आजको पञ्चाङ्ग एवम् राशिफल (१९ आषाढ २०८० मंगलबार, ४ जुलाइ २०२३)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ आषाढ २०८० मंगलबार, ४ जुलाइ २०२३)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ १९ गते तद्अनुसार सन् २०२३ जुलाइ ४ तारिख मंगलबार शुद्ध श्रावण कृष्णपक्ष प्रतिपदा तिथि पूर्वाषाढ़ा नक्षत्र ऐन्द्र योग तैतिल करण आनन्दादिमा मित्र योग चन्द्रमा धनु राशिमा १५ः५७ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ । त्रिपुष्कर १५ः१५ बजेपछि ।

आजको राशिफल

मेष – अस्वस्थताका बीच कामको बोझ बढ्न सक्ने समय छ । स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनुहोला । इर्ष्या गर्नेहरुले फसाउन सक्छन् । आश्वासन दिनेहरूको विश्वासमा नपर्नु हितकर होला । भोज वा खानपान समारोहमा सहभागी भइने योग छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ । रचनात्मकता बढ्नेछ । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ ।

वृष – विभिन्न अवसर प्राप्त हुने समय भए पनि विवादले मन खिन्न तुल्याउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय होलान् । तथापि, रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला । प्रियजनसँग भेटघाट हुने दिन छ पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारिक सुख बढ्नेछ । उत्साह बढ्नेछ ।

मिथुन – दीर्घकालीन काममा लगानी गर्ने अवसर प्राप्त होला । अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । तर व्यवहारिक झमेला आइलाग्न सक्छन्, सचेत रहनुहोला । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । जटिल कामसमेत सम्पादन हुन सक्छ । प्रशंसकहरू बढ्नेछन् । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने समय छ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्ला । इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिने समय छ । पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ । प्रेमभाव बढ्नेछ । दायित्व वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – चुनौतीपूर्ण परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । विश्वास गरेकाले पनि आजको दिन धोका दिन सक्छन् भने साथीभाइहरू टाढिन सक्छन् । तापनि, सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रेममा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – व्यस्तता वृद्धि हुनेछ । आजको दिन बोली व्यवहारमा सजग रहनुहोला । आर्थिक लेनदेनमा विवादमा परिने योग छ । धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ । इर्ष्यालुजनले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गरिदिन सक्छन् । मानसम्मानमा चोट पुग्न सक्छ । सहयोगीहरूको भावनाको कदर गर्नु हितकर होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने छ । आँटेका काम बन्नाले जोश-जाँगर बढ्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ । घरखर्च पनि बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउने समय छ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । आरोग्यता रहला । शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – पढाइलेखाइमा प्रगति हुने समय छ । खर्च लागे पनि कामको प्रयत्न सफल होला । आजको दिन स्वास्थ्यका लागि खानपानमा ध्यान पुऱ्याउनु हितकर होला । साझेदारीमा सम्बन्ध बिग्रनाले अप्ठ्यारोमा परिने योग रहेकोले सावधान रहनुहोला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ । नजिकका आफन्त टाढिन सक्छन्, तथा विशिष्ट जनसँग मित्रता बढ्न सक्छ । बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ । आयस्रोत बढ्ला ।

कुम्भ – धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । भाग्य बलवान् रहनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । नाता गाँस्नेहरूले केही दुःख दिनेछन् । रोकिएका काममा दोहो¥याएर प्रयास गर्दा फाइदा हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउने समय छ । तथापि, सहयोगीजन नै प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन् । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । रसरागमा आकर्षण बढ्ला । समस्याको समाधान मिल्नेछ ।