यी हुन् ‘जनप्रतिनिधि’ !

यी हुन् ‘जनप्रतिनिधि’ !


✍ राजबाबु शंकर

देशका अधिकांशजसो ठाउँमा राज्यको उपस्थिति जनताको सेवक होइन, बरु जनतालाई दुःख-सास्ती दिने ‘शोषक’का रूपमा स्थापित छ । मुलुकका विपन्न नागरिक शिक्षा, स्वास्थ्य, पानी, रोजगारी जस्ता संविधानप्रदत्त मौलिक हकबाटै वञ्चित हुन पुगेका छन् । समग्र अर्थतन्त्रको लाभ नाफाखोर चरित्रका निजी क्षेत्र र बिचौलियालाई सुम्पिनेगरी सरकारमा पुगेका दलीय मुखियाहरूले नीति बनाइदिंदा पिँधका जनता झनै तन्नम बनिरहेछन् ।

यथार्थ के हो भने, २०७८ सालको जनगणना अनुसार करीब २२ लाख युवाले वर्षेनी पठाउने विप्रेषण वापतको १० खर्ब रूपैयाँ आउँदैनथ्यो भने मुलुकमा हाहाकार भइसक्थ्यो । सरकारमा पुगेकाहरू बेरोजगार जनताको समस्या समाधान गर्न होइन, तिनबाट ‘कूत’ असुल्न उद्यत छन् । फलस्वरूप राज्य नागरिकमाझ पीडा दिने संयन्त्रका रूपमा कुख्यात बन्न पुगेको हो । जनताप्रतिका कैयौँ आधारभूत दायित्वबाट पन्छिएर राज्यका दलीय मठाधीशहरू त ‘सहमति’को रामनामी ओढेर केवल सत्ता र भागबण्डाको घ्यू खान उद्यत छन् !

कमजोर बनेको अर्थतन्त्र, बढ्दो बेरोजगारी, कर्मचारी लगायत प्रायः सबै प्रमुख राजनीतिक दलहरूको अकुत भ्रष्टाचार र कमिशनखोरीमा संलग्नता, व्यापारिक एकाधिकारवाद, वातावरण विनाश, प्राकृतिक संसाधनको चरम दोहन तथा तिनका विदेशी प्रभुका सामू ‘लम्पसार’ पर्ने गतिछाडा/हुतिहारा चाला अब असामान्य बनेको अवस्था हो ।

त्यसैले केवल सत्ता र शक्तिलाई सर्वोपरि ठान्ने विकृत राजनीतिको ‘अति’ रोक्न अब सामुदायिकतालाई बढावा दिन आवश्यक भएको छ । सामुदायिकताको हातेमालोले मात्रै देशलाई अब अघि बढाउन मद्दत पुग्छ । सामूहिक यत्न कसिलो बनाउने हो भने त्यो नै हाम्रो जीवनको रक्तसञ्चार हुन सक्छ, जसले जनमन बीचको सौहार्द्रता र विश्वासलाई जीवन्त राखिरहन्छ । र, त्यस्तो सामुदायिक अभ्यासले जनताको जीवनदैनिकीलाई सुरक्षित रूपमा परिवर्तित गराउने हिम्मत (ऊर्जा) दिन्छ ।

सामुदायिक हातेमालोको ज्वलन्त नमूना धरान उपमहानगरमा प्रदर्शित भएको छ । जसलाई ‘साम्पाङ मोडल’ भन्न थालिएको छ । धरानका मेयर हर्क साम्पाङ स्वयम् सशरीर खटेर समुदायलाई साथमा लिएर फत्ते गरेको खानेपानीको प्रारम्भिक चरणको सफलता हो- ‘साम्पाङ मोडल’ । जसको यतिबेला भरपूर प्रशंसा भइरहेको छ । धरानबाट लगभग ४० किलोमिटर दूरीमा पर्ने कोकाहा खोलाको पानी पाइपबाट धरानको पकुवामा ल्याइपुऱ्याउने धरानका मेयर हर्कको अभियान कम चुनौतिपूर्ण र महत्वाकांक्षी थिएन, तर धराने समुदायको अपार आर्थिक-पादार्थिक सहयोगसँगै अपूर्व भौतिक सहभागिता समेत रहेको सो अभियानले अब करीब ३० हजार धराने उपभोक्तालाई राहत पुग्ने सुखद नतिजा दिएको छ । निर्वाचित अन्य दलीय जनप्रतिनिधिहरूको बारम्बार असहयोग मात्रै होइन, भाँजो नै हाल्ने कर्तुतका बाबजुद कैयौं वर्षदेखि काकाकूल झैं बनिरहेका धरानबासीको तिर्खा मेट्न केही हदसम्म सफलता प्राप्त गरेको छ ।

दलीय भिजिलान्तेहरूले हालसम्म जनताबीच गर्दै आएको नखरा, नौटंकी र ठगी कुन हदसम्म रहेछ भन्ने पनि यी केही मेयरका अभियानहरूले पर्दाफास गरिदिएको छ ।

‘भोकै काम गर्ने श्रमदाता र सहयोगी दाता’को देन रहेको बताउने मेयर हर्कले कोकाहा खानेपानी अभियानका लागि ४ करोड रूपैयाँभन्दा बढी आर्थिक तथा पाइप, खाद्यान्न लगायतमा सहयोग जुटेको बताएका छन् । प्रत्येक शनिबार ५ हजारभन्दा बढी धरान र धरान बाहिरबाट समेत उत्साहका साथ श्रमदाता आउने गरेका थिए । त्यसो त साम्पाङले श्रमदानबाट पूरा गरेको आयोजना यो मात्र होइन । यसअघि पनि पकुवा, सर्दु, निसाने लगायतका खोलाको पानी श्रमदान अभियानबाटै ल्याउन सफल भइसकेका छन् । कुनै पनि काममा इमान्दारीपूर्वक लाग्ने हो भने त्यसका लागि आर्थिकदेखि अन्य सहयोग सजिलै जुट्न सक्छ भन्ने कुरा साम्पाङले प्रमाणित गरिदिएका छन् ।

यसै पंक्तिमा काठमाडौं महानगरका मेयर बालेन साह पनि पर्दछन् । उनले शिक्षा, स्वास्थ्य र स्थानीय विकासका निम्ति जस्तो प्रशंस्य अभियान चलाइरहेका छन्, त्यसले नगरका इमान्दार जनप्रतिनिधिले चाहँदा जे पनि सम्भव छ भन्ने उदाहरण पेशिदिएको छ । यतिबेला उनै जनताका मेयर हर्क र बालेन छन्, जसको कामको प्रशंसामा आम नेपालीजनले अझै काम गर्न प्रेरित गर्दै सामाजिक सञ्जालहरू मार्फत अभिव्यक्ति दिइरहेका छन् । उता, धनगढीका मेयर गोपाल हमाल पनि जनमैत्री काम गरेरै ‘जनप्रतिनिधि’ हुनुको नमूना बनिरहेका छन् ।

समग्रमा, जनप्रतिनिधिहरूले उपलब्ध स्रोत-साधनलाई इमान्दारीसँग सदुपयोग गरिदिने हो भने स्थानीयको आवश्यकता पूरा गर्न समय लाग्दैन । स्थानीय सरकारप्रति जनताको साथ र भरोसा रहने यो मौलिक मोडल हो । त्यसो गर्न सकेमात्र स्थानीय स्तरमा भएका विकास निर्माणका कामप्रति स्थानीयले पनि आफ्नै जिम्मेवारी ठान्छन्, जुन दिगो समेत हुन्छ । यसबाट ‘जनप्रतिनिधि’ भएका अन्य अधिकांशले जनताप्रति गरिरहेको बेइमानी र गद्दारी पनि सतहमा आएको छ, आउने मार्ग प्रशस्त समेत गरिदिएको छ । दलीय भिजिलान्तेहरूले हालसम्म जनताबीच गर्दै आएको नखरा, नौटंकी र ठगी कुन हदसम्म रहेछ भन्ने पनि यी केही मेयरका अभियानहरूले पर्दाफास गरिदिएको छ । जनप्रतिनिधिहरूका ‘प्रेरक’ रोलमोडल बनिरहेका चम्किएका तारा हर्क-बालेनहरूलाई अपरिमित शुभकामना !