा समिशन जिसी र बेदना राईले अभिनय गरेका छन् ।

यसमा श्याम तामाङले छायाङ्कन, कपिल पराजुलीले रङ्ग संयोजन, जेसिका प्रधानले सम्पादन गरेका छन् । कार्यक्रममा उपस्थित निर्देशक राजेन्द्र शलभले गायक प्रधानमा पहिलेदेखि नै विविध क्षमता रहेको बताए । उनले भने, ‘मैले उहाँमा गायनसँगै कथ्य शैलीको विकसित रुपलाई पाएको छु । म निर्देशक भएकाले पनि मलाई त्यो प्रतिभा पहिचान गर्न गाह्रो भएन ।’

अभिनेता तथा मोडल प्रशान्त ताम्राकारले छोटो चलचित्र हेरेपछि नियमित भन्दा फरक महसूस गरेको प्रतिक्रिया दिए । ‘निर्देशकीय पक्ष र कलाकारको काम सबै राम्रो छ । कलाकार पनि भएकाले उहाँको निर्देशनमा काम गर्ने रहर जाग्यो’, अभिनेता ताम्राकारले भने । कार्यक्रममा उपस्थित गायक योगेश्वर अमात्य, सचिन रौनियार, प्रसन्नध्वज प्रधान, भीम तुलाधर, सङ्गीतकार न्हू बज्राचार्य, निर्देशक सुव्रतराज आचार्य लगायतले गायक प्रधानको निर्देशकीय पक्ष र कथ्य शैलीको प्रसंसा गरेका थिए ।