प्रवासमा पत्रकारिताभित्र सन्तुलनको मर्यादा मिचिँदै

प्रवासमा पत्रकारिताभित्र सन्तुलनको मर्यादा मिचिँदै


सन्दर्भ : एनआरएनएको चुनावी प्रोपागान्डाबारे

सङ्घ एकताबद्ध होस् र दलको हरूवाचरुवा बन्ने प्रतिस्पर्धाको अन्त्य होस् । पत्रकारहरूलाई ललिपप दिएर मार्ग विचलन गर्ने अध्यायको समाप्ति होस् । पत्रकारहरूले पनि सूचना सन्तुलनको मर्यादा कायम सकुन् । आगामी दिनमा एनआरएनएभित्र चेतनाको जुनकिरी उडिरहेको देख्न पाइयोस् । प्रवाशी भुइँमान्छेहरूको चाहना बस्, यत्ति हो !
✍ डिल्ली अम्माई

पत्रकारले सूचना सन्तुलनको लागि निरन्तर सङ्घर्ष गरिरहन्छन् । समाचारमा भूमध्यरेखाको दायाँबायाँ ढल्पलाउने छुट उसलाई हुँदैन । अझ समाजमा चुनावको विषयलाई लिएर समुदाय विभाजित भएको बेला भूमध्यरेखामा बसेर उत्तेजित बहसलाई शितलता दिने काम पत्रकारको हो । उसले विभाजित समुदायमा पुलको काम गरिरहेको हुन्छ, अर्थात् समुदायलाई कुनै न कुनै रूपले जोडिरहेको हुन्छ । संयमतापूर्वक समुदायलाई चुनावी माहोलमा अग्रसर बनाउने पत्रकार एकपक्षीय बनेर भूमध्यरेखा छोड्यो भने के होला ? अवश्य पनि अर्को तप्काले उसको सूचनालाई कहिल्यै विश्वास गर्ने छैन । यो भनेको पत्रकार आफैंभित्रको नैतिक समस्या हो । एक किसिमले उसले गरेको पत्रकारिताको मृत्यु हो ।

त्यसैले हाम्रा राष्ट्रिय-अन्तर्राष्ट्रिय संहिता सूचनाको निष्पक्षतामा बढी संवेदनशील हुन्छन् । त्यही संवेदनशीलताको लागि, वस्तुगत र सत्य सूचनाको लागि संसारमा सयौँ पत्रकारहरू पिटिएका मात्र नभइ मारिएका पनि छन् । यही जुलाई ४ तारिक मात्रै रूसको चेचन्या प्रान्तको राजधानी ग्रोजनीमा पत्रकार मिलाशिना र उनका वकिल अलेक्जेन्डर नेमोभमाथि एक अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ । पत्रकार मिलाशिनाले भनेकी छन्, ‘सामाजिक मुसाइबाको सूचना सम्प्रेषण गर्दा उनीहरू दुई पटक आक्रमणको सिकार भए ।’

त्यस्तै, सामाजिक अभियन्ता मिलाशिनाका वकिल नेमोभमाथि पनि कुटपिटपछि छुरा प्रहार भएको छ । अहिले उनी अस्पतालमा उपचाररत छन् । त्यति हुँदासमेत उनीहरू अदालतको सुनुवाइमा उपस्थित भएर आफ्नो अनुसन्धानका तथ्य, प्रमाण र रिपोर्टहरू दिने बताइएको छ । त्यस्तो कठिन कार्यको नाम हो पत्रकारिता ।

पत्रकारिताको सन्तुलन, सत्यनिष्ठा र अडानले कतिपय अवस्थामा आफ्नै ज्यान पनि जोखिममा पर्न सक्छ । तर पनि उनीहरूले आफ्नो रिपोर्टलाई सेन्सर गर्न सक्दैनन् । त्यसैले पत्रकारले क्षणिक लाभहानीको लागि आफ्नो आत्मा गुमाउनु हुँदैन । संसारभरका हजारौँ मिलासिनाले देखाएको यो बाटो जोखिमको कारणले मात्रै असजिलो छैन, आश्वासन र लोभको कारणले पनि समस्याग्रस्त छ ।

अहिले विश्वभरका एनआरएनए संजालमा चुनावको माहोल छ । प्रवासस्थित नेपाली समुदायमा एनआरएन चुनावले हलचल पैदा गरेको छ । उम्मेदवार मात्र नभनौँ, चुनावमा होमिएका पार्टी वा समुहहरूले पनि कसलाई आफ्नो पक्षमा कसरी प्रयोग गर्न सकिन्छ भनेर प्रयास गरिरहेका छन् । पत्रकारहरूलाई समेत यस्तो अवस्थामा चिप्ल्याउने कोशिस नहुने कुरै भएन । आखिर चुनाव हो, चुनाव आफ्नो पक्षमा पार्न सबैतिर साम, दाम, दण्ड, भेद त हुने नै भयो । यसमा कतिपय पत्रकारहरू पनि बग्ने सम्भावना रहन्छ नै । बगेका पनि छन् । यस्तै संकटको अवस्थामा आफ्नो नैतिक बल र संहिताको मर्मलाई आत्मसात गरेर बाँच्न सक्ने पत्रकारले मात्र आफूलाई वास्तविक पत्रकारको रूपमा उभ्याउन सक्ने हुन्छ । भनिन्छ, आत्मा मरिसकेका पत्रकारहरूबाट समाजले पाउने बकवास मात्र हो । सत्य सूचना त उसको मोलतोलले लिलाम गराइसकेको हुन्छ ।

असल पत्रकार समाजको मियोमा बसेर कलम चलाइरहन्छ । उसले प्रतिस्पर्धाको लागि उभिएका सबै उम्मेदवारहरूलाई सामुहिक मन्त्रणा गरि आफ्ना मुद्धाहरू समुदायमा राख्ने स्थान बनाउन सक्छ । उसले व्यापारिक स्वार्थको वरिपरि झुम्मिएको एनआरएनएका उम्मेदवारहरूलाई मानविय मुद्धामा केन्द्रित गराउने अवसर प्रदान गर्न सक्छ ।

मानविय मुद्धा मानव-जीवनसँग जोडिएको मुद्धा हो । यो मुद्धाको क्षितिज धेरै नै विशाल छ । अझ प्रवासमा मानविय मुद्धाहरू धेरै नै सम्वेदशील अवस्थामा छन् । मध्यपूर्वमा नेपाली मजदुरहरूको अवस्था त्रिभुवन विमानस्थलको लासको गन्तीले मात्र बताउन सक्दैन । हाम्रा चेलीहरू अरबीको घरमा रखैलको रूपमा जुन नारकीय जीवन बिताइरहेका छन्, त्यहाँसम्म पत्रकारिताको साहसी कलम पुग्नुपर्ने हुन्छ । त्यो कथाले प्रवासको मानविय कडीलाई एनआरएनहरूसँग जोड्नुपर्ने हुन्छ । त्यस्ता मुद्धा सर्वत्र छन् र मुद्धाहरूको बढ्ने क्रम अझै रोकिएको छैन । त्यसमा यो संस्थालाई जिम्मेवार बनाउन सकियो भने पत्रकारको स्वाभिमान र पहिलो कर्म पक्षपाती योनीबाट मुक्त हुने छ ।

हामीले प्रवासबाट उठाउनुपर्ने मानविय मुद्धाहरू अनगिन्ति छन् । मानविय मुद्धामा सर्वत्र उठिरहेका ठगी, मानवतस्करी, शोषण र धोकाधडी पनि पर्दछन् । त्यस्तै विभिन्न किसिमले डिप्रेशनमा गएका नेपालीहरूको उद्वार, उपचार र घरफिर्तीको लागि पनि यो संस्थाले काम गर्नुपर्ने छ । त्यसको लागि जिम्मेवार बनाउनु पनि पत्रकारको कर्म हो ।

पत्रकारले उम्मेदवारमार्फत सांस्कृतिक मुद्धाहरूलाई पनि महत्व दिन दबाब सृजना गर्नुपर्ने अवस्था आइ नै सकेको छ । प्रवासमा रहेका हाम्रा सन्ततिहरूले हाम्रो संस्कृतिबारे उचित प्रशिक्षण नपाएको अवस्था छ अहिले । बरु भविष्यमा आफ्नो भाषा, संस्कृति र मूल्यमान्यताहरू लोप नहुन् भन्ने हेतुले काम गर्ने वातावरणको लागि पत्रकार र समुदाय मिलेर हाम्रा उमेदवारहरूलाई सहमत गराउने हो कि ? यसमा बहस गर्न सकिन्छ । यस्ता बहसले पक्कै पनि एउटा छाता सङ्गठनको गरिमालाई उचाइमा पुऱ्याउने छ । यसमा केही कामहरू महोत्सवलगायत सांस्कृतिक उत्सवहरू मार्फत भइरहेका पनि छन् । त्यो सकारात्मक कुरा हो ।

भाषाको लागि जागरण ल्याउने काम केवल अनेसास र स्थानीय सामाजिक संस्थाको मात्र हैन । त्यसको लागि एनआरएनएले पनि एउटा सामुहिक अभियानको सृष्टि गर्नु आवश्यक छ । जनजातिका भाषाहरूको पुस्ता हस्तान्तरणको सन्दर्भमा पनि सरोकारवालाहरूले चासो राख्दै अभियान शुरु गर्नुको अर्को विकल्प छैन ।

सबै नेपाली मूल्यको सुरक्षाको ग्यारेन्टीमा नै हामी हुनु र नहुनुको आभाष लुकेको छ । यी सबै किसिमका चासोहरूलाई सम्बोधन गर्न एनआरएनएका आगामी पदाधिकारीहरूले गम्भीर चासो देखाउनु जरुरी छ । यसमा लविङ गर्ने काम पत्रकारहरूको पनि हो ।ब्यापार र लगानी आफ्नो अस्तित्वरक्षा पछिका कुरा हुन् । नेपालको पर्यटन विकासमा योगदान दिने कुरा पनि स्व-स्थानमा आफू जीवित भएको सन्देश दिएपछिका आउने कुरा हुन् ।

पत्रकारहरूले केवल ‘दर्शाइदिने’ र भएन भने ‘यसरी सम्भव होला कि’ भनेर तर्क दिने कुरा रहे । पत्रकार ‘फलानोले ऋण दिएकोले त्यो मेरो मान्छे जिताउनुपर्छ, मलाई आर्थिक सहयोग गरेकोले जिताउनुपर्छ वा मेरो नाता परेकोले उसलाई जिताउनुपर्छ’ भनेर लाग्यौँ भने अर्को प्रत्यासी र उसको समूहले हाम्रो सूचनालाई कहिल्यै विश्वास गर्ने छैन । त्यस्तो अवस्था आउनु भनेको पत्रकारको लागि मृत्युसमान हो ।

अतः भिन्न-भिन्न अभिलाषा बोकेका र राजनीतिको भारीले गलित भएका हाम्रा उम्मेदवारहरू छन् भने पनि सकारात्मक रूपले रूपान्तरण हुन सकुन् भन्ने अभिलाषा राख्दै राजनैतिक दलहनको भारी उपयुक्त अवस्थामा मात्र बोक्न सल्लाह दिनुपर्छ । एनआरएनए सबैको आस्थासँग जोडिएको सङ्गठन भएकोले यहाँ राजनैतिक आस्थाको कुरा सामान्यीकरण गर्न दबाब दिनुपर्छ । यो कार्य पत्रकारको मात्र नभएर बौद्धिक समुदायको पनि हो । उम्मेदवार वा भोटर नै किन नहुन्, राजनैतिक आस्था त्याग्नुस् भन्ने कुरा कहिल्यै सान्दर्भिक हुँदैन, खाली संस्थाको सामाजिक स्वभावअनुसार साझा सङ्गठनमा रहुन्जेल आस्थालाई सामान्यीकरण गर्नुहोस् भन्ने मात्र हो ।

पत्रकारका काम कति छन् कति !

अहिलेसम्म एनआरएनएभित्रको मूल प्रवृत्ति सामाजिकभन्दा व्यापारिक, मानविय भन्दा नाफामुखी र केन्द्रिकृत भएको आरोप लाग्दै आएको छ । संस्थामा वैधानिक रूपले ब्यवस्था गरिएको आदर्श पक्ष, सामाजिक पक्ष र उच्च लोकतान्त्रिक मान्यता भन्दा आफ्नो व्यापारिक मिसनलाई नेतृत्वले आफ्नो नियन्त्रणमा राख्ने प्रयत्न विगतदेखि नै हुँदै आएको छ । भनिन्छ- अहिलेको नेतृत्वको नियन्त्रण जसले गरिरहेका छन् उनिहरूको पाइपलाइनमा झण्डै दर्जन कम्पनीहरूको चाङ तयार गरिएको हुन्छ । जित्नेबित्तिकै नेताहरूसँगको भेटघाट बाक्लिन्छ र कम्पनीको लागि सियर बटुल्ने कुराले प्रधानता पाउँछ । मानविय र मूल्यका कुराले प्रधानता नपाउनुमा यही कुरा बाधक छ । यी कुरामा पत्रकार र बुद्धिजीवीहरू मिलेर एनआरएनएभित्र र बाहिर दबाब सृजना गर्न सकिन्छ ।

त्यस्तै, आर्थिक केन्द्रीकरण गर्ने नियतले हिराचन वा शेष घलेलाई अभियानको नेतृत्वमा प्रयोगकै सिलसिलामा ल्याइयो । ब्यापारीहरूको उद्देश्य व्यावसायिक साझेदारी बनाउने नै हुन्छ । संस्थागत हित सोचेर यदि कसैलाई नेतृत्वमा ल्याइन्थ्यो भने रामप्रताप थापालाई ल्याइन्थ्यो ? किनकि उनि भुइँ एनआरएनए अभियन्ता थिए र ब्यावसायिक साझेदारी बनाउने हैसियत उनमा थिएन । त्यसैले उनलाई उपाध्यक्ष बनेपछि कार्यकारी फिल्डबाट नै मिल्क्याइयो । यसको समीक्षा गर्दै आगामी दिनमा यस्तो हुनबाट संस्थालाई जोगाउनेबारे ब्यापक बहस चलाइनुपर्छ । यो संस्था भुइँमान्छेको बनाउन पत्रकारले कलम चलाउनुपर्छ । अतः यो पनि पत्रकारको काम हो ।

संस्थालाई प्रयोग गरेर कमाउने दाउ !

यो अभियानमा नेतृत्व र राष्ट्रिय समन्वय परिषदबीच भावनात्मक सम्बन्ध देखिन्न । एनआरएनएका नेतृत्वकर्ताहरू एक्लाएक्लै धनी बन्न हिँडेजस्तो देखिन्छ भने अलिक तलका खेतालाहरूले फाट्टफुट्ट दलाली, मानवतस्करी, नेपालमा ट्राभल एजेन्सी र हुण्डीमार्फत गुजारा गरिरहेका आरोपहरू छन् । ब्यवसायीहरू पनि ट्याक्स छलीमा माहिर बनेर निस्केका आरोपहरू छन् । एनआरएनएका माथिल्ला तहकाहरूले ट्याक्स छल्ने, सुविधा खोज्ने, विवरण बेच्ने र मानविय संवेदना बेचेर परोपकारको लागि उठेका पैसामा भोजभतेर र भोटको खरिद-बिक्री गरेका थुप्रै आरोपहरू छन् । यस्तो बेथितिलाई जनसमक्ष ल्याउने काम पनि पत्रकारहरूको नै हो ।

पत्रकारले गर्ने विचार र अभिमत निर्माणको आधारभूमि तात्कालिक समाजसापेक्ष हुनुपर्छ । सापेक्ष जनमतलाई अगाडि बढाउन नेतृत्वलाई समाज, कार्यकर्ता र कार्ययोजना चाहिन्छ । त्यसको लागि लोक पहिचानसँगको लगाव पनि आवश्यक हुन्छ । यस्ता आवश्यक कर्मको कर्तब्य बोध गराएर संस्थालाई समुदायको हितअनुकुल हिँडाउने काम पनि पत्रकारहरूको हो ।

हाम्रो भाषा रक्षाको लागि स्थानीय सङ्घसंस्थाहरूले कक्षा सञ्चालन गरिरहेका छन् । त्यसमा अध्यापन गर्ने गराउने पहल सबैबाट हुनुपर्थ्यो । थाहा छैन एनआरएनए केन्द्रले ती कक्षाहरूको अनुगमन गरेको छ कि छैन, निःशुल्क पढाउने गुरुहरूलाई प्रेरणा दिएको छ कि छैन ? नेपाली दूतावासको पनि यसमा केही दायित्व हुने होला । अभिभावकहरूलाई बच्चा पढाउन प्रेरणा दिने र सम्बन्धित निकायलाई सहयोगको लागि दबाब सृजना गर्ने काम पनि एक हदसम्म पत्रकारहरूकै हो । यो बहुमुल्य कामको लागि कति रिपोर्टिङ भए ? कसले ती कक्षामा नेपाली पढिरहेका, नेपाली साहित्य लेखिरहेकाहरूको वृत्त बनाए ? पत्रकारहरूमाथि प्रश्नहरू उठ्नुपर्छ ।

याद होस्, डायस्पोराका टाइकुन व्यापारीको पन्जाबाट यो एनआरएनए उम्कने सकेको छैन । टाइकुनहरूले यो संस्थालाई जनसापेक्ष बनाउन प्रयासको थालनी हुन सकेको छैन । हामी पत्रकारहरूले त्यसको लागि दबाब सृजना गर्नुको सट्टा अमुक ब्यक्ति वा समुहको प्रचार समितिको अघोषित सदस्य बनेर कुँदिरहेका छौँ ।

एनआरएनएका चल्तापुर्जाहरू आवश्यक पर्दा व्यापारिक उद्देश्यको लागि राजनीतिक भेटघाट गर्ने, राजनीतिक जमातलाई आफ्नो प्रयोजनको लागि उपयोग गर्ने र नेतृत्वमा पुग्न तिनै जमातलाई परिचालन गर्ने पुरानो ढर्रा यथावत नै छ । यी मनोवृत्तिहरूलाई फेर्न हामीले सकेको लेखेर बोलेर निरन्तर दबाब बनाइ राख्नुपर्ने अवस्था छ । सङ्घभित्रको खराव अवस्था फेर्न चुनावी प्रचारमा ब्याक्ति वा समूह टिपेर प्रचार गर्ने पत्रकारहरूको कलम किन काँपिरहेको होला ? प्रश्न अचम्मलाग्दो र गम्भीर छ, उत्तर कतै छैन । पत्रकारहरू नियतले सेल्फ सेन्सरसीपमा फस्ने छुट छैन ।

हेक्का रहोस्, लौ अब एनआरएनए धोएको मुलाजस्तो भयो, दलाल माफिया र हुण्डीवालाहरूको पकडबाट, पानामा पेपरमा नाम निस्केका देशका लुटेराहरूको चङ्गुलबाट यो संस्था मुक्त भयो भन्ने लागेर अहिले सदस्य बनेका हैनन् । अब सुधार हुन्छ कि भन्ने आशा पालेरमात्र अहिले एनआरएनको सदस्य बनेका हुन् । समुदायले विकल्प चाहे पनि विकल्प नहुन्जेल पुरानै संस्थाप्रति आशा पालेर बस्न बाध्य हुन्छ । सुधारको चाहना पालेर सदस्य बनेकाहरूलाई निरास बनाउने छुट कसैले पनि पाउनु हुँदैन ।

स्थानीय पछि केन्द्रको चुनाव होला । दाउपेच पुनः दोहोरिएलान् । पत्रकार र समुदायको चाहना सुधार होस् भन्ने हो । सङ्घभित्र पुनः त्यही पुरानो सकुनी दाउको कोपभाजनमा एनआरएनहरू नपरुन् । आइएलओको रकम हिनामिना पारेकाहरू र अपारदर्शी रूपमा चलखेल गरि संस्थालाई बदनाम गराउनेहरू दण्डित हुन् । सङ्घ एकताबद्ध होस् र दलको हरूवाचरुवा बन्ने प्रतिस्पर्धाको अन्त्य होस् । पत्रकारहरूलाई ललिपप दिएर मार्ग विचलन गर्ने अध्यायको समाप्ति होस् । पत्रकारहरूले पनि सूचना सन्तुलनको मर्यादा कायम सकुन् । आगामी दिनमा एनआरएनएभित्र चेतनाको जुनकिरी उडिरहेको देख्न पाइयोस् । प्रवाशी भुइँमान्छेहरूको चाहना बस्, यत्ति हो !