नेपालमा गायक र अभिनेताको रूपमा आफूलाई प्रस्तुत गर्नेको सङ्ख्या राम्रै छ । अर्थात्, उनीहरूले आफ्नो कलाकारितालाई दुवै माध्यमबाट प्रस्तुत गरेका छन् । गायकहरूमा अभिनय मोह जागेको देखिन्छ भने नायकहरूमा पनि गायक बन्ने अभिलाषा पाइन्छ । यसको सुरुआत हिरा सिंह खत्रीद्वारा निर्देशित तथा २०२२ सालमा प्रदर्शित पहिलो नेपाली चलचित्र ‘आमा’मै देखियो ।
अभिनेता शिव शङ्कर मानन्धर अभिनेता बन्नु अगाडि स्थापित गायक हुनुहुन्थ्यो । रेडियो नेपालमा स्थापनाकालदेखि नै गायकको रूपमा प्रस्तुत भएका उनले ‘मनको बाँध’, ‘कुमारी’, ‘२५ वसन्त’, ‘शान्तिदीप’लगायतका चलचित्रमा सङ्गीतसमेत दिएका छन् । यद्यपि उनी ‘आमा’पश्चात अन्य चलचित्रमा अभिनेताको रूपमा प्रस्तुत भएनन् ।
यस्तै उदाहरण बने उदीतनारायण झा । नेपालसँगै भारतमा समेत पार्श्व गायनमा लोकप्रिय झाले ‘कुसुमे रुमाल’मा अभिनय गरे । यी प्रतिनिधि नाम मात्र हुन्, सङ्ख्या राम्रै छ । यसमै पर्ने गायक तथा अभिनेता कोसिस क्षेत्री कलालाई जुनै माध्यमले व्यक्त गर्दा पनि फरक नपर्ने बताउँछन् ।
‘हामी कलाका विभिन्न विधामा रहेर काम गरिरहेका छौँ । यसले हामीलाई विविध क्षेत्रमा अभ्यस्तसमेत बनाउँछ’ अभिनेता क्षेत्री भन्छन्, ‘म एउटा पेसामा मात्र रहेर काम गर्नुभन्दा विभिन्न विधामा सक्रिय रहनुलाई सफलता मान्छु । यद्यपि हामी कलामै छौँ ।’
उनले चलचित्र निर्देशन, लेखन, ध्वनि मुद्रणलगायतका विविध विधामा आफूलाई अब्बल सावित गरिसकेका छन् । सङ्गीतकर्मी भएर पनि उनले गायकको जीवनलाई पर्दामा ल्याउन सकेका छैनन् ।
‘मलाई अलि फरक र भिन्न देखिने इच्छा थियो । यसलाई ‘परस्त्री’ले पूरा गरेको छ, अब एउटा गायकको जीवनीलाई पर्दामा ल्याउन मन छ । एउटा सङ्गीतकर्मीले निकै आरोहअवरोहको सामना गरेको हुन्छ, त्यसलाई विविध कोणबाट प्रस्तुत गर्ने इच्छा छ’ उनको भनाइ छ ।
अभिनेताका रूपमा परिचित भुवन केसी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसीलगायत अभिनयपछि गायक बने भने यशकुमार, बाबु बोगटी, निमा रुम्बा, रामकृष्ण ढकाल, प्रशान्त तामाङ, प्रकाश सपुत, सोनाम तोप्देन गायकका रूपमा परिचित भएपछि अभिनेता बनेका हुन् ।
प्रतिक्रिया