वास्तुअनुसार गृह-सौन्दर्य कला

वास्तुअनुसार गृह-सौन्दर्य कला


रङ्गको उचित समायोजनले आत्मवल, हिम्मत, जोश जाँगर र मनोबल बढ्न गइ आर्थिक एवं इष्टकार्यमा समेत वृद्धि हुन जान्छ । शुभ रङ्गको प्रयोगले वातावरणमा सकारात्मक उर्जा उत्पन्न हुन गइ कार्यसिद्धिमा अनुकुल हुन्छ र, घर एवं कार्यालयमा परस्पर स्नेह, सद्भाव र सहयोगमा वृद्धि भइ सुख-सन्तोषले जीवनयापन गर्न सकिन्छ ।
✍ डा. राजकुमार सुवेदी

वास्तुशास्त्रमा घरको सजावट एवं रङ्गले हाम्रो मनमा सकारात्मक प्रभाव पार्दछ भन्ने विषयमा चर्चा भएको पाइन्छ । ऋषि, ज्योतिषी एवं वास्तुशास्त्रीहरूले मनका भाव र तरङ्गहरूलाई विभिन्न रसमा वर्गीकरण गरि विविध रङ्गसँग सम्बन्ध जोडेका छन् । हाम्रो घरको उच्च सजावटको लागि विभिन्न प्रकारका रङ्ग आवश्यक हुन्छ । सूर्यको प्रकाशमा विभिन्न सप्तरङ्ग मिसिएको हुन्छ । प्रकाशको परावर्तनसँगै त्यहाँ भएका विभिन्न एवं विशिष्ट रङ्ग, किरणद्वारा वातावरणमा फैलिएको हुन्छ । यस्ता रङ्ग र तरङ्गले हाम्रो मानसिक स्थितिलाई विशेष प्रभाव पार्ने गर्दछ । रङ्गशास्त्रीले भनेका छन्- रातो एवं केशरी जस्ता पहेँलो रङ्गले हाम्रो मनमा उत्तेजना पैदा गर्दछ । सामान्य पहेँलो, छिरबिरे र वैजनी रङ्गले उत्साह एवं मनमा उल्लास बढाउँछ । निलो एवं हल्का खैरो रङ्गले हाम्रो मनमा शान्ति र प्रसन्नता बढाउँछ भने गाढा कालो रङ्गले मनमा शोक र निराशा पैदा गराउँछ ।

अब घरमा कुन रङ्ग कहाँ लगाउने भन्ने विषयमा केही जानौँ ।

भोजन बनाउने तथा खाना खाने कक्षमा, खेलकुदसम्बन्धी कक्षमा र दिनमा बस्ने कक्षमा, बैठक कोठामा रातो रङ्ग लगाउनु पर्दछ । शयन कोठा, बीचको प्यासेज र मनोरञ्जन कक्षमा गुलावी एवं हल्का पहेँलो रङ्ग लगाउनु पर्दछ, यसले गर्दा सदैव आनन्दको अनुभूति हुन्छ । भान्छाकोठा, अध्ययनकोठा, पूजाघर, दिनको समयमा पढ्ने, बस्ने खालको कोठा आदिमा पहेँलो, रातो, मिश्रित रङ्गसमेत लगाउन सकिन्छ । यसबाट हाम्रो मनमा उमङ्ग-उत्साह एवं हर्ष बढ्न जान्छ । घरको मुख्य भाग, बाहिरी पर्खालमा सेतो वा हल्का पहेँलो मिसिएको रङ्ग लगाउनु राम्रो हुन्छ । भोजन बनाउने, पढ्ने र पाहुना बस्ने बैठक र शयन कक्षमा पहेँलो रङ्ग लगाउनु उपयुक्त हुन्छ । पहेँलो रङ्ग प्रशन्नता र शान्ति प्रदान गर्ने रङ्ग मानिएको छ । दक्षिणतर्फको शयन कक्ष, पूजाघरको बाहिरी वाल, धेरै आवतजावत गर्ने खालको कक्षमा गाढा निलो रङ्ग लगाउनु राम्रो हुन्छ । यस रङ्गको प्रभावले तनावबाट मुक्ति प्राप्त हुन्छ । दिवा शयन (आराम) कक्ष, स्नानघर, पाक तथा ध्यानकक्ष, क्रीडाकक्षका लागि हल्का निलो रङ्ग उपयोगी हुन्छ । पूजाकोठा, लवी, शयनकक्ष र गृहप्रवेश द्वारमा जामुनी रङ्ग लगाउनु पर्दछ । यस रङ्गको प्रभावले शान्ति हुने, तनावबाट मुक्ति हुने हुन्छ । त्यसैगरी दिनमा धेरै प्रयोग हुने कोठा आदिमा हरियो रङ्ग लगाउन सकिन्छ । हरियो रङ्गको प्रभावले मनमा उल्लास, परस्पर स्नेह, सौहार्द्ध भाव एवं सुख-सन्तोष प्राप्त हुन्छ ।

हाम्रो बैठक (Drawing Room) मा पूर्व र उत्तर दिशा ज्यादा खाली ठाउँ हुनु आवश्यक छ । आन्तरिक र बाहिरी साज-सज्जा साथै विभिन्न रङगको उच्च प्रभावलाई नेपाल, भारत एवं विभिन्न देशका सांस्कृतिक हिसाबले एकमतसँग स्वीकार गरेको पाइन्छ । घरका भित्ताको रङ आँखाको माध्यमबाट अन्तःस्करण मनको गहिराइसम्म पुगेर हाम्रो मानसिक स्थितिलाई प्रभावित गरी अनुकुल र प्रतिकुल संवेदन प्रवाहित गरेको हन्छ । रत्न चिकित्सा (Gem therapy), रङ्ग चिकित्सा (Colour therapy), रङ्ग स्नान (colour bath) यसरी यस्ताखालको चिकित्सालाई अस्तित्व र उपचारलाई विभिन्न वैज्ञानिकहरूले स्वीकार गरेका छन् । घरको आन्तरिक र बाह्य साज-सज्जा साथै रङ्ग-योजनाबाट ग्रह नक्षत्रको कारण हुने विभिन्न बाधा, वास्तुदोषसमेत हरण हुन्छ ।

केही संस्कृत वास्तु अनुसन्धानकर्ताले पत्ता लगाइ स्वीकार गरिसकेका छन् कि ह्रस्व, दीर्घ, प्लुत, उदात्त, अनुदात्त, स्वरीत, संवार, नाद, घोष र अघोष स्वरलहरी जुन प्रकारले कानबाट प्रवेश गरि अन्तःस्करणमा पुगी, मनमा सुख-दुःखको भावना उत्पन्न हुन्छ, हो त्यसैगरि नेत्र मार्गबाट विभिन्न रङ्ग प्रवेश गरी हाम्रो मनमा हर्ष वा विस्मातको भाव प्रकट गर्दछ ।

ज्योतिषशास्त्र एवं वास्तुशास्त्रले रङ्गका यस्ता खालको अवधारणा अकाट्य र सत् तर्कका साथ परिपुष्टि गर्दछ । यदि व्यक्ति सूर्य ग्रहबाट प्रभावित छ र सिंह राशि, सिंह लग्नको छ अनि जन्मकुण्डलीमा सूर्य उच्चको स्वगृही या अनुकुल स्थितिमा छ भने घर, होटल, पसलको भित्ताको रङ्ग सुनौलो, पहेँलो (Golden Yellow) सुनौलो बोर्डरवाला, हल्का गुलावी र हल्का पहेँलो हुनुपर्दछ । यदि व्यक्ति चन्द्र तत्व प्रधान भएमा, कर्क राशि, कर्कट लग्न छ र चन्द्रमा स्वगृही या उच्च भएमा उक्त व्यक्तिको घरको भित्तामा दुध जस्तो सेतो र मोेतिको जस्तो रङ्ग (Pearl white milk white) हुनु आवश्यक छ । घरमा चँँदीको जस्तो रङ्ग (White-Metal)को सजावट सामग्री अरु भन्दा बढी मात्रामा प्रयोग गर्नु आवश्यक छ । यदि व्यक्तिमा मंगलतत्व प्रधान भएमा मेष, वृश्चिक राशि या मेष, वृश्चिक लग्न भएको जातकको जन्म कुण्डलीमा मंगल मेष, वृश्चिक या मकर राशिमा भएमा अनुकुल मानिन्छ । यस्तो स्थितिमा जातकको घर बैठकमा गाढा रातो, क्रिमसन रातो, कोरा रातो (Orange-red) रङ्ग लगाउनु पर्दछ । ढोका, दराज, पर्दा, कार्पेटसमेतमा यस्ता रङ्ग पर्याप्त मात्रामा हुनु पर्दछ ।

यदि व्यक्ति बुध ग्रहदेखि प्रभावित भएको खण्डमा जातकको राशि मिथुन वा कन्या छ र कन्या लगनमा बुध ग्रहको स्थिति अनुकुल भएमा वा बुध वृष या सिंहको भइ स्वगृहाभिलाषी भए, यस्तो अवस्थामा बुधलाई अधिक बलवान बनाउन घरमा, बैठकमा, भित्तामा, विशेषगरी निर्णयात्मक कक्ष (consulting room) मा गाढा हरियो (Green), फिका हरियो, सुगा रङ्ग र सुनौलो, हरियो, पहेँलो रङ्ग लगाएमा जातकको बुधसम्बन्धी ग्रहको दोष हरण भइ उन्नति-प्रगति हुन्छ । त्यसैगरी व्यक्तिको शुक्रतत्व प्रधान भएमा साथै वृष या तुला लग्न एवं राशिको व्यक्ति भएमा र शुक्र चेष्टावली भएमा, अधिक अनुकुल र बलियो बनाउन घरमा चम्किलो सेतो रङ्ग (Dimond-white), क्रीम सेतो, घ्यु जस्तो सेतो रङ लगाउनु पर्दछ । घरमा ऐश्वर्यशाली वस्तु सौन्दर्यप्रधान एवं कलात्मक, सृजनात्मक वस्तुको प्रयोग गर्नुपर्दछ । यसले गर्दा जातको उन्नति-प्रगति र भाग्योदयमा सहायक हुन्छ । यदि व्यक्तिमा शनि स्वगृही, उच्च वा उच्चाभिलाषी (कन्या राशिस्थित शनि) भए घरका भित्ताहरूमा पुष्प र पुष्पहारद्वारा राम्रो सौभाग्यहेतु विभिन्न निलीमाको प्रयोग गर्नु पर्दछ र, दक्षिण ढोका भएको घरमा अग्रभागमा पानी साथै पछाडिको भागमा उचो जमिन, पठार जस्तो हुनुपर्दछ ।

रङ्गको मनुष्य जीवनमा निकै ठूलो एवं विशिष्ट योगदान छ । विभिन्न ग्रहको दुष्प्रभाव तथा व्यापार-व्यवसायका समस्या हटाउन रङ्गको महत्वपूर्ण भूमिका रहेको छ । हाम्रो घरका विभिन्न कक्षमा आवतजावतका लागि मार्ग खुल्ला हुनपर्दछ । प्रवेशद्वारका भित्ता एवं स्कटिङ्गमा एकै खालको रङ्ग लगाउनु पर्दछ । भवनको प्रवेश मार्गमा वृक्ष, खम्बा, कुवा, नलकुव, सेफ्टी ट्याङ्की र दूषित हावा निस्कने पाइप आदि हुनुहुँदैन । यस्ता स्थानहरूमा कालो रङ्ग लगाउनु हुँदैन । यसरी वास्तुसम्बन्धी नियम पालना गर्नाले धनात्मक उर्जा उत्पन्न हुन गइ परिवारमा आर्थिक प्राप्ति एवं शुखशान्ति मिल्दछ ।

भोजन बनाउने तथा खाना खाने कक्षमा, खेलकुदसम्बन्धी कक्षमा र दिनमा बस्ने कक्षमा, बैठक कोठामा रातो रङ्ग लगाउनु पर्दछ । शयन कोठा, बीचको प्यासेज र मनोरञ्जन कक्षमा गुलावी एवं हल्का पहेँलो रङ्ग लगाउनु पर्दछ, यसले गर्दा सदैव आनन्दको अनुभूति हुन्छ ।

सबै प्रकारका वाधकतत्व निवारणार्थ मुख्य भवनको उचाई अधिक हुुनुपर्दछ । ढोका एवं गेट राख्दा वास्तु नियम पालना गरि राख्नुपर्दछ र, वास्तुसम्मत रङ्ग लगाउनु पर्दछ । यसले गर्दा घरमा सदैव धनात्मक उर्जा उत्पन्न हुन जान्छ । घरका विभिन्न कक्षमा ढोका राख्दा, उत्तर वा पूर्व दिशातर्फ राख्नु वास्तुअनुसार उत्तम हुन्छ । ढोका वा गेटमा हल्का गुलावी एवं पहेँलो रङ्ग लगाउनु राम्रो हुन्छ । सुत्ने खाट वा पलङको पछाडि पक्की पर्खाल हुनु राम्रो हुन्छ । शयन पलङ कहिल्यै पनि ढोकाको सम्मुख हुनु हुँदैन, शयन कक्षमा हल्का निलो एवं गुलावी र पहेँलो रङ्गसमेत लगाउन सकिन्छ । शयन कक्षमा सकभर दर्पण लगाउनु हुँदैन । लगाउनै परेमा पलङको दायाँबायाँ लगाउन सकिन्छ । पलङको सम्मुख पारि दर्पण लगाउँदा हानिकारक हुन्छ । बक्स पलङ बनाइएको छ भने त्यहाँ पकाउने भाँडा वर्तन राख्नु अनिष्ट मानिन्छ साथै पलङमा कदापि कालो र निलो रङ्ग लगाउनु हुँदैन । यसमा सामान राख्नाले, कालो रङ्ग प्रयोग गर्नाले मनमा क्रोध, अशान्ति, दाम्पत्य कलह, कार्य अशिद्धि आदि विभिन्न समस्या आइपर्दछ ।

वास्तुशास्त्रीय रङ्गसम्बन्धी विषयमा वैज्ञानिकहरूले के प्रमाणित गरिसकेका छन् भने सामाजिक समारोह एवं जन्मदिनको पार्टीहरूमा विभिन्न प्रकारका रङ्गलाई विशिष्ट संयोजन गरि आएका आफ्ना सबै अथितिलाई भरपुर सन्तोष र प्रसन्नता प्रदान गरेको देखिन्छ । शुभ रङ्गको उपयोगले मनुष्यलाई निखारेर सुख एवं सफलता वृद्धि गर्छ । केही विद्वान् आफ्नो शक्ति, प्रतिभा तथा भाग्य बढाउन शुभ ग्रह र ग्रहसँग सम्बन्धित रङ्गको उपयोग गर्दछन् । केही संस्कृत वास्तु अनुसन्धानकर्ताले पत्ता लगाइ स्वीकार गरिसकेका छन् कि ह्रस्व, दीर्घ, प्लुत, उदात्त, अनुदात्त, स्वरीत, संवार, नाद, घोष र अघोष स्वरलहरी जुन प्रकारले कानबाट प्रवेश गरि अन्तःस्करणमा पुगी, मनमा सुख-दुःखको भावना उत्पन्न हुन्छ, हो त्यसैगरि नेत्र मार्गबाट विभिन्न रङ्ग प्रवेश गरी हाम्रो मनमा हर्ष वा विस्मात्को भाव प्रकट गर्दछ । हामीले वास्तु शास्त्रानुसार ग्रहअनुकुल रङ्गको पहिचान गरि त्यस रङ्गको बीचमा बसि जीवनयापन गर्न सिक्यौँ भने मानसिक क्लेष, सन्ताप एवं उद्य्विग्नताबाट सहजै मुक्ति पाउन सम्भव छ । रङ्ग–चिकित्सा प्रणालीलाई विचार गरि हामीले लगाउने वस्त्रमा विभिन्न रङ्ग दिइएको, भरिएको हुन्छ । हामीले काम गर्ने स्थान एवं स्कुल कलेजमा, कलम, पेन्सिल, कागज, व्यक्तिगत प्रयोगको वस्तु, हामीले लगाउने कपडा, स्कुल ड्रेस, जुत्ता आदिमा विभिन्न रङ्गको प्रयोग भएको पाइन्छ ।

यसरी रङ्गको समायोजन गरी कार्य गरेको खण्डमा आत्मवल, हिम्मत, जोश जाँगर र मनोबल बढ्न गइ आर्थिक एवं इष्टकार्यमा समेत वृद्धि हुन जान्छ । शुभ रङ्गको प्रयोगले वातावरणमा सकारात्मक उर्जा उत्पन्न हुन गइ कार्यसिद्धिमा अनुकुल हुन्छ र, घर एवं कार्यालयमा परस्पर स्नेह, सद्भाव र सहयोगमा वृद्धि भइ सुख-सन्तोषले जीवनयापन गर्न सकिन्छ । वास्तुविद्याको उपयोग बाहिरी निर्माणमा मात्र नभइ आन्तरिक साजसज्जामा समेत आवश्यक पर्दछ । गृह सौन्दर्यार्थ अचेल भित्री वास्तुलाई सर्वाधिक महत्व दिन थालिएको छ ।

[email protected]

(लेखक वास्तुशास्त्री हुन् ।)