रुस-सङ्कटका बीच अमेरिका सहयोगीहरूसँग ‘निकट समन्वयमा’ रहने

रुस-सङ्कटका बीच अमेरिका सहयोगीहरूसँग ‘निकट समन्वयमा’ रहने


रुसमा देखिएको आकस्मिक सङ्कटका बीच संयुक्त राज्य अमेरिका आफ्ना सहयोगीहरूको निकट समन्वयमा रहने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलाइत र युरोपेली संघका विदेशमन्त्रीहरूसँग कुराकानी गर्दै उनले अमेरिका ‘निकटको समन्वय’मा रहने बताएका हुन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री ब्लिन्केनद्वारा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र युनाइटेडका विदेशमन्त्रीहरूसँग यस विषयमा कुरा गरिएको पुष्टि गरेका छन् । मन्त्री ब्लिन्केनले युक्रेनका लागि संयुक्त राज्य अमेरिकाले गर्दै आएको समर्थन परिवर्तन नहुने कुरा समेत दोहोर्‍याएका छन् । ‘नयाँ घटनाक्रम विकसित हुँदै जाँदा संयुक्त राज्य अमेरिका आफ्ना सहयोगी र साझेदारहरूसँग नजिकको समन्वयमा रहनेछ’, विज्ञप्तिमा भनिएको छ ।

वाग्नर लडाकु प्रमुख येभगेनी प्रिगोजिनले टेलिग्राम पोस्टमा विद्रोहको घोषणा गरेपछि अमेरिकाको यो टिप्पणी सार्वजनिक भएको हो । लडाकु प्रमुखले लडाकुहरू युक्रेनबाट रूसी सेनाको विरूद्ध दक्षिणी रूसतर्फ सीमा पार गर्दै अगाडि बढेको बताएका थिए ।

यसैबीच उनले आफ्ना लडाकुले आफ्नो बाटोमा अवरोध गर्ने जो कोहीलाई नष्ट गर्ने घोषणा पनि गरेका थिए । उनले भनेका छन्- ‘हामी अगाडि बढिरहेका छौं र अन्त्यसम्म बढ्नेछौँ ।’

वाग्नर लडाकुहरू रुसको रोस्तोभ शहर प्रवेश गरिरहेको बताइएको छ ।

उनले चेकपोइन्टहरूमा कुनै प्रतिरोध नभएको र आफ्ना लडाकुहरू ‘बालबालिकाविरुद्ध’ भने नलडेको पनि दाबी गरेका छन् ।

प्रिगोजिनको सो अभिव्यक्तिपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै वाग्नर समूहको सशस्त्र विद्रोह ‘पिठमा छुरा धस्ने देशद्रोहको बाटो’ भएको टिप्पणी गरेका छन् । उनले रुसी सेनाका विरुद्ध सशस्त्र विद्रोह गर्ने देशद्रोहीहरूलाई कडा कारबाही गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यता प्रिगोजिनले भने रुसी राष्ट्रपतिले ‘गम्भीर गल्ती’ गरेको भन्दै विद्रोही समूह देशभक्त रहेको दाबी गरेको वाशिङ्गटन पोस्टले उल्लेख गरेको छ । आफ्नो प्रेस सेवाद्वारा शनिबार पोस्ट गरिएको अडियो सन्देशमा प्रिगोजिनले भनेका छन्- ‘मातृभूमिप्रति विश्वासघात गर्दै राष्ट्रपतिले गम्भीर गल्ती गर्नुभएको छ ।’

देशलाई भ्रष्टाचार, छलछाम र नोकरशाहीको देश भनेर सम्बोधन गर्दै उनले विद्रोही समूहले लडाइँ जारी राख्ने बताएका छन् ।

विद्रोही कमाण्डरले भनेका छन्- ‘हामी हाम्रो मातृभूमिका देशभक्त हौँ, हामी लड्दै आएका छौँ र लडिरहने छौँ । हामी राष्ट्रपति, सेना वा अरू कसैको अनुरोध स्वीकार गर्दैनौँ किनभने देश भ्रष्टाचार, छलछाम र कसैको तजबिजको दलदलमा फसिरहन दिदैनौँ ।’