‘आदिपुरुष’को विवादले हिन्दी फिल्म वितरकहरू तनावमा

‘आदिपुरुष’को विवादले हिन्दी फिल्म वितरकहरू तनावमा


भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन-विवाद यतिबेला उत्कर्षमा छ । काठमाडौंका मेयर बालेन्द्र साहले महानगरभित्र हिन्दी फिल्म प्रदर्शनमै रोक लगाइएको उद्घोष गरेपछि यस मामलाले थप चर्चा पाएको हो । ‘आदिपुरुष’सहित सबै हिन्दी फिल्मको प्रदर्शन रोक्ने घोषणा मेयर बालेनले गरेका छन् । कुनै फिल्मको प्रदर्शनमा रोक लगाउने एउटा नगरप्रमुखको कार्यक्षेत्रभित्र पर्छ कि पर्दैन भन्ने सवाल पनि यतिबेला उठाइएको छ भने कतिपयले बालेको कदमको प्रशंसासमेत गरेका छन् ।

यसैबीच ‘आदिपुरुष’ फिल्मको निर्माण कम्पनी सुपर कसेट्स इन्डस्ट्रिज लि.ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र चलचित्र विकास बोर्डलाई पत्र लेख्दै फिल्ममा सीता माताको जन्मस्थानको बारेमा कुनै सन्दर्भ नभएको जिकिर गरेको छ । सुपर कसेट्सकी राधिका दासको हस्ताक्षर रहेको पत्रमा नेपालीहरूको भावनामा कुनै तरिकाले ठेस पुगेको भए क्षमासमेत मागिएको छ ।

राधिका दासको पत्रमा भनिएको छ- ‘यो कहिल्यै पनि, कसैका लागि र कुनै पनि तरिकाले असहमति पैदा गर्नका लागि जानीबुझी वा जानाजान गरिएको होइन । श्री राघवको चरित्रको चित्रित गर्दै प्रभासद्वारा बोलिएको संवाद ‘आज मेरो लागि नलड, त्यो दिनका लागि लड जब भारतकी कुनै पनि छोरीमाथि हात राख्नुभन्दा पहिला दुराचारी तिमीहरूको शक्ति सम्झिएर काँप्नेछ’मा माता सीताको जन्मस्थानको कुनै सन्दर्भ छैन ।’

उक्त संवादले सबै नारीको सम्मानलाई सन्दर्भित गर्ने र संसारभरका महिलाको सम्मान आफूहरूका लागि अति महत्त्वपूर्ण रहेको पत्रमा उल्लेख छ । ‘हामी चलचित्रलाई कलात्मक रूपमा हेर्न र हाम्रो इतिहासमा चासो सिर्जना गर्न ठूलो दर्शकहरूमा पुग्ने उद्देश्यलाई समर्थन गर्न अनुरोध गर्दछौँ’, सो पत्रमा भनिएको छ ।

यसै क्रममा काठमाडौंका हल सञ्चालकहरूले सोमबारबाट सबै हिन्दी फिल्मको शो हटाएका छन् । काठमाडौं र पोखरा महानगरमा सोमबारबाटै भारतीय फिल्मको प्रदर्शन रोकिएको छ । काठमाडौं र पोखराका हल सञ्चालकहरूले ‘आदिपुरुष’सँगै प्रदर्शनरत अर्को हिन्दी फिल्म ‘जरा हटके जरा बचके’लाई पनि पर्दाबाट उतारेका छन् । यी दुई ठूला शहरबाहेकका सिनेमा हलमा भने भारतीय फिल्म चलिरहेका छन् । तर, हिन्दी फिल्मको प्रदर्शन रोकिने मेयरको उद्घोषकै कारण करोडौँ रुपैयाँमा नेपाल प्रदर्शन अधिकार लिएका वितरकहरूको होसहवास उडेको छ ।