‘गौतमबुद्ध फलफुल बाटिका’को यो बिजोग !

‘गौतमबुद्ध फलफुल बाटिका’को यो बिजोग !


पैंतालिस वर्षमा पनि पूरा भएन लुम्बिनी विकास गुरुयोजना

  • पुनहरि बेल्वासे, लुम्बिनी

कुनै परियोजना आधा शताब्दीसम्म निर्माणकै क्रममा भएको विरलै उदाहरणमध्ये पर्न सक्छ- लुम्बिनी विकास गुरुयोजना । लुम्बिनी त्यो स्थान हो, जहाँ शान्तिका अग्रदूत शाक्यमुनि बुद्ध जन्मेको प्रमाण फेला परेको थियो ।

जापानी आर्किटेक्चर प्राध्यापक कान्जो टांगेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना सरकारलाई हस्तान्तरण गरेका थिए । ६ वर्ष लगाएर बनेको गुरुयोजना सन् १९९५ मै सक्ने लक्ष्य थियो । त्यो गुरुयोजना हस्तान्तरण भएको ४५ वर्ष पुगेको छ । गुरुयोजनाको ८६ प्रतिशत काम सकिएको विकास कोषका पदाधिकारीको दाबी छ तर पदाधिकारीको दाबीलाई पुरातत्वविद्हरू स्विकार्दैनन् ।

बौद्ध धर्म ग्रन्थमा लुम्बिनी हराभरा र फलफुलको बगैँचा थियो भनेर पढ्न पाइन्छ । त्यही बौद्ध ग्रन्थमा उल्लेख भएझैँ लुम्बिनीलाई फलफुलको सुन्दर बगैँचा बनाउने गरी थालिएको सरकारी कदमको गति भने दयनिय देखिन्छ ।

विकास कोषले आर्थिक वर्ष ०७७/७८ मा दया जेभी नामक कम्पनीका ठेकेदारलाई २५ हजार फलफूलका विरुवा लगाउन ठेक्का लगायो । गौतमबुद्ध फलफुल बाटिका नाम दिएर ती विरुवा रोपिए । यो ठेक्का भन्दाबाहिर विभिन्न संघ-संस्थाले ४ हजार ६ सय ९९ ओटा फलफूलका विरुवा लगाए । आँप, लिची, जामुन, अनार, अम्बा, कागति, कटहर, बयर लगाएको विकास कोषको तथ्याङ्कमा छ । गुरुयोजनामा फलफूलकै विरुवा लगाउने भन्ने छैन ।

गुरुयोजनाको ६० प्रतिशत क्षेत्रमा जङ्गल राख्ने मात्रै उल्लेख छ । देशका उच्चपदस्थ व्यक्तिहरू पनि वृक्षारोपणमा सरिक भए । विकास कोषले आर्थिक वर्ष ०७७/७८ मा २५ हजार फलफूलका विरुवा लगाउने योजना बनायो, २ करोड ६४ लाख रुपैँया खर्च ग¥यो । विरुवा लगाउन दया निर्माण सेवालाई दियो । २१ हजार फलफूलका विरुवा लगाएको भन्ने वनस्पति शाखामा रेकर्ड छ । भैरहवा लुम्बिनी तौलिहवा सडक निर्माण कर्ता गावर कन्ट्रक्सनले निःशुल्क २९ हजार विरुवा लगायो । विकासकोषले प्रधानमन्त्री प्लट र मुख्यमन्त्री प्लट गरी छुट्याएर नै फलफूलका विरुवा रोपेका छन् । कोषमा विदेशीहरूले पनि वृक्षारोपण गरेका छन् । विदेशीका लागि भने विरुवाको रेखदेख, संरक्षण मलजल गर्ने गरी २ सय ५० डलर शुल्क अग्रिम लिएर मात्रै रोप्ने अनुमति पाएका छन् । विकास कोषमा चार तहको सुरक्षा व्यवस्था छ । आन्तरिक सुरक्षाकर्मी ७३ जना र माली ६२ जना छन्, तर सुरक्षा व्यवस्था चुस्तदुरुस्त नहुँदा मानिसले विरुवा र तार जाली चोर्नेदेखि छाडा चौपायाले फलफूलका बिरुवा खाएर ठाउँ उजाड छ ।

विकास कोषले फलफूलका विरुवा लगाउँदा माटोको गुणस्तर चेकजाँच नगरी हचुवाको भरमा लगाउँदा विरुवाहरू नसर्पेको र मर्ने गरेको स्थानीय मेघनाथ आचार्य बताउँछन् । सबै क्षेत्रमा सबै प्रकारका विरुवासुहाउँदो माटो नहुने भन्दै माटो अनुसन्धान नगरी लगाउने गरिएको आचार्य बताउँछन् । ‘जे काम गर्दा पनि पूर्व अध्ययनअनुसार गर्ने हो भने फेल खाइँदैन, तर विश्वका मानिसहरूले चिन्ने र मान्ने ठाउँ लुम्बिनीमा विकासकोषका कर्मचारीले आफूअनुकूल र आर्थिक लाभ हुने काम मात्रै गर्ने गरेका छन् । विकासको विरुद्धमा कसैले आवाज उठायो भने विकासकोषका कर्मचारीले कुनै पनि कार्यक्रमामा सहभागी गराउँदैनन् ।’

लुम्बिनीको संरक्षण गर्ने काम स्थानीयको भएता पनि अपनत्व बोध हुने कार्य लुम्बिनी विकास कोषले नगरेको स्थानीय विजय सिंह बताउँछन् । विकासकोषले काम गर्छ तर कर्मचारीअनुकूल भएर स्थानीयलाई के भयो ? स्थानीयको जीविकोपार्जनमा के दायित्व हो भन्नेमा विकासकोष नलागेको स्थानीय सिंहको आरोप छ ।

स्थानीय विष्णु बस्नेतले विश्वको शान्ति क्षेत्र गौतमबुद्ध जन्मिएको ठाउँमा विकास कोषले स्थानीयलाई उपेक्षा गरेको बताउँदै विकास कोषले स्थानीय लक्षित विद्यालय र अस्पताल खोलेको भए भलो हुने तर्क गरे । कोषलाई जग्गा दिएका स्थानीयको स्तर वृद्धि गर्नेमा विकासकोष चुकेको बस्नेत बताउँछन् ।

विकासकोषले हरेक वर्ष लाखौँ रुपैँया खर्च गरेर फलफुल तथा वृक्षारोपण गर्ने गरे पनि संरक्षणको अभावले हरियाली बन्न नसकेको स्थानीय कृष्ण गुरुङ बताउँछन् । विकास कोषमा तलब भत्ता खाने तर काम लगाउन नसक्ने प्रवृत्तिले लाखौँ खर्च गरेर रोपिएका विरुवा घाँसभित्र हराउने, सुक्ने भएको र छाडा चौपायाले क्षति पु¥याएको उनको भनाइ छ ।

विकासकोषको ४ र ५ नं. प्लटमा आगो लागेर विरुवाहरू जलेको बताइन्छ । आगजनीबाट हजारौँ विरुवा जलेको कोषका कर्मचारी बताउँछन् । कोष परिसरमा भैरहवा लुम्बिनी, तौलिहवा सडक आयोजना निर्माणकर्ता गावर कन्ट्रक्सनले पनि २८ हजार विरुवा रोपेको छ ।

ठेक्का लगाएको र विभिन्न संघ-संस्थाले लगाएको क्षेत्रमा रोपिएका विरुवा फस्टाउन सकेको छैन । विकास कोषले नर्सरी बनाउन ठेक्का दिएको ठेकेदारले लगाएको विरुवाको संरक्षण भने राम्रो भएकाले फस्टाएको छ । त्यो क्षेत्रमा कोषका कर्मचारीको रेखदेख छैन । त्यो क्षेत्रमा छाडा चौपाया पस्दैनन्, घाँसे झाडीले ढाकेको पनि छैन ।

विकास कोषका वनस्पति शाखाप्रमुख कमलेश प्रसाद वर्मा सुरक्षाकर्मी र माली भएता पनि काम हुन नसकेको स्विकार गर्छन् । उनले स्थानीयले घाँस-दाउराको लागि तारजाली हटाउने गर्दा संरक्षणमा समस्या आएको बताउँदै कोषमा नियुक्त कर्मचारी राजनीतिक आस्थामा हुने हुँदा काममा लगाउन कठिन हुने गरेको गुनासो गरे । राज वीरेन्द्रले पनि आँपको विरुवा रोपेको थियो त्यो कहाँ छ भन्ने प्रश्नमा उनले किताबमा पढेको हो तर कहाँ छ भन्ने कुरा आफूलाई थाहा नभएको बताए । समाजिक संघ-संस्था, उच्चपदस्थ व्यक्ति र विदेशीले विरुवा लगाएको भएपनि संरक्षण गर्न नसकेको वर्मा बताउँछन् ।

लुम्बिनी विश्वको शान्तिकेन्द्रको रूपमा परिचित छ, तर यहाँ गुरुयोजना नै अलपत्र हुँदा विकासले फड्को मार्न सकेको छैन । लुम्बिनीको नजिकै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ, तर विमानस्थलमा नियमित उडान नहुँदा पर्यटन व्यवसाय फस्टाउन सकेको छैन । बुद्धधर्मावलम्बीहरूको मुख्य गन्तव्य लुम्बिनी जस्तो अति महत्वशाली स्थानको गुरुयोजनासमेत ४५ वर्षसम्म पूरा नहुनु घोर लज्जास्पद र विडम्बनाको विषय हो ।