चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । कुनै भूमिकाले कलाकारलाई असफल बनाउँछ भने कुनैले दर्शकको मन मात्र नभई अवार्ड नै जित्न सफल हुन्छन् । चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका छन् ? विदेशी चलचित्रमा कलाकार छनोट गर्ने एजेन्सी नै हुन्छ । उनीहरूले नै कथा पढेर पात्रअनुसार कलाकार छनोटका लागि सुझाव दिने गर्छन् ।
नेपालमा चलचित्रका लागि कलाकार छनोट गर्ने एजेन्सी छैन । पात्रअनुसार कलाकार छनोट गर्ने प्रचलन केही समययता नबढेको होइन । यद्यपि ती बजारमार्फत निर्देशित छन् । अभिनेता सुनिल थापाको ‘राते काइँला’, राजेश हमालको ‘शङ्कर’, सौगात मल्लको ‘हाकु काले’, दयाहाङ राईको ‘काजी’ लगायतका केही चरित्र दर्शकमाझ लोकप्रिय छन् ।
कथामा लेखिएको पात्रको रूप कस्तो हुन्छ भन्ने तय निर्देशकले गर्ने गरेका छन् । पात्रको गाउँ, स्वभाव, वर्णदेखि शिक्षा र हाउभाउसमेत पात्र छनोट गर्ने निर्देशक वा चलचित्रको निर्देशकले तय गर्छन् । अहिले पात्रअनुसार कलाकार छान्न निर्देशक राख्ने क्रम बढिरहेको छ । चलचित्रको भाषामा उनीहरूलाई ‘कास्टिङ डिरेक्टर’ भनिन्छ ।
नेपालमा चलचित्रका लागि कलाकार छनोट र भूमिकामा पात्र चयन केही वर्षयता प्रक्रियागत रूपमै हुन् थालेको निर्देशक दिनेश राउत बताउँछन् । ‘सुरुआती समयमा निर्देशक बन्न केन्द्रित रहेर काम गरेँ । सायद त्यो समयमा मैले कलाकार ‘डिमान्ड’ गर्न सक्दिन थिएँ । त्यसैले काम मात्र गरेँ । पछिल्लो दुई चलचित्र ‘प्रसाद’ र ‘प्रकाश’मा भने भूमिका सुहाउँदो कलाकारको अडिसन लिएर नै चयन गरेको हुँ । किनकि अहिले चलचित्र निर्माण शैली फेरिएको छ’- उनको भनाइ छ ।
निर्देशनको प्रारम्म्भ ‘नोभेम्बर रेन’ मार्फत गर्दा उनले सबै काम आफैं गर्थे । यद्यपि अहिले कलाकार छनोट गर्ने निर्देशक राख्न थालेका छन् । पछिल्लो चलचित्र ‘प्रकाश’मा अभिनेता अनुप बराललाई कलाकार छनोटको जिम्मा निर्देशक राउतले दिएका थिए ।
केही चलचित्रमा पात्र छनोट वा भनौँ निर्देशन गरेका रङ्गकर्मी केदार श्रेष्ठले विशेषतः स-साना पात्रका लागि मात्र निर्देशक आइपुग्ने उल्लेख गर्दै भने- ‘मुख्य पात्रका लागि कलाकार छनोट भएपछि सहायक र साना पात्र खोज्दै आउनेको सङ्ख्या बढी छ । उहाँहरूसँग चरित्रबारे स्पष्टता पनि कम पाएको छु तर केही पूर्णरूपमा बुझेर पात्र छनोटको जिम्मेवारी नै दिनसमेत आउनुहुन्छ ।’
निर्देशक राउतले बजारमा हुने व्यापारको अनुमानमा निर्माताले नै मुख्य कलाकार तय गरिसक्ने प्रचलन अझै रहेको बताए । ‘कुन भूमिकामा कसलाई तय गर्ने निर्देशकको काम हो तर हामी बजारको निर्देशनभन्दा बाहिर धेरै जान सक्दैनौँ । किनकि सफलता वा असफलताको मापन बक्सअफिसले नै गर्छ । व्यावसायिक पाटोलाई विशेष महत्त्व दिएका चलचित्र अहिले पनि बजारकै निर्देशनमा बनिरहेका छन् । यद्यपि कलात्मक पाटो हावी भएको चलचित्रमा भने प्रयास भएका छन्’– निर्देशक राउतले भने ।
कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्त्वपूर्ण विषय हो, तर नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप व्यापारकै आधारमा तय हुनेगरेको छ । बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ तर, त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको सङ्ख्या र पर्दामा हुने महत्व निकै कम छ ।
प्रतिक्रिया