ब्राजिलमा आँधीका कारण १३ जनाको मृत्यु, ८० हजार विस्थापित

ब्राजिलमा आँधीका कारण १३ जनाको मृत्यु, ८० हजार विस्थापित


ब्राजिलको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा १३ पुगेको छ । आँधीका कारण हजारौँ व्यक्ति विस्थापित भएका अधिकारीहरूले सोमबार बताएका छन् ।

बिहीबार र शुक्रबार रियो ग्रान्डे डो सुल राज्यमा आएको आँधीका कारण १३ जनाको मृत्यु भएको छ भने अन्य तीन जना अझै सम्पर्कमा नआएको सम्बन्धित अधिकारीले बताए ।

मृत्यु हुनेमा एक चार महिनाको शिशु रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

साओ लियोपोल्डो शहरकी एक महिलालाई उद्धृत गर्दै एस्टादाओ पत्रिकाले जनाएअनुसार घरभित्र बसेका मानिसको कम्मरसम्म पानी आयो, अग्निनियन्त्रकहरू तुरुन्तै आए र डुङ्गामा चढाएर बाहिर निकाले । एउटा अकल्पनीय सपनाजस्तो घटना भएको स्थानीयवासीको भनाइ छ । अलपत्र परेकाहरुलाई हेलिकप्टरबाट बाहिर निकालिएको छ ।

आँधीपछि आएको बाढीका कारण डुबानमा परेका सयौँ मानिसलाई हेलिकप्टरबाट पानी बाहिर निकालिएको छ । आँधीका कारण करिब पाँच हजार परिवार घरवारविहीन बनेका छन् भने झण्डै एक लाख व्यक्ति विद्युतीय सेवाबाट बञ्चित बनेका छन् ।

बिहीबारदेखि शुक्रबारसम्म आएको चक्रवातका कारण जाखिममा रहेका करिब ८० हजार व्यक्तिलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ ।