भारतीय रेल दुर्घटनाका ५० भन्दा बढी शवको अझै पहिचान हुन सकेन

भारतीय रेल दुर्घटनाका ५० भन्दा बढी शवको अझै पहिचान हुन सकेन


भारतमा करिब एक महिना पहिले जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको पहिचान हुन नसकेको र चाँडै अन्त्येष्टि गरिने एक वरिष्ठ सरकारी अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा करिब ३०० जनाको मृत्यु भएको थियो ।

अधिकांश मृत शरीरहरू पहिचान गर्न नसकिने गरी क्षतिग्रस्त भएका थिए र उनीहरूको डीएनए नमूनाहरू पहिचानको लागि पठाइएको थियो । कुल ८१ शवमध्ये २९ वटाको मात्र डिएनए नमूना मिलान गर्न सकिएको छ ।

उडिसाराज्यको राजधानी भुवनेश्वरको एक अस्पतालमा करिब २८ दिनदेखि शव राखिएको छ ।

भुवनेश्वर महानगरपालिकाका मेयर सुलोचना दासले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै भनेकी छन्, ‘धेरै दावेदारहरू थिए त्यसैले शव दिन सकिएन । नमूना दिल्ली पठाइएको थियो तर २९ जनाको मात्र नमूना पुष्टि भएको छ ।’

‘पाँच परिवार शव लिन आएका छन् तर नमूना पुष्टि हुन सकेको छैन’, सुलोचना दासको भनाइ उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

‘सरकारी आदेशअनुसार निर्वाध रहेका शबलाई मात्र दाहसंस्कार गर्नुपर्ने र तिनीहलाई सकेसम्म आफ्नो पैतृक क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने हुन्छ’, नगर प्रमुख दासले भनेकी छन्, ‘दाबी नगरिएका शवको पनि अन्त्येष्टि गरिनेछ । त्यसका लागि हामीले दुईवटा शवदाह गृह तयार पारेका छौँ ।’