तन्नम् राष्ट्रमा घरजम गरेको ‘राष्ट्रियता’को तडका !

तन्नम् राष्ट्रमा घरजम गरेको ‘राष्ट्रियता’को तडका !


✍ जेपी आनन्द

पूरै दक्षिण एशियाको हिमाली खण्ड अर्थात् हिमवत्खण्ड अनि पूर्व-उत्तरको ब्रम्हपुत्रको बहाव तथा दक्षिणमा गंगाको मैदानी भाग हुँदै उपल्लो कश्मिर-कन्दहारसम्म धार्मिक एवं साँस्कृतिक रूपमा साझा धरोहरका क्षेत्र हुन् । यस भन्दा पनि धेरै ठुलो भू-भाग । यसमा एउटै समान प्रकारका आस्थाका केन्द्रहरूलाई धेरैले आ-आफ्ना ठाउँहरूमा स्थापित गरेको अनेकन उदाहरणहरू छन् । यसका लागि सबैले आ-आफ्ना गाथाहरू रचे ।

दक्षिणको तिरुपति मन्दिर असमको गुवाहटीमा बनाए । काशीको मुल विश्वनाथ मन्दिर अपवित्र भयो भनी करपात्री महाराजले बिएचयूभित्र अर्को विश्वनाथ मन्दिर बनाए । वाराणसीको ललिता घाटमा नेपालकै राजा महाराजाहरूले अर्को पशुपतिनाथको मन्दिर बनाए । कुनै दिन भारत र नेपालका बीच तनाव बढेर भारतीयहरूको नेपालमा खुला आवागमन बन्द भइ त्यताका पशुपति श्रद्धालुहरू ललिता घाटकै पशुपतितिर लागे भने फेरि यहाँबाट अर्को धर्मयुद्ध थाल्नुपर्ने हुन्छ । प्राग ऐतिहासिक कालमा तान्त्रिकहरूले पशुपतिनाथको आराधना पद्धतिलाई नै बदलिदिएपछि आदीशंकराचार्य नेपालमण्डलको काठमांडू आइ पशुपतिको रक्षा गर्नुपरेको इतिहास छ । यसको साÞक्षी आज पनि पशुपति क्षेत्रमा शंकराचार्य आश्रम रहेको प्रष्ट नै छ ।

भारत उत्तराखण्डको हिमालयको फेदमा रहेको केदारनाथको शिर हाम्रो डोलेश्वर महादेवलाई भन्यौँ । थाहा छैन, व्यास मुनी कहिले आएका थिए तनहुँ । तर, दमौलीमा व्यासगुफा छ । भष्मासुर र महादेवको लखेटालखेटी भयो कहाँ-कहाँ यता हलेसीको गुफामा महादेव लुक्न आएको मान्यता छ । कुनै पनि वैज्ञानिक तथ्यहरूबाट महाभारतकालिन विराट राजाको भूमि वा दरबार विराटनगर छेउमा भएको पुष्टिँदैन । तर, विराटनगरेहरूले विराट राजाको दरबारलाई पर्यटन स्थल बनाइछोडे । युधिष्ठिरका भाइ अर्जुन कहिले र किन झापा आए होलान् ! तर यहाँ अर्जुनधारा, किच्चकबध सबै छ ।

उपलब्ध तथ्यहरूले भन्छ बराहक्षेत्र मन्दिरको स्थापना कुचबिहारका कोच राजाहरूले गराए । तर, यो क्षेत्र कोचहरूद्वारा शासित रहेको भेटिन्न । किन कोच राजाहरू यहाँ आए होलान् । अहिले आठपहरिया राईहरूले बराह मन्दिरलाई आफ्नो आराधना स्थल बनाएका छन्, आफ्नै मान्यताहरूका आधारमा । पाथिभारा मन्दिर हिन्दूहरूले आफ्नो भन्छन् । भगवतीको मुर्ति नै छ त्यहाँ । तर, पूर्वका लिम्बुहरूले पाथिभारा देवीको आफ्नै नामाकरण गरेका छन् । यस्तै छ सर्वत्र । बिना विवाद, झैझगडा चलेकै थियो ।

यता केपी ओलीले अयोध्या ठोरीमा पत्ता लगाए । भारतको तमिलनाडुमा एक जना धनाढ्य व्यापारीले आफ्नी आमाको स्मृतिमा विशालकाय ताजमहल नै बनाएका छन् । कसैले कुनै प्रतिक्रिया जनाएको छैन । बालेन शाहले सीताको जन्मभूमि सितामढीको साटो जनकपुरलाई दाबी गरेका छन् । ग्रेटर नेपाललाई पनि पछि पार्ने गरी । विकास, निर्माण तथा समृद्धिका लागि हिँडेको नेपाली राजनीति यता ‘मिथक’को पुष्पक विमान चढी उड्दैछ ।

म राजनीतिमा लाग्दा राजनीति, साहित्य र धर्मका बीच फराकिलो फाटोहरू थियो । चिरा हैन, फाटोहरू थियो । यस्तो नेताबाट प्रभावित थियौँ जसको भनाइ थियो- ‘साहित्यमा सम्राटपनि नाङ्गो हुन्छ ।’ बिपी कोईरालाले लेखेको ‘सुम्निमा’का पात्रका बारेमा मतवाली र तागाधारीको दृष्टिबाट विवाद पनि उठाए । जब यसलाई हामी साहित्य मान्छौँ अनि यो निर्विवाद हुन्छ ।

सिनेमा वा साहित्य सामाजिक सोच भन्दा निरपेक्ष हुन्न् । रामायण बुझ्ने शैली उत्तर भारतको भन्दा दक्षिणको धेरै फरक छ । दक्षिणका अत्यन्त प्रभावशाली विद्वान् ‘पेरियार’ जस्ताले रामायणको कटु आलोचना गरेका छन् । त्यसबारे भारतमा गम्भीर बहस छ । दक्षिण त रावणलाई पुज्ने समाज हो । अहिले चर्चामा रहेका सिनेमाका कयौँ विषयमा स्वयम् भारतभित्रै कटु विवाद शुरू भएको छ । पात्रहरूका भेष, सम्वाद अनेक सवालमा । ‘असहमतले नहेर्दा हुने’ त्यहाँका सर्वोच्च अदालतले निरन्तर उठ्ने यस्ता बबाललाई यसरी नै टुङ्ग्याएको छ । हामी कसरी जाने नि ? यो हामीमा निर्भर गर्छ । सरकारले प्याजमा भ्याट लगाएको छ । यदि यसरी चिहानघारीमा ढाँट तेस्र्याएर राजस्व संकलन गर्ने लोभलाई त्याग्न सके मेरो विचारमा सदाका लागि हिन्दी वा भारतमा निर्माण भएका सिनेमाहरूको प्रदर्शनमा रोक लगाइदिए यसरी बेला–बेलामा उठ्ने टंटा सेलाउँथ्यो कि ! यस्तै गर्ने कि ?!

कमल थापाले धार्मिक हिन्दुत्वलाई उपयोग गर्न चाहे । उनी परराष्ट्रमन्त्री हुँदा नै यसका लागि भारतीय धर्मान्ध हिन्दु नेताहरूसँग सम्बन्ध बनाए । थोरै फाइदा लिए । तर, उनको त्यो राजनीति चलेन । अहिले बालेन आदिले यसमा राष्ट्रियताको जलप लगाएका छन् । यो राजनीतिको पपुलिष्ट एजेण्डाको नयाँ भर्सन हो, जसमा इतिहासको अज्ञानता, विद्यमान शासकीय असफलताले जम्मा पारिदिएको असन्तुष्टि, राजनीतिमा हाबी हुन सजिलो बाटोको खोजीज्ञान, जनमत निर्माणको इञ्जिनियरिङ, कमजोर तथा तन्नम् राष्ट्रमा घरजम गरिबसेको राष्ट्रियताको तडका आदिको मसला मिश्रण छ, लाग्दछ- अबको दिन यस्तै होला ।