सुशीला कार्कीहरू र प्रतिशोधको दावाग्नि !

सुशीला कार्कीहरू र प्रतिशोधको दावाग्नि !


✍ जेपी आनन्द

सि.के. प्रसाईंको एक लेखको शीर्षक थियो- ‘केही झक्कीहरू, जसले जीवन बिताए यो जान्नका लागि कि जान्नु केका लागि ?’ हालका दशकमा उनै झक्कीका झैँ पूरै मुलुक अनवरत यो जान्नका लागि ‘परेसान’ छ कि न्यायाधीश कस्तो हुनुपर्छ ? न्यायाधीशको लागि उत्तम व्यक्ति जो कर्तव्यबोधबाट निहाल रहुन्, यसको खोजिका लागि आजपर्यन्त अनेकन् अभ्यासहरू भयो । मुलुकको विभिन्न कालखण्डमा अनेकन् व्यक्ति न्यायाधीश भए/बनाइए, तर आजसम्म कुनै थिति बसेन । न्यायाधीशको रूपमा एक उत्तेजनारहित, प्रतिशोधबेगरको, निष्पक्ष तथा बस्तुतः न्यायिक मनको मानिसको चयन गर्न सक्ने संयन्त्र बन्न सकेन ।

सुशीला कार्की, कल्याण श्रेष्ठहरू भर्खरै अवकाश पाएका हुन् । यो सत्य हो कि देशमा बेथिति छ । यसमा राजनीतिक नेतृत्व दोषी रहेको पनि सत्य हो । आजभोलि दिनहुँजसो टिभी च्यानलमा आइरहने सुशीला कार्कीहरूको अन्तर्वार्ता हेर्नुहोस् । उहाँहरूको रोषपूर्ण भाषा सुन्नुहोस् । भकभक सल्किरहेको आगो जस्तो, आक्रोशको दावाग्निमा डढिरहेको मनबाट निस्कने अभिव्यक्तिहरू सुन्नुहोस् । जुन व्यक्ति अवकाश पाएको केही महिनाभित्रै यत्रो आक्रोशको भुङ्ग्रो मनमा राखेको छ, त्यो व्यक्ति न्यायाधीश, प्रधानन्यायाधीशको रूपमा प्रतिशोधको तारो बनाएकाहरूलाई के मात्र गर्न बाँकी राखेको होला ? न्यायाधीशको रूपमा यिनीहरूको मन गरूड पुराणमा वर्णित नर्कको नदीजस्तो रहेको थियो ।

बीपी कोइरालाले एक सन्दर्भमा लेख्नुभएको छ- ‘ईश्वर भनेको उत्तेजनारहित मानव हो- लिप्सामुक्त, स्पृहाबाट मुक्त व्यक्ति !’ वास्तवमा जब मानिस लिप्साको भेलले पुरिन्छ, स्पृहाको दावानलमा ओतप्रोत हुन्छ, उत्तेजनाले उन्मत्त हुन्छ, यथार्थमा त्यस व्यक्तिको रूपान्तरण आजको सन्दर्भमा कल्याण श्रेष्ठ, सुशीला कार्कीको आकृतिमा हुन्छ ।

यो फगत सुशीला कार्कीहरूको आलोचना होइन । उनले मध्यरातमा ८० जना न्यायाधीशहरूको नियुक्ति गरिन् । स्मरण जगाउनुस्, याद आउँछ । सुशीलाले नियुक्त गरेका न्यायाधीशहरू शपथग्रहणको लगत्तैपछि एमाले कार्यालय पुगेका थिए । काङ्ग्रेस तथा माओवादीका कार्यालयहरूमा पनि यही लीला देखिन्थ्यो । यही बेला भएको नियुक्तिले सर्वोच्च अदालतमा आउने दशकका लागि रोलक्रमको परिपुर्ति गऱ्यो ।

बार एशोसिएसनबाट, न्यायसेवाबाट- जताबाट भएपनि न्यायाधीशको नियुक्ति कठिन काम भएको छ । मानिस न्यायसेवाका कर्मचारी हुन्छन् तर ती कर्मचारीहरूको संघ तथा संगठनका सदस्य हुन्छन्, जो राजनीतिक पार्टीको भातृसंगठन हो । उही कर्मचारी न्यायाधीश हुन्छन् । मनभरी पार्टी राखेर ‘क्यारियरिष्ट’ न्यायाधीश कहलाउँछन् । कल्याण श्रेष्ठ हुन्छन् । वकिलहरू सधै अपवादको रूपमा दलनिरपेक्ष हुन्छन्, तिनबाट न्यायाधीश हुनेहरू नियुक्तिकर्ता वा सिफारिशकर्ता दलकाप्रति भक्तिभाव राख्छन् । अहिले सबैभन्दा चर्को कुरा गर्ने सुशीला कार्कीलाई न्यायाधीश बनाउन उनका श्रीमान् दुर्गा सुवेदी कानुनमन्त्री देव गुरूङकहाँ धाएको मेरै आँखाले देखेको हुँ । अब ल्याउने कहाँबाट ? समस्या यही हो ।

अहिलेसम्म राजनीतिक दलहरूले न्यायाधीशका लागि रोजेका मानिस कानुन व्यवसायीमध्येबाट नै हो । उदाहरणका लागि अवधेश यादव, अनुपराज शर्मा, सुशीला कार्की वा हरिकृष्ण कार्कीलाई लिन सकिन्छ । यिनीहरूकै विभिन्न राजनीतिक दलका प्रति भक्तिभाव रहेको इतिहास छ । अन्य प्रजातान्त्रिक मुलुकहरूमा पनि यस्तै अभ्यास छ । भारतमा पनि । तर कुरो न्यायिक मनको हो । जोसुकै हुन्, सर्वोच्च अदालतका न्यायाधीश हुने मानिसमा त स्वभाविक रूपमा न्यायिक मनमा रूपान्तरण हुनुपर्ने हो । त्यहाँ पुग्ने राक्षस पनि स्वतः भगवान् झैँ हुनुपर्छ । किन यस किसिमको रूपान्तरण हुँदैन त ? वकिलको रूपमा नाम अर्जेका असल मानिसहरू त्यहाँ पुगेपछि अपवादबाहेक किन व्यभिचारमा लाग्छन् त ?

मैले एक सन्दर्भमा लेखेको थिएँ-

‘आजको नेपाली समाज बस्तुतः घोर प्रतिशोधको दावाग्निमा बलिरहेको छ । प्रतिशोधको कारणबाट एउटा व्यक्तिको सामान्य भौतिक उपस्थिति नै अरूका लागि असह्य पीडाको कारक विषय बन्दछ । सर्वसाधारणहरूमा यस प्रवृत्तिको के खोजी गर्नु ? कुनैपनि सांसारिक अभावको अनुभूति नगरेको नेपालको शाहवंश स्वयंमा यसको घतलाग्दो उदाहरण भएको छ । दरबारमा देखिने शालिन शिष्टताको नेपथ्यमा पल्लवित भइरहने पक्षहरूको अध्ययन गर्दा यस सत्यलाई आत्मसात गर्नैपर्ने हुन्छ । त्यहाँ देखिएका रक्तरञ्जित वैमनस्य र विनाशकारी विग्रह र वंशसमाप्तिको लीला ! यसको छापबाट हाम्रो सामाजिक वर्तमान मात्र कसरी मुक्त हुने ? पृथ्वीनारायण शाहका बखत भएको राज्य निर्माणको कालमा गोरखादेखि कीर्तिपुरसम्ममा होस् अथवा मकवानपुरदेखि मैथिल प्रदेश हुँदै लिम्बुवानसम्मका रैतीहरू उपरको विजयको यात्रा नै किन नहोस्, राज्यले आफ्नो सत्ता संचयको हरेक बिन्दुमा आफ्नो सुरक्षाका लागि प्रतिशोधलाई अँगाली आएकै छ । वि.सं. २०१७ सालको ‘कू’मा बी.पी. कोइरालाको दराजमा फेला परेको भनी एक बोतल रक्सीलाई सडकमा सार्वजनिक गरेर व्यभिचारी विश्वेश्वर देखाउन खोजेको राज्यशक्ति अहिले आएर असोज १८ लाई सान्दर्भिक देखाउन हामी समेतलाई आधार बनाएकोबाटै सबै कुरा स्पष्ट भएको छ । वास्तवमा यो राज्यको मानसिकता हो । यसै कारणले हरेक कालखण्डमा हाम्रो राजनीतिमा सत्ताको अविच्छिन्नताका लागि शक्तिको निरंकुश प्रयोग गर्न दण्डाधिकारले युक्त हरेक पदमा नियुक्तिका बखत सदैव केही आज्ञाकारी व्यक्तिहरूको खोजी भइ नै रह्यो । जसलाई बस्तुतः प्रतिशोधलाई कार्यरूपमा उतार्न निर्जीव यन्त्रसरह प्रयोग गर्न सकियोस् । सुशीलाहरूको आविष्कार यही परिस्थितिमा भएको हो ।’

(सामाजिक सञ्जालमा जेपी आनन्द)