पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु


बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका-२ सलामकोटमा घरको पर्खाल आइतबार (२८ असार) साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका-५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो ।

मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिए । पर्खालले पुरिएर गम्भीर बनेका भण्डारीको उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उनको भनाइ छ ।

‘घर अलि अप्ठ्यारो ठाउँमा रैछ, पर्खाल कच्ची ठाउँमा लगाएको हुँदा पिँढीको मुख्य पर्खाल नै भत्किएपछि खेल्दै गरेको बालक पुरिएछन्, आफन्तले उद्धार गरेर अस्पताल ल्याउँदा मृत्यु भइसकेको रहेछ’, असई भट्टराईले भनेका छन् ।