बाल्टिमोरमा गोली चल्दा दुईको मृत्यु, दर्जनौँ घाइते

बाल्टिमोरमा गोली चल्दा दुईको मृत्यु, दर्जनौँ घाइते


अमेरिकाको बाल्टिमोर शहरमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

मेरिल्याण्ड राज्यको ब्रुकलिन नजिकैको एक सडकमा आइतबार राति १२ः३० बजेपछि गोली चलेको सूचना प्रहरीलाई प्राप्त भएको कार्यवाहक प्रहरी आयुक्त रिच वोर्लेले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

वोर्लेले भनेका छन्, ‘अधिकारीहरू आएपछि हामीले गोली लागेर घाइते भएका थुप्रै व्यक्तिहरू फेला पारेका थियौं ।’

घटनास्थलमा १८ वर्षीया एक महिलाको शव फेला परेको छ भने २० वर्षीय पुरुषको पनि मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

घाइतेको इलाका अस्पतालमा उपचार भइरहेको र तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको उनले बताए ।

वोर्लेका अनुसार अधिकारीहरूले शङ्कास्पद व्यक्तिको पहिचान गर्न र गोली चलाउनुको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेका छन् ।

‘यो एक कडा प्रवृत्तिको आपराधिक दृश्य हो, हाम्रा जासुसहरू केही समय यहाँ बसेर यसको अनुसन्धान गर्नेछन्’, उनले भने ।

बाल्टिमोरका मेयर ब्रान्डन स्कटले घटनास्थलमा पत्रकारसँग कुरा गर्दै गोली काण्डको निन्दा गरेका छन् ।

उहाँले भन्नुभयो, ‘यो हुँदै हुननहुने नितान्त त्रासदीपूर्ण घटना हो ।’

स्कटले भनेका छन्, ‘यसले हाम्रो सडकमा अवैध बन्दुकको अत्यधिक प्रसारको प्रभाव र सामना गर्ने आवश्यकतालाई फेरि उजागर गरेको छ ।’

‘गन भायलेन्स आर्काइभ (जीभीए)’ का अनुसार सन् २०२२ मा ४४ हजार ३५७ जनाको गोली लागी मृत्यु भएको छ, जसमध्ये २४ हजार ९० जनाले आत्महत्या गरेका हुन् ।

जीभीएका अनुसार आइतबारको सामूहिक गोलीकाण्ड यस वर्ष जानकारीमा आएको ३३७औँ घटना हो । अमेरिकामा चार वा सोभन्दा बढी व्यक्ति गोली लागि घाइते वा मारिएका छन् भने यसलाई सामुहिक गोलीकाण्ड मानिन्छ ।