माल्दिभ्सको राजधानी मालेमा जारी १३औँ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका ललित धिमालले ७५ केजी तौल समूहको शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक हासिल गरी नेपालको राष्ट्रिय झण्डा फहराउन सफल भएका छन् ।
उक्त प्रतियोगितामा भारतलाई दोस्रो, चौथो र पाँचौ स्थान हासिल भएको र अफगानिस्तानका खेलाडी तेस्रा भएका छन् ।
यही असार २० बुधबारदेखि २४ गते आइतबारसम्म आयोजना भइरहेको प्रतियोगितामा भोलि शनिबार धिमालले ओभरअल च्याम्पियन मि. दक्षिण एसियाको उपाधिका लागि पुनः प्रतिष्पर्धा गर्दैछन् ।
नेपाल बडीबिल्डिङ एण्ड फिटनेस फेडरेसनका उपाध्यक्ष वकिलमान तुलाधर उदासको नेतृत्वमा तीन सदस्यीय टोली प्रतिष्पर्धामा भाग लिन त्यसतर्फ प्रस्थान गरेका थिए । प्रतियोगितामा दिनेश श्रेष्ठले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् ।

शनिबार (२३ असार) मि. दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताको उपाधिसहित प्रथम माल्दिभ्स अन्तर्राष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगितासमेत आयोजना हुँदैछ र, स्वर्ण पदकविजेता ललित धिमालले उक्त प्रतियोगितामा पनि प्रतिष्पर्धा गर्दैछन् । सो प्रतियोगितामा पहिलो पुरस्कारवापत नगद डलर पाँच हजार, दोस्रो पुरस्कार नगद डलर तीन हजार, तृतिय पुरस्कार नगद डलर दुई हजार, चौथो पुरस्कार नगद डलर एक हजार तथा पाँचौं हुनेले नगद डलर पाँच सय प्राप्त गर्ने बताइएको छ ।
ज्ञातव्य छ, शारीरिक सुगठनका अन्तर्राष्ट्रिय स्वर्ण पदकविजेता खेलाडी ललित धिमालले हालै काठमाडौंमा असार ८ र ९ गते सम्पन्न आठौंँ मि. हिमालय शारीरिक सुगठन प्रतियेगितामा ओभरअल विजेता भइ ५ लाख २५ हजार नगद पुरस्कार समेत जित्न सफल भएका थिए ।
प्रतिक्रिया