पाकिस्तानद्वारा निर्वासित पूर्व प्रधानमन्त्री सरिफलाई स्वदेश फर्काउने कानुन पारित

पाकिस्तानद्वारा निर्वासित पूर्व प्रधानमन्त्री सरिफलाई स्वदेश फर्काउने कानुन पारित


पाकिस्तानको राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली)ले निर्वासित पूर्वप्रधानमन्त्री नवाज सरिफलाई राजनीतिमा फर्कन बाटो खोलिदिएको छ ।

सांसदहरूलाई कुन अवस्था र कहिलेसम्म पदमा रहन अयोग्य ठहऱ्याउन सकिन्छ भन्ने विषयमा कानुन पारित गरेको पाकिस्तान सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।

सन् २०१७ मा भ्रष्टाचारको आरोपमा सत्ताच्युत हुनुअघि सरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । सर्वोच्च अदालतले उनलाई आजीवन राजनीतिमा प्रतिबन्ध लगाएपछि सात वर्षको जेल सजाय सुनाइएको थियो ।

सन् २०१९ मा उनलाई स्वास्थ्य उपचारका लागि विदेश जान जमानत दिइएको थियो र उनी बेलायत गएका थिए । त्यतिबेलादेखि सरिफ बेलायतमा नै रहेर पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) पार्टीलाई पर्दा पछाडिबाट नेतृत्व गरिरहेका बताइने गरेको छ ।

उनका भाइ शहबाज सरिफ गत वर्ष प्रधानमन्त्री बनेका थिए भने पीएमएल–एनको औपचारिक नेतृत्व पनि उनले नै गर्दै आएका छन् ।

पाकिस्तानमा आगामी अक्टोबरभन्दा पहिले नै आम निर्वाचन हुन लागेको छ ।

पाकिस्तानका कार्यवाहक राष्ट्रपतिले राष्ट्रिय सभाबाट पारित नयाँ कानुनमा हस्ताक्षर गर्दै अदालतले सांसदलाई पाँच वर्षभन्दा नबढाई अयोग्य ठहऱ्याउन सक्ने व्यवस्था गरेको छ । राष्ट्रपति आरिफ अल्वीको अनुपस्थितिमा सिनेटका अध्यक्ष सादिक सञ्जरानीले सोमबार उक्त विधेयकमा हस्ताक्षर गर्न कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गरेको बताइएको छ ।

राजनीतिक विश्लेषक हसन अस्करीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार सत्तारुढ पीएमएल–एन र यसको गठबन्धन साझेदारहरू नवाज सरिफलाई फिर्ता ल्याउन चाहन्छन् । यो उद्देश्य प्राप्तिका लागि विधेयक पारित गरिएको हो । अस्करीले भनेका छन्, “नवाज सरिफ आगामी निर्वाचनमा पीएमएल–एनका लागि मुख्य प्रचारक हुनुहुनेछ । उहाँको पुनरागमनले राजनीतिक रूपमा पार्टीलाई निकै फाइदा पुग्नेछ, तर उहाँ आफैं चुनाव लड्ने कि नलड्ने भन्ने स्पष्ट छैन ।”

सरिफले अझै पनि भ्रष्टाचारको मुद्दाको सामना गरिरहेका छन् । सरिफका उत्तराधिकारी इमरान खानको कार्यकालमा उनलाई सजाय सुनाइएको थियो । यो निर्णय देशलाई ऐतिहासिक रूपमा पिरोलिरहेको भ्रष्टाचारलाई सुधार्ने वाचासहित गरिएको थियो ।

तर पाकिस्तानमा विपक्षी नेताहरूलाई पेचिलो बनाउने कानुनी मुद्दाहरू आफ्नो पार्टीले पुनः सत्तामा आएपछि नियमित रूपमा फिर्ता लिने गरेका छन् ।

शहबाजले गत अप्रिलमा अविश्वासको प्रस्तावमार्फत खानलाई सत्ताच्यूत गरेका थिए । यद्यपि, उनी दलहरूको अस्थिर गठबन्धनको प्रमुखमा छन् । खान मतदानको ‘काउन्टडाउन’मा निकै लोकप्रिय छन् ।

खानले मध्यावधि चुनावको माग गर्दै आएका छन्, तर उनको अभियान दर्जनौं कानुनी मामिलामा अल्झिएको छ ।

गत महिना इस्लामाबादमा भ्रष्टाचारको आरोपमा उनलाई केही समयका लागि पक्राउ गरिएको थियो, जसका कारण उनको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका समर्थकहरू सडकमा ओर्लिएका थिए र प्रहरीसँग झडप गरेका थिए ।

तीन दिन हिरासतमा बसी रिहा भएपछि पीटीआईलाई हजारौं नेता कार्यकर्ता पक्राउ, धम्की र प्रेसको दमनको रिपोर्टसहित कारबाहीको निशाना बनाइएको छ ।

खानले आफ्नो पार्टीलाई पीएमएल-एन नेतृत्वको सरकार र शक्तिशाली सैन्य प्रतिष्ठानले दमन गरिरहेको आरोप लगाएका छन् ।