नेपाली चलचित्र क्षेत्रका अभिनेता सरोज खनाल तीन दशकको अभिनययात्रापश्चात् निर्देशक बनेर देखापर्दैछन् । सुरुआतमा छोटो चलचित्र निर्देशनको योजना बनाएका भएपनि पछि खनाललाई विषयवस्तुले ठूलो पर्दाको चलचित्रको निर्देशक बनायो । चाँडै नै उनको परिचयमा ‘निर्देशक’ विशेषण थपिँदैछ ।
योजना बनाएर चलचित्र निर्देशनको यात्रा प्रारम्भ नगरेको अभिनेता खनाल बताउँछन् । ‘मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्ग्रहित कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आमदर्शक र समाजसम्म पुऱ्याउनुपर्छ भन्ने लाग्यो, यो कथा ममार्फत नै भन्नुपर्छ भनेर निर्देशन गरे । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा निकै अप्ठ्यारो हुन्थ्यो’- अभिनेता/निर्देशक खनालको भनाइ छ ।
आफूलाई कथावाचक भन्न रुचाउने खनालले चलचित्रमा आफूभन्दा वरिष्ठ कलाकार नै बढी राखे । किनकि ती पात्रहरू अभिनयमा पोख्त हुनुका साथै चरित्रअनुसार उपयुक्त थिए । तर, उनीहरूलाई निर्देशन गर्न अभिनेता खनाललाई सहज भने थिएन ।
‘मैले छायाङ्कनका क्रममा कुनै पनि कलाकारलाई अभिनय गरेर केही बताइनँ, केवल चरित्र र दृश्यलाई सम्झाएँ’, अभिनेता खनालले भने- ‘नीर राजा (नीर शाह) लाई मैले अलिकति फरक चाहिएको भनेर भूमिका बुझाएँ । उहाँ आफैंले विभिन्न चरित्र देखाएपछि मैले चाहेको यो हो भनेँ, यसरी हामीले छायाङ्कन सकेका थियौँ ।’
सयौँ चलचित्रमा अभिनय गरिसकेका अभिनेता खनाल चलचित्रमा स्टार कलाकारभन्दा पनि विषयवस्तु महत्वपूर्ण हुनुपर्ने धारणा राख्छन् । त्यसैले उनले एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई चलचित्रमा प्रस्तुत गरेका छन् । आफैँले धेरै चलचित्रमा सहकार्य गरेको अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको भूमिकामा खनालले प्रस्तुत गरेका छन् ।
‘अघिल्ला चलचित्रमा अभिनेत्री मानन्धरको सुन्दरतामा धेरै चर्चा गरियो वा केन्द्रित भइयो । यद्यपि यसमा उहाँको सुन्दरता अभिनयमार्फत व्यक्त भएको छ । साथै नयाँ अभिनेत्री प्रमिला कार्कीले पनि आफूलाई अब्बल सावित गर्नुभएको छ’, खनालले भने । चलचित्रको कथालाई नजिकबाट महसूस गरेको उनको भनाइ छ ।
चलचित्रमा देखाइएको एकल महिलाले समाजमा गर्नुपरेको संघर्षलाई आफ्नै परिवारमा देखेको उल्लेख गर्दै खनालले भने- ‘मेरो मामाकी छोरीको श्रीमान् बित्नुभएपछि एकल महिला बनिन् । त्यसपछि उनको जीवनशैली नै फेरियो । ती बहिनी एक्लो भएको मैले महसूस गरेँ, बाहिरी रमाइलोमा उनको शरीर उपस्थित भए पनि मन खुसी थिएन । केही वर्षअगाडि उनको पुनः विवाह भएपछि अहिले उनलाई छुट्टै पाउँछु । ती बहिनी बल्ल जीवन बाँचेकी छिन् ।’
त्यही कथालाई पुस्तकमा पाएपछि खनाल आफैँले निर्देशन गर्ने योजना बनाएका रहेछन् । आउँदा दिनमासमेत सामाजिक विषयवस्तुलाई ठूलो पर्दामा ल्याउने उनको योजना छ । यद्यपि खनालले कलाकारितालाई पनि सँगै अगाडि बढाउने जानकारी दिए । चलचित्र ‘बगान’मा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल, मिथिला शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।
स्वप्न नीरवको कथामा तयार भएको उक्त चलचित्रमा गौरीशंकर धुजुले छायांकन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफ एक्स तथा रेनिश फागोले रङ्गसंयोजन गरेका छन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र मोफसलमा एफडी कम्पनीले गर्दैछ । चलचित्र ‘बगान’ यही असार २९ गते रिलिज हुने भएको छ ।
‘न वारमा न पारमा’ करिश्मा

चलचित्र ‘बगान’को गीत सार्वजनिक भएको छ । ‘न वारमा छु, न पारमा छु’ बोलको उक्त गीतमा सुरेश वाग्लेको शब्द रचना, हरि लम्सालको संगीत र अञ्जु पन्तको स्वर रहेको छ । यसको भिडियोमा अभिनेत्री करिश्मा मानन्धरलाई प्रमुख स्थान दिइएको छ ।
यस गीतमा चलचित्र भित्र करिश्मा मानन्धरको जीवनकथा समेट्ने दृश्यहरू समावेश गरिएको छ । काखेछोरी हुर्काउँदै एकल जिन्दगी बिताउनुपर्दाका विभिन्न भोगाइहरू यो गीत हेर्दा महसूस हुन्छ । अभिनेत्री मानन्धरलाई एकल महिलाको रूपमा चित्रण गरिएको यो चलचित्रलाई अभिनेता सरोज खनालले निर्देशन गरेका छन् ।
यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरूमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौं उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ ।
प्रतिक्रिया