सहमतिमा टुङ्गियो अदालतका कर्मचारी र वकिलबीचको विवाद

सहमतिमा टुङ्गियो अदालतका कर्मचारी र वकिलबीचको विवाद


ललितपुर जिल्ला अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुङ्गिएको छ ।

ललितपुर बार एशोसिएसनका पदाधिकारी र अदालतका कर्मचारीको रोहबरमा बिहीबार दुई पक्षबीच सहमति भएपछि विवाद सल्टिएको र सबै विरोधका कार्यक्रम स्थगन भएको सहमतिपछि जारी सूचनामा जनाइएको छ ।

अदालतका कर्मचारी प्रेमिका तामाङले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर प्रहरीमा जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई अभद्र व्यवहार कसुरमा नियन्त्रणमा लिइएको थियो । ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले आवश्यक प्रक्रिया पुऱ्याएर लामिछानेलाई छाडिसकिएको जानकारी दिए ।

उक्त घटनाको विरोधमा वकिल तथा कर्मचारी आन्दोलित भएका थिए । उनीहरूबीच भएको सहमतिपत्रमा अदालतमा सेवा लिने-दिने क्रममा हुन गएको घटनाका बारेमा विभिन्न कार्यक्रम र विज्ञप्तिमार्फत विषयान्तर भएको महसुस भएकाले सो घटनाका विषयलाई लिएर द्वेषभाव नराखी विवादलाई अन्त्य गरी आ-आफ्नो सेवामा खटिने उल्लेख छ ।

सहमतिपत्रमा ललितपुर जिल्ला अदालतको सिसीटिभी अविलम्ब मर्मतका लागि अनुरोध गर्ने, नेपाल बार एशोसिएसन र निजामती कर्मचारीबाट घोषित विरोधका कार्यक्रम आजैदेखि स्थगन गरी सेवा सञ्चालन गर्ने पनि सहमति बनेको छ ।

घटना यही असार १३ गते भएको थियो ।