काङ्ग्रेस आरजुको लाज छोप्ने पेटीकोट हैन !

काङ्ग्रेस आरजुको लाज छोप्ने पेटीकोट हैन !


✍ ज्ञानमणि भुर्तेल

‘भन् ! कृष्ण सिटौला कहाँ छ ? जगदीश काफ्ले कता छ ?’

०४६ आन्दोलनका दुई नायकका बारेमा हरेकजसो काङ्ग्रेसीउपर बुट बजार्दै हिरासतमा पुलिसद्वारा सोधिने प्रश्न !

माघ २६ गतेको दिन धराने पुष्प ढकाल र भद्रपुरे रमेश तिम्सिनासँगै मलाईसमेत पर्चा छर्दै गर्दा पृथ्वीनगरबाट समातेर हिरासत छिराउँदा डरले पानी अड्केको हिजै जस्तो लाग्छ !

पस्नेबित्तिकै गार्ड कमाण्डर जोगेश्वर राय यादवले सोधे- ‘बामी हो ?’

‘हैन ! हामी काङ्ग्रेस हौँ’ !’ घुटुक्क थुक निल्दै सासले बोलियो !

‘हँ ! एकि बात छ’ ! पञ्चायतविरोधि सबै बामे ! बामे भनेको पञ्चायतइतरलाई दिइने विभुषण ! पुलिसको भाषामा गाली ! काङ्ग्रेस कम्युनिष्ट मतलव छैन ! पुलिसले बुझ्ने त्यत्ति नै हो !

आन्दोलनकारी समातिएको हल्ला भो ! पालैपालो पुलिस आएर हप्काउन थाले ! एउटा बन्दुके आएर जङ्गियो- किन पर्चा छर्न मुन्टेको नि ? दारा किट्दै बर्बरायो- बामे !! उसले पनि बामे नै बुझ्यो हामीलाई !

यसै फसियो उसै फसियो ! हिम्मत जुटाएर बोलियो- ‘बहुदल ल्याउन !’ बोली सक्न नपाउदै बर्बरायो- ‘नापिस हरामी बामे ! बीपीले ल्याउन नसकेको बहुदल तँ लिखुरेले ल्याउलास् !’ बन्दुकेले हामीलाई पत्याएन ! थोरै हिम्मत जुटाएर बन्दुके चिमोटेँ- ‘बीपी चैँ चिनेको हो ?’ ‘हैट ! तगडा हो नि ! बाजेले भनेको सुनेको ! ३८ सालमा बिर्तामोडमा देखेको पनि हो !’ ‘हामी त्यै बीपीका पार्टीका काङ्ग्रेस हौँ ! बामे हैनौ’ अजिव नजरले हेऱ्यो हामीलाई ! काङ्ग्रेस र बामपन्थीबीच फरक थाहा पाएपछि राम्रै दोस्ती भो ! उसका बाजे मुक्तिसेनाका योद्धा रहेछन् !

त्यस समय हिरासतमा बस्दा आउनेलाई स्वागत र जेल जानेलाई बिदाइ गर्ने दैनिकी बन्यो हाम्रो ! हामीलाई मुद्दा चलाउने भएकोले जेल पठाइएन ! हिरासत बसाइका क्रममा देखिएका भोगिएका केही ज्याद्रा काङ्ग्रेसहरू-

१. बालगोपाल पोख्रेल

०४६ फागुन ७ को बिहान ! एउटा लिखुरे ब्राह्मणको हिरासत प्रवेश । ज्यान लिखुरे तुजुक बाफरे ! जय नेपाल आदानप्रदान भो ! बाहिरको हालचाल बुझ्न खोजियो ! ‘आत्तिनु पर्दैन ! बहुदल नजिकै आइसकेकोछ ! पञ्चहरू हतास मनस्थितिमा छन् ।’ साउती स्वरमा फुस्फुसाउनु भो ! सुरुवालभित्र लुकाएर ल्याएको चारतारे झण्डा देखाउनु भो ! पहिलोपटक देखेको झण्डा श्रद्धापूर्वक ढोगियो ! भावुक भइयो ! बस चढेर बिर्तामोड जाँदा पक्राउ पर्ने डरले चारआली हुँदै पैदलयात्राकै क्रममा पुहातुबाडीबाटै समातिनुभएछ ! कुराकानीको सिलसिलामा बोल्नु भो- मेरो बुताले भ्याउँथ्यो भने घरका बस्तुभाउ समेत आन्दोलनमा कुदाउँथेँ भाइ ! सत्य थियो- उहाँका गाईबस्तु बाहेक सम्पुर्ण परिवार आन्दोलित थियो ! तर विडम्बना ! बहुदल आगमनपछि नेता भएका आफ्नै कारिन्दाले समेत बालगोपाल पोख्रेल चिन्न छोडे ! पक्षघातबाट लामो समय ओछ्यान परेपछि यस लोकबाट बिदा हुनुभो ! चारतारे ओढाइयो ! बालगोपाल पोख्रेल इतिहास बन्नु भो !

२. होमनाथ कोइराला

छोरीको बिहे टुंगो लागिसकेपछि उहाँ समातिनु भो ! ‘देश बेच्ने आन्दोलनमा लागेका देशद्रोहिकी छोरी बिहे गर्नुहुन्न’ देखि अनेकौँ सामाजिक विकारका कारण बिहे रोकिने सम्भावना बढेपछि तत्कालीन अञ्चलाधीश कार्यालयमा कार्यरत छिमेकीको पहलबाट कागज गरेर प्रशासनले छोड्ने भो ! सही गर्ने कागजमा ‘देश नरेश र पञ्चायतप्रति समर्पित…’ भन्ने शब्दमा उहाँको तर्क थियो- देशकै लागि लडेको हो ! देश मानिन्छ ! भागेर दिल्ली पुगेका राजा फर्काएर मानेकै छ ! यो पञ्चायत चैँ उहिले पनि मानिएन ! आज पनि मान्दिनँ’ ! उहाँलाई पुनः हिरासत फर्काइयो ! कोइरालालाई फकाउने डाक्टर शंकर उप्रेतीको प्रयत्नले समेत वीरगति प्राप्त गऱ्यो ! छोरीको बिहेका लागि उहाँले पञ्चायतसँग सम्झौता गर्न मान्नुभएन ! छोरीको बिहेभन्दा प्रजातन्त्र महत्त्वपूर्ण हो भन्ने उहाँको तर्क र सामाजिक दबाबका अघि प्रशासनसमेत झुक्यो ! उहाँ हिरासतमुक्त हुनुभो ! छोरी बिदाइपछि आन्दोलन नामको लुतो कन्याउन सक्रिय हुनुभो ! उहाँलाई पनि निधनपश्चात् बालगोपाल पोख्रेललाई झैँ चारतारे ओढाएर बिदा गरियो ! किशुनजीले मौखिक रूपमा दिइसकेको संसदीय टिकट खोस्न आफ्नै दौँतरी लागिपरेको तितो कथा बेग्लै छ ! कुनै दिन लेखिएला !!

३. मीना सुब्बा (केरुङ)

पाँचथरे क्रान्तियोद्धा मच्छिन्दद्र केरुङकी छोरी मीना पर्चा पम्प्लेटसहित सामान्य रूपमा समातिइन् ! जब पुलिसले उनको बुबाको बारेमा बुझ्यो, ‘तिमी त सारै असल मान्छेको छोरी रैछौ ! बुबाको जिम्मा लाएर पठाउँछौँ ! बुबालाई बोलाउ’ भन्ने डिएसपीको चिप्ले शब्दमा ‘फाँसी दिएपनि बुबा बोलाउँदिनँ ! तपाईंको चाल मैले बुझिसकेको छु ! जे मन लाग्छ गर्नुस्’ भन्दै निर्भीक जवाफ दिने मीनालाई हामीसँगै मुद्धा चलाइयो ! तारेखमा छुटेपछि पनि उनको सक्रियता कायमै रह्यो ! अहिले कता छिन् कुन्नी, भेटघाट छैन ! सम्भवतः यही संसारको कुनै कुनामा पारिवारिक जिम्मेवारी पूरा गर्दै गणतन्त्रका धुवाँले पोलेर झरेका आँसु पुछ्दै होलिन् !

४. कृष्ण बिमली

पुलिसको भाषामा हरामी काङ्ग्रेस ! पञ्चायती पुलिसका लागि आतंकको पर्याय ! पुलिसले बन्दुकको कुन्दाले हानेर नाक बङ्याइदिएकाले काङ्ग्रेसीले दिएको बिभुषण- ‘नाकबाङ्गे कृष्णे’ !

‘जय नेपाल’ चिच्याहटका साथ कृष्ण दाइको हिरासत प्रवेश ! ‘आत्तिनु पर्दैन साथी हो, बहुदल नजिकै आइसकेकोछ ! यी नाथे दुई/चार मण्डले उफ्रेर अब पञ्चायत जोगिँदैन !’ कृष्ण दाइको आक्रोशित चिच्याहटबाट पुलिससमेत ट्वाल्ल परिरहेका थिए ! दाइ पुलिसतिर फर्केर उफ्रे- के लाटाले पापा हेरेझैँ हेर्छौ ? हिँड आन्दोलनमा ! बहुदल आएपछि यो भन्दा राम्रो जागीर मै ख्वाइदिन्छु ! आतंकित माहोल एकाएक रोमाञ्चक बन्यो ! हाँसो रोकेर मैले सोधेँ- कहाँबाट समात्यो दाइ ?

पुलिस आएपछि बुइँगलमा लुकेँ भाइ ! मलाई नभेटेपछि बरण्डामा सुकाउन राखेका अचारका बोतल फोर्न थालेपछि अचारको माया लागेर बाहिर निस्केँ ! पुलिसतिर धारेहात लाउँदै बोले- अनि यिनै लठुवाले समातेर ल्याए ! मसँगै आन्दोलनमा हिँड् भनेको मानेका छैनन् ! अलिबेरमा हिँड्छन् ! पुलिस जिस्काउँदै थपे- जाने हैन त भाइ हो ?

कृष्ण दाइलाई किञ्चित पनि महसूस थिएन कि आफू पुलिस हिरासतमा छु ! माहोल यस्तो थियोे कि ससुरालीमा सालीहरूसँग गफिँदैछन् ! डिएसपीले गार्ड कमाण्डर हप्काए- के हेरेर बसेको ? तेरो बाउलाई पुर्जी दिएर जेल पठा ! यहाँ राख्यो भने सबै केटा आन्दोलनमा कुदाउँछ ! नाकबाङ्गेलाई जेल पठाएर पुलिस आफ्नो नाक बाङ्गिनबाट जोगियो ! बहुदल ल्याउन बहुलाहा तालले उफ्रिने नाकबाङ्गेको उपयोगिता बहुदल आएपछि सकियो ! नाकबाङ्गेको स्थान मस्तिष्कबाङ्गेहरूले लिँदै गए ! अचेल उहाँ शनिश्चरे छोडेर इटहरी निवासी हुनुभएको छ रे ! भेटघाट छैन ! अब त नाक मात्रै हैन ! ज्यानसमेत बाङ्गिसक्यो होला !!

५. सुमन थापा

काङ्ग्रेस नेता हेमकुमार थापाको छोरा सुमन उसबेला धरान पढ्थे । राजनीति र आन्दोलन सग कुनै सरोकार नभएको १५/१६ वर्षे ठिटो धरानबाट भद्रपुर उत्रेर पैदल राजगढ जाने क्रममा जलथल पुलिसले बाउ समात्न नसकेको पुरुषार्थ छोरा समातेर देखाइदियो ! डाँको छोडेर रुँदै हिरासत छिरेको केटो हप्ता दिनमै यति ज्याद्रो बन्यो कि पञ्चायत मान्छु भन्ने कागज गरेर जा भन्दा पञ्चायत त ज्यान गए मान्दिनँ बरु जेल बस्छु भन्ने जवाफ फर्काउने भयो ! सुमनले हिरासतभित्रै आफू जबर्जस्ती काङ्ग्रेस भएको ब्रम्हज्ञान प्राप्त गऱ्यो ! काङ्ग्रेस त्यहीँ बुझ्यो ! कम्युनिस्ट त्यहीँ देख्यो ! आन्दोलन त्यहीँ बुझ्यो ! बहुदल त्यहीँ कल्पियो ! बहुदल आगमनपछि चैँ केटो क्यानाडा पलायन भो ! पञ्चायत फालेर बहुदल हुँदै गणतन्त्र नामको गलगाँड भिरेकोमा पछुताउनेमा सुमन पनि पर्छ !

६. भानु दाहाल

कृष्ण सिटौला कहाँ छ ? जगदीश काफ्ले कता छ ? भन्दै घोप्टो पारेर पिठ्युँमा बुट बजार्दा – ‘मार्छस् भने मार तर ज्यान गए भन्दिनँ’ भन्दै चरम यातना भोग्ने भानु अहिले अमेरिकाबासी भएको छ ! बेलाबेलाको फोन सम्बादमा तपाईंहरूले फसाउनु भो भन्ने गुनासो पोख्दै काङ्ग्रेसको दुर्गतिप्रति बिलौना गर्दै रुन्छ ! हिरासतमा पुलिसको निर्मम यातना भोग्ने भानुको जब्बरपन सम्झिँदा अहिले पनि आङ जिरिङ्ग हुन्छ !

७. सरिता प्रसाईं

साँझको समय जय नेपालको नारा चिच्याउँदै गरेको स्वर सुनियो ! नजिकै आएपछि प्रष्ट भो- सरिता प्रसाईं ! हिरासत पस्दैदेखिको उनको उग्रता यति बढ्यो कि पुलिसले दिएको भात बहिष्कार गर्दै ‘मलाई रोटी चाहिन्छ’ को माग राखेपछि डिएसपीसमेत बाध्य भएर राति १० बजे रोटी उपलब्ध गराउनुपऱ्यो ! हिरासतको उनको उग्र क्रान्तिकारिता थेग्न नसकेपछि सवेरै जेलको पुर्जी थमाइदियो ! जेलमा कस्तो उग्रवाद मच्चियो… हामीलाई थाहा भएन ! पार्टीप्रतिको उनको सक्रिय लगनशिलतालाई रामचन्द्र बाजेले निरन्तर टेको लाइदिएका कारण बेलाबेला सांसद हुँदै मन्त्रीसम्म बन्न भ्याउँदैछिन् ! जान-अन्जानमै सही उनको राजनैतिक मूल्याङ्क भएकोमा गुनासो गर्ने ठाउँ छैन ! काङ्ग्रेसभित्रकी गिनेचुने ‘लौह महिला’मै गनिन्छिन् सरिता प्रसाईं !

८. हरिकृष्ण कार्की/पुष्प सिटौला

एकै दिन एकै समय एकै साथ हिरासत पसेका यी ज्याद्रा जीवका बारेमा बेलाबखत उल्लेख गरिएकै हो ! पुलिसका लाठीले पैताला फुलेर पाउरोटी जस्ता भएर टेक्ने हालतमा नहुँदा समेत घिस्रिँदै जय नेपाल चिच्याउने कार्की अनि तालुका कपाल आधि उखेलिँदा समेत काङ्ग्रेस जिन्दावाद चिच्याउँदै बहुदल ल्याउन मरिहत्ते गर्ने हरामी काङ्ग्रेस सिटौला अहिले अमेरिकामा तेल बेच्दैछन् भने कार्की वडा तहमै क्षेत्रीय प्रतिनिधिमै सिल्टिम्बुर सेवन गर्दैछन् !

९. रमेश तिम्सिना/पुष्प ढकाल

इलाम अदालतमा बयान दिँदा ‘गणेशमान सिंहको नेतृत्वमा काङ्ग्रेसले गर्ने पञ्चायतविरुद्धको आन्दोलनका लागि पर्चा छरेकै हो ! राजा मान्छौँ तर पञ्चायत मान्दैनौँ’ भन्दै बरु तीन वर्ष जेल बस्न तयार तर पञ्चायतसँग सम्झौता नगर्ने रमेश तिम्सिना सगरमाथा चोकमा आलुप्याज बेच्ने किराना पसले भएको छ ! आफ्नै छिमेकी नातेदारको घिँरौले ताल देखेर क्रियाशील सदस्यता त्यागेर बसेको उसको काङ्ग्रेससँग कुनै नाता छैन अहिले ! पुष्प चैँ धरानतिर बर्खाको भ्यागुतोझैँ बेलाबेला ट्यारटुर गरेको सुनिन्छ ! उसको स्वर हामी दलित काङ्ग्रेसबाहेक कसैले सुन्दैन !

आज बहुदलप्राप्तिको निकै वर्षपछि ०४६ सालमा हिरासतमा भेटिएका ती हरामी काङ्ग्रेसको ज्याद्रोपन अनि त्यो जोदाहापनबाट प्रभावित डिएसपी मदन खड्काको ‘तपाईंहरू जस्ता कार्यकर्ता भएको काङ्ग्रेस बास्तवमै धनी पार्टी हो’ भन्ने शब्द स्मरण गर्दैगर्दा आफैंले पोलेको मुर्दा पञ्चायतको जिन्दावाद गाउन त किमार्थ सकिन्न, तर शेरबहादुर नामक ‘निकम्मा/निर्लज्ज’ पात्रका कारण काङ्ग्रेस-दुर्दशा हेर्दा यति चैँ पक्कै भन्नैपर्छ कि काङ्ग्रेस पार्टी तिम्री आरजुको लाज छोप्ने पेटीकोट हैन ! यी र यस्तै हजारौँ हरामी काङ्ग्रेसको रगत-पसिनाबाट सृजित आस्थाको धरोहर हो ! कुनै समय तिम्रा लागि ‘जय नेपाल’ भन्दै उठेका लाखौँ हात लवटा बनेर झापडमा परिणत भएका दिन त्यो प्रलय थाम्न गाह्रो होला ! बेलैमा चेत खुलोस् !!
जय नेपाल !