- राज गुरुङ, पोखरा
अविरल वर्षाका कारण कास्कीको प्रसिद्ध पर्यटकीय गाउँ घान्द्रुक आसपासको क्षेत्रमा ठूलो क्षति पुगेको छ । आइतबारको मुसलधारे वर्षापछि किम्रुङखोलामा आएको भीषण बाढीले अन्नपूर्ण गाउँपालिका-११ मा रहेको झोलुंगे पुल बगाएको छ भने स्याउलीबजार क्षेत्रमा घान्द्रुक जाने पक्की सडक नै बगाएपछि यातायात र पैदल मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
‘बाढीले किम्रुङखोलाको पुल बगाएपछि स्थानीय र पर्यटक दुवै मारमा परेका छन् । पहिले १० मिनेटमा पारि पुगिने बाटो, अब झिनु वा अन्यत्रबाट घुमेर जाँदा ३ देखि ४ घण्टा लाग्ने भएको छ’, स्थानीय सुनील गुरुङले भने । दिउँसोको समयमा बाढी आएकाले मानवीय क्षति नभए पनि स्थानीयको घाँस(दाउरा गर्ने मुख्य बाटो बन्द भएको छ भने पारिपट्टि गोठमा रहेका वस्तुभाउको हेरचाहमा समस्या परेको छ ।
पर्यटन र जनजीवनमा धक्का
यो पुल अन्नपूर्ण आधार शिविर जाने प्रमुख पदमार्गमा पर्ने भएकाले पर्यटकहरूको रुट नै बन्द भएको घान्द्रुकका अमृत गुरुङले जानकारी दिए । यस क्षेत्रमा करिब ५ वटा होटल र २० परिवारको बसोबास छ ।
किम्रुङखोलासँगै मोदी खोलामा पनि पानीको बहाब उच्च हुँदा तटीय क्षेत्र जोखिममा परेका छन्। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार स्याउलीबजार क्षेत्रमा घान्द्रुक जाने पीच बाटो पूर्ण रूपमा बगाएको छ भने दुईवटा घर बाढीले बगाएको छ । विरेठाँटी बजारमा पनि आधा बाटो बगाएकाले थप जोखिम बढेको छ ।
वनठाँटी क्षेत्रमा पनि क्षति, वैकल्पिक बाटोको खोजी
यसअघि सोमबार राति घान्द्रुककै वनठाँटी क्षेत्रमा गएको पहिरोले दुईवटा होटल (सनराइज र शंकर), एक पक्की पुल र पदमार्गमा क्षति पुर्याएको स्थानीय व्यवसायी ललित गुरुङले बताए। जसका कारण मुल्डे भ्यु पार्क, खोप्रा र पुनहिल हुँदै एबीसी जाने पदमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
राहत र व्यवस्थापन
घटनालगतै गाउँपालिका अध्यक्ष, वडाध्यक्षहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी र एक्यापको टोली प्रभावित क्षेत्रमा पुगेर निरीक्षण तथा व्यवस्थापनमा जुटेका छन् । गाउँपालिका अध्यक्ष केसीका अनुसार घान्द्रुक जानका लागि स्याउलीबजार पुग्नु अगाडि ‘तमु’ भन्ने ठाउँबाट कच्ची वैकल्पिक बाटो प्रयोग गरेर यातायात सुचारु गर्ने प्रयास भइरहेको छ । किम्रुङखोलाको पुल पुनर्निर्माणका लागि पालिकाको बजेटले मात्र नपुग्ने भएकाले प्रदेश र संघीय सरकारसँग समन्वय गरिने अध्यक्ष केसीले बताए । हाल जोखिमयुक्त बस्तीका मानिसहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया